arrow

पुरैना वनको घुस प्रकरणः आफ्नो बचाउमा गल्ती ढाकछोप गर्न समितिको विज्ञप्ति 

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
91466715_644786632733137_34.jpg

बौनिया । विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालमार्फत चर्को आलोचना भएपछि पुरैना सामुदायिक वन उपभोक्ता समूहले विज्ञप्ति जारी गरेको छ । 

सामुदायिक वन समूहमा घुसधन्दा नियम विपरित भए रकम फिर्ता गर्ने चौधरीको प्रतिवद्धता सहितका शीर्षकमा समाचार आएपछि समितिले विज्ञप्ति जारी गर्दै प्रकरणबारे धारणा सार्वजनिक गरेको हो ।

वन समूहका अध्यक्ष वीरबहादुर साउँदद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ,  ‘पुरैना सामुदायिक वन उपभोक्ता समितिलाई लक्षित गरी यस समितिका अध्यक्ष वीरबहादुर साउँदलाई घुस खाइ फरार भनी विभिन्न मिडियाबाट यस समितिको चरित्रमाथि आँच आउने गरि सामाजिक सञ्जालमा सम्प्रेषण भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

तर, साउँदको नेतृत्वमा रहेको समितिद्वारा रंगेहात पक्राउ परेका घोडाघोडी नगरपालिका वडा नम्बर ६ का सुरेन्द्र चौधरी पक्षबीच लामो समयसम्म २ लाख ५० हजार रुपैयाँ वार्गेनिङ भएको थियो । 

चैत्र १४ गते साँझ ४ बजेदेखि १५ गते १२ बजेसम्म कार्वाहीको निहुँमा दोषीमाथि ठूलो रकम वार्गेनिङ गर्दै माग गर्ने समिति अहिले आफ्नो गल्तीको ढाकछेप गर्ने प्रयत्नमा अग्रसर देखिएको छ । 
   
विज्ञप्तिमा सामुदायिक बन समूहले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यम र पत्रकारको आलोचना गरेको छ । सो सामुदायिक बनमा अवैध रूपमा बोटबिरुवा कटानी भएको र रकम वार्गेनिङ चलिरहेको गोप्य सूचनाका आधारमा पत्रकारको टोली त्यहाँपुग्दा इन्द्रेणी युवा क्लबको कार्यालयमा स्थानीयसहित समिति, क्लब र दोषी सुरेन्द्र चौधरी पक्षबीच चैत्र १५ गते बिहानसम्म छलफल चलेको थियो । 

संलग्न सुरेन्द्र चौधरी सहित अन्यलाई पक्राउ गरि समितिले इन्द्रेणी युवा क्लबको कार्यालयमा रातभर थुनेर राखेको चौधरी पक्षले बताएको छ ।

संस्थाको बिधानअनुसार १४ हजार ७ सय जरिवाना गर्ने  निर्णय गरि समितिले गोप्य रूपमा ६५ हजार ३ सय बुझेको खुलासा भएपछि आफ्नो बचाउ गर्न विज्ञप्ति सार्वजनिक गरिएको छ । 

समितिले गैरकानुनी रूपमा रकम लिएको सञ्चारमाध्यमबाट सम्प्रेषण भएपछि रकम बुझेको स्वीकार गरेको समितिले ८० हजार बुझेको सन्दर्भमा बन कर्मचारी र पत्रकारलाई अवगत गराएको भन्दै आफ्नो बचाउको प्रयत्न गरेकोे छ । 

रकम वार्गेनिङमा बन कर्मचारीको समेत मिलेमतोको आशंका – 

सबडिभिजन बन कार्यालय साँडेपानीले सामुदायिक बनले आफ्नो बिधान बमोजिम कार्वाही गर्न सक्ने बताएपछि सामुदायिक बन उपभोक्ता समूहको बैठक बसेको थियो ।

समूहले बनका कर्मचारीको रोहवरमा निर्णय गर्नुपर्ने भन्दै प्रतिनिधि पठाउन आग्रह गरेपछि सबडिभिजन बन कार्यालय साँडेपानीबाट बनरक्षक रामसिंह धामी त्यहाँ आइपुगेका थिए ।

धामीले सामुदायिक बनको प्रचलित विधान बमोजिम १४ हजार ७ सय रुपैयाँ सजाय गरि संलग्नलाई छोड्न समितिलाई भनेका हुन् । बनरक्षक धामीले बैठकमा सो रकमभन्दा बढी जरिवाना गराउनुपर्ने भए आम उपभोक्ताको भेला बोलाउनुपर्ने बताएका थिए । 

तर, समितिले बोलाएर त्यहाँ पुगेका धामीले बनको निरीक्षण नै नगरि निर्णय लेख्न लगाएर फर्किए ।

उनले ६ जना संलग्न भएपनि बढी रुपैयाँ जरिवाना तिर्नुपर्ने भन्दै सुरेन्द्र चौधरीको मात्रै संलग्नता भएको जनाउँदै निर्णय लेख्न लगाएका थिए । 

त्यसपछि चैत्र १५ गते दिउँसो बसेको समितिको बैठकले संस्थाको विधान बमोजिम साल र अस्नाका २१ वटा रुख काटिएको हुँदा बल्लाबल्ली स्वरुप ७ सयका दरले १४ हजार ७ सय जरिवाना गराउने निर्णय गर्यो ।

तर, निर्णय गर्नुपूर्व कटानीमा संलग्न भएको आरोप लागेका सुरेन्द्र चौधरीबाट समितिले ८० हजार रुपैयाँ बुझेर लिइसकेको उनले बताए । चौधरीले आफूलाई झुक्याएर सामुदायिक बन समूहले रुपैयाँ असुल गरेको बताए । 

रुपैयाँ बुझेपछि समितिले बैठकको निर्णय सुनाए उनले भने, ‘दण्ड जरिवाना बापत समितिले १४ हजार ७ सयको निर्णय रकम लिइसकेपछि सुनाएको हो । चौधरीले अहिले संस्थाको बिधान भन्दा बढी लिएको ६५ हजार ३ सय रुपैयाँ फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् ।’ 

आफूबाट स्थानीय दलबहादुर विश्वकर्माले बैंक चेकमार्फत १० हजार र ७० हजार नगद समितिका सहसचिव लालबहादुर विश्वकर्माले बुझेर लिएको चौधरीले बताए ।

उक्त तस्करीमा संलग्न भनिएका जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर(४ निमुवाबोझी बस्ने जोगिलाल चौधरी, घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ता बस्ने सुरेन्द्र चौधरी, सबिन परियार, प्रविण चौधरी, सन्तोष चौधरी र आशिष चौधरीको नाम किन गोप्य राख्न खोजिएको हो भन्नेमा बन कर्मचारीमाथि पनि आशंका देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ