arrow

अपरिचित व्यक्तिलाई अनुमति विना पाल्पा प्रवेशमा रोक

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७६ चैत १९ बुधबार
prabesma_roka.jpg

पाल्पा । जिल्लामा कोरोना भाइरसको संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणलाई वैदेशिक रोजगारीबाट आएका व्यक्तिहरु चुनौती बनेका छन् । भारत लगायत तेस्रो मुलकबाट गाउँ र शहरमा भित्रिएकाहरु खुलेआम हिंडडुल गर्न थालेपछि उनीहरुलाई क्वारेन्टाइन र घरमै राख्ने चुनौती थपिएको छ । भारत सहित अन्य देशबाट घर फर्किएकाहरु  क्वारेन्टाइन जान अटेर गरेपछि स्थानीय त्रासित बनेका छन् ।

  सरकारले लडकाउनको घोषण गरे पनि विदेशबाटआएका व्यक्तिहरु खुलेआम रुपमा हिडड्ल गर्न थाले पछि जिल्लाका केही ठाँहरुमा अपरिचित व्यक्तिहरुलाइए प्रवेशमा रोक लगाउने काम भएको छ । जिल्लाको निस्दी गाउँपालिका ६ अर्चमा नारी भञ्ज्याङ्ग टोलका स्थानीय युवाहरुले अपरिचित तथा अन्य स्थानबाट आएका व्यक्तिहरुलाई गाउँ प्रवेशमा रोक लगाएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरे पनि मानिसहरुको आवतजावत नरोकिए पछि नाकाहरुमा ढाडसंगै भाँजा हालेर प्रवेश निषेध गरेका हुन् । 

लेकाली युवा क्लबको सक्रियतामा स्थानीयहरुले पूर्वखोलाको सिलुवाबाट अर्चले हुँदै मित्याल जोड्ने सडकको दुर्व तर्फ ढाड राखेका छन् । ४४ घरपरिवारको बसोबास रहेको नारी भञ्ज्याङ्ग भएर गाडीबाट ओहोरदोहोर गर्ने तथा विभिन्न बहानामा गाउँमा नयाँ नयाँ मान्छे प्रवेश हुने गरेपछि टोलले गाउँलाई पूर्ण लकडाउन गरेको हो ।

 लेकाली युवा क्लब सहसचिव प्रकाश रानाले विदेशबाट  गाउँफर्केका युवाहरु र अन्यत्रबाट आउने मानिसले जोखिम बढाएको भन्दै नाकाहरु बन्द गरिएको बताए । उनले भने, ‘नवलपरासी लगाएत विभिन्न स्थानबाट कहिले खसी खोज्ने त कहिले पाडा खोज्नेहरु समेत आउने क्रम रोकिएन त्यसैले संक्रमण हुन नदिन यस्तो उपाय अपनाएका हौं ।’ रानाले थपे, ‘शनिबार हामीले प्रवेश निषेध गर्‍यौं । आईतबार पनि कोदोको रक्सी खोज्न भन्दै आएका थियौ । अहिले हुँदैन भनेर फर्काइदियौं ।’

लेकाली युवा क्लबका अध्यक्ष अनिल रानाले अत्यावश्यक सवारीको लागि बाटो खुल्ला गर्ने गरिएको बताए । रानाले भने, ‘अपरिचित मानिसहरुको आवतजावत बढ्यो । सधैं नाकामा कुरेर बस्न पनि नसकिने त्यसैले बरु ढाड राखेर छेकेका हौं ।’ उनले क्लबको सक्रियतामा कोरोना भाईरसको विरुद्ध सचेतना कार्यक्रम समेत गरिएको बताए । कोरोनाबाट बचौ र अरुलाई पनि बचाउ भन्ने उद्देश्यले प्रवेश निषेध गरिएको बताए ।

सिमानासँग जोडिएका स्थानीय तह उच्च जोखिममा
तराइको सिमानासँग जोडिएका तिनाउ, माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकाको बाटो भएर विभिन्न नाकाहरुबाट लुकिछिपी मानिसहरु प्रवेश गर्ने गरेका छन् । जसले गर्दा कोरोना संक्रमणको जोखिम रहने भन्दै स्थानीयवासीहरुले चिन्ता व्यक्त गरेका छन् । 

सबै नाकामा सुरक्षाकर्मीहरु परिचालन गर्न नसकिएको र स्थानीयबाट मात्र आवतजावत नियन्त्रण हुन नसकेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले बताए ।  जिल्लामा १ हजार बढीको संख्यामा भारत लगायत तेस्रो मुलुकबाट नागरिकहरु जिल्ला प्रवेश गरेका छन् । 

उनीहरुबाट कोरोना संक्रमणको उच्च जोखिम रहने सम्भावना रहेकाले प्रत्येक स्थानीय सरकारहरुले क्वारेन्टाइनको व्यवस्था मिलाए पनि अधिकांश नागरिक क्वारेन्टाइनमा बस्न नमानेपछि अहिले यहाँका क्वारेनटाइन प्रयोगविहिन जस्तै बनेका हुन् ।आफूहरुलाई कुनै समस्या नभएको भन्दै अधिकांश नागरिकहरु क्वारेन्टाइनमा बस्न नमानेको सम्बन्धित स्थानीय तहका प्रमुखहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ