कोरोना प्रभावः चिनियाँ कामदारहरुबाट त्रसित छन् पाकिस्तानका नागरिकहरु
कोरोना संक्रमितलाई पाकिस्तान अधिनस्थ काश्मिरमा सार्दै पाकिस्तान सरकार
प्रकाशित २०७६ चैत १९ बुधबार
305
Shares
काठमाडौं। संसारका विभिन्न देशमा कोरोनाको संक्रमण बढीरहँदा पाकिस्तानमा पनि कोरोना (कोभिड–१९) संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। पाकिस्तानमा १९ जना कोरोना भाइरस संक्रमित बिरामीको मृत्युको आएको छ भने हालसम्म भाइरसबाट पीडित करीव २ हजार व्यक्तिहरु संक्रमित भएका छन्। संक्रमित र मृत्यु हुनेहरुको संख्या बढ्दै जाँदा पाकिस्तानका आम नागरिकहरु चिन्तामा रहेको समाचार पनि आइरहेका छन्। यो चिन्ताको कारण पाकिस्तानमा रहेका चिनियाँ कामदार रहेको बताइएको छ।
यस वर्षको सुरुमा वुहानलाई भाइरसले नराम्रो असर पारेको बेला पाकिस्तानले त्यहाँबाट आफ्नै विद्यार्थीहरूलाई पनि बाहिर निकाल्न सकेन। यस शहरबाट बाहिर निकाल्न बिन्ती गरेको पाकिस्तानी विद्यार्थीहरूको धेरै भिडियोहरू यस अघि सोशल मीडियामा आएको थियो। तर पनि आफ्ना नागरिकप्रति थोरै पनि संवेदनशीलता नदेखाएको भनि पाकिस्तानी सरकारको आलोचना पनि भएको थियो। चीनसँगको सम्वन्ध विग्रने आशंकामा पाकिस्तान आफ्नै नागरिकहरूको व्यक्तिगत सुरक्षामाथि सम्झौता गरेको आरोप पनि लाग्यो।
चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपेक) अन्तर्गत निर्माण कार्यका लागि पाकिस्तानमा चिनियाँ कामदारहरूको उपस्थिति बढेको छ। चीनमा भाइरसको ब्रेकआउट भएपछि पनि ठूलो संख्यामा चिनियाँ कामदारहरू पाकिस्तान आइपुगेका थिए।
यसबीचमा पाकिस्तानी सरकारले भाइरसबाट प्रभावित मानिसहरूलाई पाकिस्तान अधिकृत काश्मिरमा सार्दै आएको छ।संक्रमण मुख्य भूमिमा नफैलियोस भन्नका लागि संक्रमितहरुलाई काश्मिरमा सारिएको आरोप स्वयं पाकिस्तानका नागरिकहरुले लगाएका छन्।
मुस्लिम सम्मेलनका अध्यक्ष एवम् मीरपुरका अधिबक्ता मुजफ्फरले चिन्ता व्यक्त गर्दै भने, 'पाकिस्तानले कब्जा गरेको जम्मू कश्मीर (पीओजेके) मा उचित स्थास्थ्य व्यवस्थाको अभाव रहेकोले यहाँका शहरहरुमा क्वारेन्टाइन बनाउनु खतरापुर्ण हुन्छ।'
पीओजेकेमा पुष्टि भएको एक जना व्यक्ति कोरोनाभाइरस संक्रमित चिनियाँ कामदारहरूसँग आजाद पाटन प्रोजेक्टमा काम गर्दै थिए। त्यसकारण त्यहाँ मानिसहरू आतंकित छन्। त्यस्तै सुध्नोती र रावलाकोटमा गाउँहरुले पनि यस समस्याको सामना गर्दैछन् किनभने त्यहाँ कुनै स्वास्थ्य प्रणाली छैन। त्यस क्षेत्रमा काम गरिरहेका सबै चिनियाँहरुको जाँच गरिनु पर्छ भनेर स्थानियहरूले माग गरिरहेका छन्।