arrow

लक्ष्मणरेखाको मर्यादा राख्नु भन्दै खुलापत्र    

logo
महेश भट्ट,
प्रकाशित २०७६ चैत १९ बुधबार
bhatta-patra1.jpg

आराम छु, तपाईहरुको पनि स्वस्थ जीवन रहोस् भन्ने शुभेच्छा प्रकट गर्दछु । म सेल्फ क्वारेन्टाइनमा नै छु, तपाईहरु पनि सुरक्षित रुपमा घरमै बस्नु भएको होला भन्ने आशा गरेको छु । आज पत्रपत्रिका मार्फत, अनलाईन मिडिया मार्फत र सामाजिक सञ्जालबाट मात्र तपाई हाम्रो सन्देश सम्प्रेषण हुने काम भएको छ । आज यिनै माध्यमले मात्र सम्भव भएको छ भेटघाट र भालाकुसारीका लागि ।  संसारमा कहिलेकाही यस्ता संकटहरु आइपर्छन् । विश्व मानव सभ्यताको इतिहास देखि अहिले सम्म  फर्केर हेर्दा भिन्न स्वरुपबाट मानव माथि संकट आइपरेका छन् । यसले आज नेपाल पनि अछुतो हुन सकेन । तपाई हाम्रो धार्मिक आस्थाका कारण नेपाल जस्तो पवित्रभूमि देवभुमिमा यस्तो संक्रमण आउदैन र नआओस् भन्ने ध्येय र प्राथना थियो । 

नभन्दै, यो महामारीको सन्त्रास नेपालमा पनि पुगिसकेको छ ।  धेरै दिन भयो हामी तपाई सवै लकडाउनमा बसेको छौं । अहिले तपाईहरु संग झुल्कीन केवल  सञ्चार माध्यममात्र भएकाले यो अपठ्यारो परिस्थितिमा सम्झने धेरथोर प्रयास गरेको छु । मानवजातिमा आइपरेको यो संकटले सवैलाई स्तब्ध बनाएको छ । कतिपय देशमा मानव मृत्युको श्रृङ्खला निरन्तर चलिरहेको छ । लासहरुले पहाड बनिरहेका छन् । कयौं ठूलठूला विकसित राष्ट्र जो विज्ञान र प्रविधिमा प्रथम स्थानमै थिए । उनकै सामु यो विकराल समस्याको निराकरण हम्मेहम्मे भएका बेला हाम्रो जस्तो गरिब राष्ट्र जहाँ अभावपूर्ण जीवन बाँचीरहेका छौं यति ठूलो भयावह संकट यहाँ आइपुग्यो भने हाम्रो अवस्था झन भयाभव हुने खतरा देखिन्छ । 

यतिबेला सरकार कोरोना नियन्त्रण होस् भनेर प्रयास गरिरहेको छ । जति गर्नुपर्ने थियो त्यो गर्न सकिरहेको छैन । सिमानाकामा नेपालीहरु भोकभोकै अल्लाइरहेका तपाईहामी सवैले देखिरहेका छौ । तथापी यस संकटमा सवैले सरकारले गरेको उर्दीलाई आत्मसात गरेर अनुशासित पूर्वक घरभित्रै बस्नु पर्नेछ । शहरीया जीवन भन्दा  गाँउले जीवनमा धेरै भिन्नता छ । शहरमा भन्दा गाँउमा भारतबाट आउने हाम्रा दाजुभाईहरुको संख्या बढि नै छ । धेरैजसो घरफर्केर क्वारेनटाइनमा बसेका छन्, धेरै अझैं बीचबाटो मै अलपत्र छन् । हाम्रो गाउँघरतिर कृषकहरुले खेतबारी तिर जाने, दुहुने गाईभैसीका लागि खरपराल, घरको लागि दाउरा, लामो दुरीबाट पानी बोक्नुपर्ने, गाइगोठ गर्नुपर्ने बाध्यतात्मक परिस्थिति गाउँले जीवन संग रही आएकोछ । यो विकराल महामारी भएको बेला सवै दाजुभाईहरुले सावधानी अपनाउनु पर्ने जरुरी देखिन्छ । तपाईहाम्रो गाउँसमाजमा छरछिमेकमा जाने, सहयोग आदानप्रदान हुने, सामुहिक रुपमा बसेर आपसी सरसल्लाह छलफल गर्ने, दुःख कष्टमा एकआपसमा संगै बस्ने लगायतको आत्मीयता रहिआएको छ । दुःध, दही, मही मागी बाडेर खानेर परम्परा, कुनै घरमा कुनै नयाँनौलो खाना पाक्यो भने पनि छिमेकभर बाड्ने जस्ता आत्मीय सम्बन्धहरु रहिआएका छन् ।

आजभोली रोडीयो, टेलिभिजन लगायतका सञ्चार माध्यमहरुमा कोरोनाको सन्देशमुलक सामग्रीहरु सम्प्रेषण हुदा बढि जसो लकडाउन कुरा, घरभित्रै बसौं, एकअर्काको नजिकमा नजाऔं, हात नमिलाउ जस्ता अतिआवस्यक सामाग्री प्रकाशन प्रसारण हुँदा बडो अचम्म मान्नु भएको होला । झन, तपाइहाम्रो यो समाज हो, जो भारतमा काम गर्ने दाजु, भारतमा काम गर्ने काका, बुवा, भाई  र अन्य रिस्तेदार घरफर्किदा बाटो हेरेर खुसी मनाउने समाज आज त्यसको विपरित लामो दुरी लडीबुडी गर्दै घरमा नपुग्दै विद्यालयका भवनहरुमा क्वारेन्टाइनमा बस्नु परेको परिस्थितिमा पक्कै पनि मन रोएको होला, आत्मा तड्पेको होला, मनमा उकुसमुकुस भएको होला त्यसैमा आफन्तमा कुनै रोग नभेटियोस् भनी आराधना गर्नु भएको होला । आफन्त घर नर्फकेर प्रदेशमा बसेको खवरले मन रोएको होला ।

सिमानाकामा भोकभोकै गालाका हाड उठिरहेका, गलाका नाशाहरु तैरिने गरी नाराबाजी गरेर टेलिभिजनको पर्दामा तस्बिरहरु  देखिदा अवस्य पनि आमाको मन रोएको होला । जीवनको प्रवाह नगरी नेपालको सिमा किनारासम्म पुग्ने दाजुभाईहरुले महाकालीको तिब्र बेगमा बग्ने काली नदीलाई नेपाल आउने साहारा बनाए । झन यसले पनि यो मन र त्यो मन रोएको छ । सरकारले डिलमा बसेर बचन समालेर बोलेको भएपनि राम्रै हुन्थ्यो की भनेर घरी घरी सोचिदैछ । चप्पलका तुना बदलेर समान्य जीवन भएका तपाई हामीले निर्वाचित गरेका दाईहरु आज चिल्ला महंगा गाडी अनि उच्च स्तरीय पहिरनले सजिसजावट छन् । यति बेला उनीहरुले देखाएको क्रुरुरताले अवस्य पनि मन रोएको होला ।

यी बर्बरपूर्ण तस्बिरहरुले आमाले शरीरमा लाएका कुर्ता च्यात्दै होलान, चुलोमा बसेर आँसु बगाउदै दिन गन्ती गर्दै होलान, श्रीमतीले लामा कपालका गुल्चाहरु छुडदैन् होलान् । छोराले अघिल्लो पटक घरआउदा ल्याईदिएको टोपी बुबाले सुमसुम्याउदै होलान । सानी बहिनी नयाँ बर्षमा दाइ घर आउला नयाँ सुट ल्याइदिएला भनि बाटो हेर्दै बसिहोलिन ।  प्राय जसका आफन्तजन मजदुरीको सिलसिलामा भारत गएका छन् सवैको यस्तै भइरहेको होला । 

बर्बरपूर्ण अवस्थामा यी टेलिभिजन र सामाजिक सञ्जाल, युट्युवहरुमा देखिने श्रव्यदृस्यहरुले मेरो मनमुटु पनि भतभत पोल्यो ।  गाउँघरका गरीब आमाबाबुहरुको पीडाहरु कल्पनामा सम्झीदा झन यो मन थाम्न सकेन । त्यसैले सम्पूर्ण दाजुभाई, दिदीबहिनी, आमाबुवाहरुलाई यो संकटको घडीमा जो–जसले समस्या खेप्नु भएको छ त्यसमा धेरै नआत्तिकन मन शान्त गरेर, आत्मबलका साथै आफु पनि बचौं अरुलाई पनि बचाउन मद्धत गरौं भनेर यो सन्देश सम्प्रेषण गर्न तपाई सबैका लागि मानव धर्म सम्झेर खुलापत्र लेखेको हु । 

लिलामा राम बनबासको बेला पञ्चवटी बनमा सुनको मृर्ग भेटिनु, रामजी मृगलाई मार्न जानु, त्यसपछि  हाइ लक्ष्मण–हाइ लक्ष्मण गरी रामजीको स्वरमा आवाज आउनु, सिताजीले लक्ष्मणलाई आफ्ना पति संकटमा परेको कुरा बताउनु, लक्ष्मण र सीता दुवैमा जिद्धि हुनु, लक्ष्मणले दाइको आज्ञा भन्दा बाहिर जान नसकिने कुरा सीताजीलाई सम्झाउनु, सीताजी लक्ष्मणलाई अपशब्द बोल्नु र अन्तिममा लक्ष्मणले लक्ष्मणरेखा कोर्नु, रेखा भन्दा बाहिर नआउन सीताजी लाई आज्ञा गर्नु, जोगीको भेषमा आएर रावणले भिक्षा माग्नु, जोगीले भित्रैबाट भिक्षा नलिनु, नत्र पतिको श्राप दिनु, लक्ष्मण रेखा पार गरी जोगीलाई भिक्षा दिदा सीता हरण हुने लिलाको कहानी छ । यो त भगवानको लिला थियो । 

आज यहि लिला मानव लिला भएको छ । चाइनाको बुहानमा पहिलो संक्रमण देखिनु, संसारभरी यहि महामारी फैलिनु, विश्व स्वास्थ्य संगठन लगायत सरकारले  नागरिकका लागि घरमै बस्ने लक्ष्मण रेखा कोरेका छन् । यदि हामीले पनि सरकारले उर्दी गरेको निमय कुनै लोभलालचमा फसेर पालना गरेनौं भने हाम्रो जीवनको पनि त्यहि लिला हुने सम्भावना देखिसकेको छ । तसर्थ हाम्रो रक्षक सरकार हो । सिमानाकामा रोएका नागरिकहरुको रक्षा पनि सरकारले तुरुन्त गरोस भन्दै सरकारले बनाएको नीति नियम पालना गर्न  यहि पत्र मार्फत सवैलाई सन्देश दिन चाहान्छु । 

उही तपाईहरुको शुभचिन्तक महेश भट्ट, बैतडी



नयाँ