- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विमान चढेर यसरी आयो भष्टाचार
लकडाउनको छैठौ दिन, चैत्र १६ कतिपय कुराले स्मरणीय बन्न पुग्यो । नेपालमा कोरोनाले पहिलो पाइलो टेकेको भन्ने शंकाको बयासियौं दिन हो यो । पहलिो पटक पुस २४ मा यस्तो शंका भएकोमा माघ ९ मा त पुष्टी नै भएको थियो ।
चैत्र १६ लकडाउनलाई अर्को हप्तासम्म थपिएको दिन पनि हो भने कोरोनाका नाममा ठूलो भ्रष्टाचारको डाउनलोड भएको दिन पनि यही बन्यो । यही दिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरित एउटा विमानबाट भ्रष्टाचारको पोकै अवतरित भएको पाइयो कोरोना रोकथामका वन्दोवस्ती सामानका साथमा ।
कोरोनाको संक्रमण रोकथाम र उपचारका लागि वितेको तीनमहिनादेखि अत्यधिक माग भएका आधारभूत वन्दोवस्तीका वस्तुहरुको एउटा लट नेपाल आइपुगेको दिन हो यो । तर यी सामान नेपालमा अवतरित हुँदा कोरोनाका नाममा हुने कामकुरामा कोरोनाजस्तै भएर कसरी भ्रष्टाचारको भाइरस प्रवेश भयो भन्ने विवरणहरु प्रकट भए ।
नागरिकहरु घरमा पुरै वन्दी भएको यस्तो बेलामा परल भन्दा धेरैनै बढीमूल्य तिरेर अझ गुणस्तरमा पनि शंका गर्नुपर्ने कमसल वस्तु भित्राइएको भन्ने आरोप लागेको यो घटना सामान्य होइन । जस्तो १९ वटा वस्तुमध्ये दुइवटामा मात्रै करिव ३५ करोड (२९ लाख डलर) को अन्तर पर्ने भयो । चिनमा खरिद भएर नेपाल आइपुग्दा यी बस्तु संसारभरीको प्रचलित मूल्यभन्दा दश गुनाबढी लागेका विवरणहरु प्रकट भए । यसले कस्तो बनायो भने बाहिर ‘कोरोनाका कारण लकडाउन’ र भित्र ‘कोरोनालाइनै भ्रष्टाचारको स्रोत’बनाइएको देखियो ।
जस्तो केही पहिले मात्र विभागले त्यही ठाउबाट खरिद गरेको एउटा माक्सको मूल्य ४६२ रुपैया तिरेको थियो भने यहीबेला दूतावासले त्यही माक्सलाइ २८० मा सरकारलाइ उपलव्ध गराएकोमा यता सरकारबाट भने कोरोनाको संकट देखाएर यही वस्तु त्यही ठाउँबाट खरिद गरिंदा ८३६ रुपैयाको बील पेश भयो ।
लकडाउनको छैठौ दिन, सरकारले चार्टर गरेको विमान मार्फत विमानस्थलमा एउटा सरकारले खरिद गरेको र अर्को चिनियाँ दूतावास र चिनकै सिचुवान प्रान्तले अनुदान दिएको गरी एउटै वस्तु दुइप्रकारले आएका थिए । एउटै विमानमा एउटै देशबाट आएका एकै प्रकारका वस्तुको खरिद मूल्य भने दुइ प्रकारका थिए जसले भ्रष्टाचारको पोल खोलेको हुनुपर्छ ।
दररेटमा ठूलो अन्तर
प्राप्त विवरण अनुसार चिनियाँ दूतावास र सिचुवान प्रान्तले दुई सय ८० रुपैयाँ (१६.५० युआन) मा दिएको एन–९५ मास्क नेपाल सरकारले आठ सय ३३ रुपैयाँ (सात डलर) र चिनियाँ सरकारले पाँच सय पाँच रुपैयाँ (३० युआन) का दरले दिएको प्रोटेक्टिभ गगल्स नेपाल सरकारले २१ सय ५२ रुपैयाँ (१८ डलर) मा खरिद गरेको देखियो । चिनियाँ सरकारले चार हजार सात सय १८ रुपैयाँ (दुई सय ८० युआन) मा दिएको इन्फ्रारेड थर्मामिटर नेपाल सरकारले किन्दा सात हजार सात सय ७१ (६५ डलर)मा खरिद गरिएको बिल पेस भयो । यसले पनि प्रश्न उठ्यो –एकै ठाउँबाट खरिद भएको एउटै बस्तुको मूल्यमा यतिधेरै अन्तर कसरी भयो ?
त्यसैकारण यी वस्तु नेपालमा झर्दा सरकारी बाहेक सबै सञ्चार माध्यमहरुमा समाचार बन्यो –नेपाल सरकारले चीनबाट खरिद गरेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्रीको मूल्य बजार भाउभन्दा दशौं गुणा महंगो परेको पाइयो । यी रिपोर्टहरुमा चीनमा उद्योगीले विभिन्न देशलाई हाल उपलब्ध गराइरहेका यस्ता सामाग्रीको बजार भाउभन्दा अस्वभाविक महंगोमा नेपाल सरकारले सामान किनेको भेटिएपछि यो भ्रष्टाचार व्यापक चर्चामा आयो हो । ढुवानीमा खर्च बढ्यो कि भन्नेपनि ठाउँ रहेन । यी सामाग्रीको नेपालसम्म ढुवानीका लागि विमान चार्टर खर्च पनि नेपाल सरकारले नै ब्यहोरेको थियो ।
सरकारले खरिद गरेको र चिनमा पर्ने मूल्यको सरदर अनुमान गर्ने भरपर्दो आधार हो चीन सरकारले खरिद गरेको र यही वस्तुका लागि चीनमा नै रहेको सँस्थाले प्रस्ताव गरेको मूल्य । सरकारबाट सीमित घण्टाको अवधि दिएर आवश्यक बस्तु आपूर्ती गर्ने मूल्य सूची मागिँदा यी सामान आपुर्ती गर्न गैरआवासीय नेपाली संघ, चीनले पनि टेन्डर हालेको बताइएको छ । यसको विवरण मन्त्रालयमा होला । यो संघका एक केन्द्रीय सदस्यको हवालामा यो जानकारी बाहिर आएको हो । यदि यो खरिदमा पारदर्शी हुन चाहिन्छ भने यो टेण्डरमा प्रस्ताव भएको यो दररेटपनि देखाउनमाग होला जसमा एन–९५ मास्कको मूल्य जम्मा ०.९५ डलर, ज्वरो नाप्ने ‘टेम्परेचर गन’ को २७ डलर, कभरलको ४ डलर, पिसिआर टेस्ट कीटको मूल्य १० डलर प्रस्ताव भएको देखिने छ ।
यो मूल्य दरलेपनि वताउँछ यही वस्तुका लागि गरेका प्रस्ताव भन्दा सरकारले यी वस्तुकालागि धेरैनै बढी मूल्य तिरेछ । नेपाल सरकारले खरिद गरेको सामाग्रीको सूचीमा रहेको गगल्सको बिलमूल्य १८ डलर देखिन्छ तर एनआरएनका अनुसार पनि चीनमा यो गगल्सको मूल्य न्यूनतम २ डलरदेखि अधिकतम ४ डलरसम्म पर्छ । यो ठाउँमा जोसुकैले पनि मान्नै पर्छ चिनमा विक्री हुने वस्तुको बजार मूल्य त्यहीँ कारोवार गरिरहेकाहरुलाई बढी जानकारी हुनुपर्छ ।
कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर टेस्टिङ किट प्रतिकिट ३८ डलरकादरले ५० हजार थान खरीद गरियो । चिनमा यस्को यसको मूल्य ९–१० डलरमात्र पर्नेकुरा एनआरएनको सूचीमा उल्लेख छ । यी सबैले सरकारले खरिद गरेको यो मूल्यको तुलनाको आधार यो सूचीलाई पनि बनाइयोस भनिएको हुनुपर्छ ।
भ्रष्टाचारको योजना
यसका लागि जस्तो योजना बन्यो त्यो झनै गम्भीर आपत्तिको छ, करिव करिव नेपाल ट्रष्टको सम्पति यतिसमूहलाई दिएजस्तै । संयोगले यतिबेला यी वस्तु आपुर्ती गर्न यो प्रकारले जिम्मा पाएको पार्टी पनि प्रधानमन्त्रीको निकट प्रियपात्र नै रहेका भन्ने विवरण प्रकाशित भएका छन माध्यमहरुमा ।
गएको माघ ९ मा नै नेपालमा एक संक्रमित भेटिए । यो बेला कोरोना संक्रमण देखिने नेपाल पाँचौँ देश थियो । विश्व स्वाथ्यसंस्थले नेपाललाई त्यसबेलानै बढी जोखिमको देश भनी संज्ञा दिएको थियो । त्यसबेला चौतर्फी दबाब बढिरहेपछि २५ माघमा सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न प्रक्रिया अघि बढाउदै टेण्डर आह्वान गर्यो त्यसमा यी सामग्री आपूर्ति गर्न विधिवत् रूपमा १९ कम्पनीले कोटेसन भरेका थिए । त्यसपछि सरकार लामो समयसम्म मौन बस्यो । मागको दवावलाई पनि टेरिएन । यो भन्दा झन आपतकालको पर्खाइमा रहिएको भन्ने आरोप पनि लाग्यो । पछि लकडाउनको घोषणा भएलगत्तै पहिले आह्वान गरिएका टेण्डरलाई रद्ध गर्नु, तयसपछि यतिठूलो रकमको खरिदमा केही घण्टाको समय दिएजस्तोगरि खरिदगर्ने पार्टी छान्नु, त्यो पार्टीले आधिकारिक रुपबाट खरिद अनुमति पाउनु अघिनै सम्वन्धित देशमा सामान खरिद गरेर प्याकिङ समेत गरेको भन्ने देख्नु आदि यसका उदाहरण हुनु पर्छ ।
एक अर्ब २४ करोड ६८ लाख रुपैयाँ (एक करोड तीन लाख ९० हजार अमेरिकी डलर) को सामग्री खरिद गर्न कानुनतः टेण्डर नै गर्नु पर्छ तर यो ठाउँमा पहिले आह्वान भैसकेको र करिव दुइदर्जन कम्पनीले सहभागिता जनाएको अवस्थामा पुरानो टेण्डरबाट जाँदा ढिलो हुने भन्दै र टेण्डर भईनै सकेको प्रक्रिया नै रद्द गरेर २४ घन्टाभित्र आपसी सम्झौताको बाटो रोजिएको कुरापनि त्यसैभित्र पर्ला ।
मरेर गए तर पोल खोले
कोरोनाको संक्रमण नियन्त्रण गर्ने नीति अन्तर्गत हप्तादिनको लकडाउन घोषणा गरेको छैठौं दिन चैत्र १६ मा नै नोटमा लिनुपर्ने दुइवटा कुरा भए । पहिलो, विदेशबाट आएका एक व्यक्तिको एउटा कोरोना विशेष अस्पतालमा निधन । दोस्रो, कोरोनाको संक्रमण पुष्टी भएर उपचारमा रहेका चारजनासंग एउटै विमानमा आएका अरु करिव चारसयको अत्तोपत्तो नलागेकाले सम्वन्धितलाई हाजिर हुन भनी सरकारबट सूचना जारी ।
यी दुवै विवरणले सरकार पहिले यो संक्रमण विस्तार हुने सन्दर्भका कामकुरामा कति बेखवर रहेछ भन्ने एउटा पोल खोल्यो कतै शंका नै हुन नपर्नेगरि । विमानबाट ओर्लिएपछि बेखवर भएकाहरुका लागि लकडाउनको पाँचौँ दिनदेखि यस्तो सूचना निरन्तर नै आइरहेकोछ –संक्रमित भएकाहरुसंगै विमानमा आएका करिव चारसयको संख्यालाई कतै फेला पार्न सकिएन, कृपया सम्पर्कमा आइदिनु होला । तर यो आह्वान अनुसार उनीहरु सम्पर्कमा आएका छैनन् लकडाउनको आठौँ दिनसम्मपनि ।
यसितबेला संक्रमित भनिएकाहरु पनि त्यही विमानस्थलबाट यसरी नै कसैलाई अत्तोपत्तो नभइ निस्कएका हुन जहाँ विदेशबाट आएकाहरुको कडापरीक्षण भैरहेको छ भनिरहिएको थियो । संक्रमित भेटिएका र यतिबेलासम्म सम्पर्कमा नआएका भनिएकाहरु प्राय सबैनै चैत्र ४ र ६ का उडानबाट आएका हुन् ।
यिनै उडानबाट आएका मध्ये एकजना नागरिकको चैत्र १६ मा दुखद मृत्यु भयो कोरोना सम्वन्धी विशेष अस्पतालको उपचार क्रममा । यो मरणले लकडाउन अघिसम्म सरकारले अपनाएका भनिएका रोकथाम सम्वन्धी सतर्कताका कदम र नाकाहरुमा कडाइ गरिएको भन्ने कुराको पुराका पुरा रुपले पोल नै खोल्यो शरिरमा ज्वरो आइरहेका व्यक्ति समेत सामान्य रुपले छुटेको अवस्थाबाट । ज्वरो कोरोनाको पहिलो लक्षण भनी सरकारले नै शिक्षा दिइरहेको छ ।
बुटवल कोरोना विशेष अस्पतालमा रूपन्देही सैनामैना–४ का ३३ वर्षीय एक युवकको चैत्र १६ मृत्यु भयो । उनी दुवईबाट नेपाल आउँदा नै ज्वरो ग्रस्त रहेका अस्पतालले जनाएको छ ।
अस्पतलमा प्रवेश गर्दा यी बिरामीले वताएको भन्दै अस्पतालका डा. सुदर्शन थापाले भने अनुसार ‘उनी युएईबाट आउँदा नै सामान्य ज्वरो आएको रहेछ । ७ गते स्थानीय मेडिकलबाट ज्वरोको औषधि ल्याएर खाएका रहेछन् । निको नभएपछि मात्र अस्पताल आए ।’ वताइए अनुसार उनी १३ गते साँझ यो अस्पतालमा भर्ना भएका थिए । उनको मृत्युपछि रिपोर्ट आयो –उनमा कोरोना रहेनछ । यदि उनमा कोरोना नै थियो भने पनि त्यसलाई बोकेर उनी आठ दिनसम्म यताउता घुमिरहे, राज्यले कतै खोजीनीति नै गरेन । विमानस्थलमा वास्तवमानै विदेशबाट आएकाहरुप्रंति आवश्यक शतर्कता अपनाइएको भए यी व्यक्ति निरन्तर निगरानीमा हुने थिए । तर उनका बारे उनीआफैँ अस्पताल नपुगुन्जेल विमानस्थलमा कडा चेकजाँच गरिरहेको भन्ने केन्द्रिय सरकार देखि स्थानीय तहसम्मका निकायलाई कतै छनक समेत भएन ।
यी व्यक्ति नेपालमा अवरित भएको भनिएको दिन ६ चैत्र भनेको नेपालमा कोरोनाको प्रवेशलाई रोकथाम गर्न सरकारले धेरै ठूलठूला अर्थात उच्च कदम चालेको भनिएको मध्येमा पर्छ । चैत्र ५ मानै ७ गते मध्यान्हदेखि लागुहुनेगरी ५२ वटा एयरलायन्सलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । सात गते नै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गरेर दुइदिनपछि विमानस्थल पुरै र स्थलमार्गका यातायात समेत बन्द हुने घोषणा गरेका थिए । यस्तो घोषणा हुनुअघि नै सबै भन्दाबढी शतर्कता अपनाइएको भनिएको क्षेत्र विमानस्थल नै थियो । तर त्यो देखावटी मात्रै रहेछ भन्ने शरिरमा ज्वरो नै आइरहेको मान्छे यस्तो ठाउँबाट कुनै शंकारहित बाहिर निस्कन पाउनुले नै वताउँछ ।
यी व्यक्ति एउटा नमूना मात्रै हुन । यतिबेला संक्रमित भनी पुष्टी भएका चारैजना विदेशबाटै आएका र विमानस्थलमा उनलाई कतै रोकटोक भएको थिएन । बाहिर आइसकेपछि उनका गतिविधिमा उनी आफूले चाहेमा बाहेक कतैपनि सम्पर्क हुनसक्ने अवस्था थिएन, अर्थात त्यस्तो रेकर्डनै राखिएनछ । त्यसको उदाहरण हो त्यही विमानस्थलबाट आएकाहरुको थरठेगाना पाइएन भनी सरकारले यो लकडाउनको हप्तादिनको सेरोफेरोमा जारी गरेको सूचनाको विवरण ।
प्रचण्डको पत्र एउटा गल्ती पच्चिस
देशमा लकडाउनको छैठो दिनदेखि एउटा विषय धेरै नै चर्चामा आयो सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनफिङलाई कोरोना भाइरसको रोकथामका लागि आवश्यक सहयोग पठाइदिनु भनी लेखेको एउटा माग पत्रका बारे ।
यो पत्रको एउटा पक्ष थियो एउटा कुनै देशको कार्यकारी प्रमुखलाई कुनै बस्तु मागेर पत्र लेख्ने उनको हैसियत के हो र उनले लेखेको आठ दशलाइनको त्यो पत्रमा पच्चिस तीसवाटा गल्ती हुनु । एउटा सत्तबरुढ पार्टीको अध्यक्षले अर्को देशको कार्यकारी प्रमुख राष्ट्रपतिलाई लेखेको आठदश लाइनको । एउटा पत्रमा यति धेरै संख्यामा गल्ती रहेछन भने त्यो पत्र कस्तोहोला ?
स्थिति कस्तोसम्म भने यो पत्र प्रकरणमा देशकै लज्जाको विषय भनी सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुले अस्वीकार्य काम भनी प्रतिकृया र सम्पादकीय नै लेखे । सामाजिक सञ्जालमा त त्योपत्रमा रहेका गल्ती समेत औल्यायसको आकार प्रकार समेत प्रतिकृया कति आयो भन्ने गनेर साध्य नै नहुने अवस्था बन्यो । नेपालमा कोरोना भाइरस विरुद्धको जारी प्रयासमा सहयोग गर्न माग गरिएको छ जुन पुरापत्रमा धेरैठाउमा भएको भाषागत त्रुटि र अभिव्यक्तिको शैलीले नेपालीलाइनै लाजमर्दो बनाएको भन्ने टिप्पणीहरु आए सामाजिक सञ्जालमा ।
यो पत्र थियो पनि त्यस्तै । पत्रमा उनले औषधि र अन्य मेडिकल सामाग्री सहयोग गर्न भनेर वस्तु नै तोकेका थिए । यो ठाउमा उनले के हेक्का राखेनन् भने केही पहिले मात्रै चीन सरकारले यस्ता सामग्री सहयोग स्वरुप उपलव्ध गराउने भनी राजदूत मार्फत कुरा आएको र सो अनुासर ती वस्तु लिन चिनमै जाने मिति तय भैसकेका बेला सत्तारुढदलको अध्यक्षको हैसियतबाट यस्तो मागपत्र पठाइँदा ती राष्ट्रपतिले के सोच्लान, उपलव्ध गराइएएको सहयोग अपर्याप्त भएको भनी प्रतिकृया दिएको मान्लान कि यो पत्रलाइ हेर्दै नहेरी फ्यालिदेलान ? सञ्जालमा यस्ता प्रश्न प्रकट भए ।
सामाजिक सञ्जाल र अन्य माध्यमहरुले आफनो सम्पादकीय सहितका प्रतिकृयामा लेखे –महत्वपूर्ण कुरा राज्य सञ्चालनको नीति र मान्यतालाई ठाडै चुनौती दिएर दाहालले नेपाल र नेपालीकै अपमान गरेका छन् । विशिष्ट राजनेतासँगको पत्राचारमा कूटनीतिको मर्यादाले माग्ने भाषासमेत उपयुक्त तरिका र शैलीमा प्रयोग नहुनु लाजमर्दो भएको छ ।
यो पत्र चिनायाँ राष्ट्रपतिको हातमा पुग्यो पुगेन भन्ने कन्फर्मेशन त यो बेलाससम्म आउन तर नेपालले नमागी चीन सरकारले प्रचण्डबाट यो पत्र लेखिएको मितिभन्दा महिनादिन अघिनै दिएका प्रचण्डले मागेजस्तै औषधि र अन्य मेडिकल सामाग्रीहरु यता नेपाल सरकारले बुझिसकेको छ । ती सामग्री लिनका लागि सरकारले एउटा वाइडबडी विमाननै चार्टर गरेका थियो । यता नेपाल सरकार चिन सरकारले दिएका यस्ता सामग्री बुझ्दै थियो विमानस्थलमा र त्यही दिन उता प्रचण्ड भने यीनै समग्री माग्दै थिए यस्तो भाषगत गल्ती नै गल्ती भएको पत्रमार्फत ।
पत्रमा न भाषलाई ध्यान दिइयो न कुटनीतिलाई । त्यसको नागरिक प्रतिकृया यसरी आयो– सामान्यतः कूटनीतिको शिष्टाचारमा राष्ट्रपतिलाई देशका तर्फबाट पत्र लेख्ने हैसियत र अधिकार राष्ट्रपतिमा रहन्छ । चिनियाँ राष्ट्रपति कार्यकारी समेत पनि भएकाले नेपालका प्रधानमन्त्रीले पनि यस्तो पत्र लेख्न सक्छन् । तर पुष्पकमल दाहाल एउटा पार्टीका अध्यक्षसम्म हुन् उनले यसरी लेखेको पत्र अनधिकृत रहेको एक कूटनीतिज्ञले बताए ।
एउटा देशको राष्ट्रपतिका नामा लेखिएको पत्रमा रहेका २५–३० वटा गल्ती देख्दा वास्तवमानै जोकोहीलाई हाम्रा नेताले यस्तो के गरेका होलान भन्ने पीडा हुँदो रहेछ । नागरिक समाजका अगुवा डा( देवेन्द्रराज पाण्डेका शव्द ‘सरकारमा आफुले काम गर्दा, प्रत्यक्ष संवोधन गरेर पत्र लेख्दा योर एक्सलेन्सी लेख्थौं, अब बुढो भइयो तर अहिले पनि सही तेही लाग्छ । स्यानो पत्रमा ठूला गल्ती नै गल्ती छन । यस्तो पत्रको मस्यौदा परराष्ट्रले हेर्छ कि हेर्दैन ? अहिलेकोलाई कुरा ठूलो होइन होला म उहिलेकोलाई पीडा ।’