- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झल्यास्स बिउझिदा पनि दोलखा जाने हो भन्ने भान भएको थियो, साथीहरुसँग घर जाने कुरा जो हिजो अस्तीदेखि भईरहेको थियो । बिउझिदा म सोहि फ्ल्यासब्याकमा पुगेको रहेछु । आखाँ खुल्दै गए तर म सपनामा हराउदै गए, कम्तिमा १ हप्ता त एक्लै बस्नु छ, कैदी जसरी, भित्र बस्दा अल्छी लाग्ने, बाहिर जाउ कोरोना र प्रहरी दुबैको डर ।
घामको झुल्को झ्याल भित्र पस्दै मेरो गाला चुम्न भ्यायो । मनबाट सिधै दिमागमा अब उठनुपर्छ भन्ने सन्देश आफै गयो जस्तो कि कम्प्युटरमा प्रोगाम सेट गरेको थियो । बिस्तारै उठे हात खुट्टा तन्काए अनि छिरे भान्सामा । धेरै भएको रहेछ सो भान्सामा नछिरेको पनि, सबै सामान नियालेर हेरे । एक हप्ता र यसपछि थपिन सक्ने निषेधाज्ञाको लागि आफैले लिएर राखेको बिस्कुट र चाउचाउले गिज्याए जस्तो लाग्यो । एक गिलास पानी डोसे । किचन र्याकमा राखेको सम्पुर्ण सामानहरु हेरी नसक्दै पानी तातिसकेछ । गिलासमा रङ्ग परिबर्तन हुँदै गएको देखे । मनमनै साचे एउटा गिलासलेत भरिदै जादा आफ्नो रङ्ग परिबर्तन गर्छ भने मानिसहरु भरिपुर्ण हुँदै जादा उनिहरुको रङ्ग परिबर्तन हुनु खासै अनौठो कुरा रहेनछ । भरिएको गिलासको पानीमा थोरै कागती निचोंरे । कागती निचोर्दै जादा कमजोरलाई बलियोले हातमा नचाउँदा पनि यस्तै हुदो हो भन्ने खालको भावना मनमा आयो । कागतीको खोस्टोलाई डष्टबिनमा फाले, खालि रहेछ, फ्यात्त आवाज आयो । अर्को कोठामा छिरे, पानी सकिने बितिकै गिलास पखालेर राखे । कुनै पनि भाडा माझ्नलाई संगालेर नराख्ने निर्णय पनि सँगैसँगै गरेको थिए । बाथरुम छिरे, काम सकिएपछी बेडसगै राखिएको कुर्सीमा बसे । बसेको केहि समयनै नबित्दै बाहिर देखिएको घामले मन जित्यो । प्लाष्टिकको कुर्सी उचालेर बाहिर लगे । ठूलाठूला मानिसलाई थेग्न सक्ने कुर्सी पनि कति हलुङ्गो । मानिस पनि त सामान्य, इमान्दार र घमण्ड नगर्नेलाई त सबैले रुचाउँछन । घमण्ड ठूलो होईन भन्ने ज्ञान त एउटा प्लाष्टिकको कुर्सीबाट पनि सिक्न पाए । म बाहिर पुग्दै थिए घरबेटी पनि आएर घाममा बसेका रहेछन, मलाई केहि अफ्टेरो लाग्यो । कोभिड १९ को प्रकोपले देश निषेधाज्ञामा छ, म रुघा लागेको मानिस, भित्र जाउँ कि जस्तो लाग्यो तर मिठो घामको अगाडी म निरहि साबित भए । खासै बोलचाल हुदैनथ्यो, न उनीहलेरु मुख फुटाए न मैले तर माक्ससम्म लगाएर नाकसम्म चाहि नदेखाउने निणर्य गरे, माक्स लगाउन भित्र छिरे । मास्क लगाएर पुन यहि कुर्सीमा के बसेको थिए, मेरा आखाँ चम्किलो बस्तुमा पुग्यो । घामको झुल्को त थिएन यो तर यस्तै चम्किलो, जुनसगँ जोडेर हेर्दा पनि जुन नै कमजोर लाग्न थाल्यो, हिरा पनि थिएन आखिर त्यो ।
गोजीबाट रुमाल झिकेर सिँगान पुछ्न खोज्दा पनि घरबेटीको आखाँ छल्न खोज्थे, रुघानै कोरोना हो जसरी घृणाको नजरबाट हेरिनु थिएन मलाई । त्यसैले एकदम याद गरेर मात्र नाक पुछ्ने गर्थे, हाक्ष्यु आउन खोज्दा पनि नाक च्यापेर रोक्थे । अगाडिको घर (बिचमा एउटा घर र करीब १२ फिट को बाटो ) बिचमा थियो । गीत बजिरहेको थियो 'तेरि मेरी, मेरी तेरि प्रेम काहानि हे मुस्कील' साच्चिकै कसैको प्रेम सम्बन्धले बिबाहमा परिबर्तन पाउन एकदमै मुस्किल भएको अबस्था अर्थयाए ।
आखाँको जात पनि अच्चमको, अघिसम्म सामाजिक सञ्जालमा भेटिने मेमेबाट हटन् सकेको थिएनन, अहिले त्यो चम्किलो बस्तुबाट हट्न मान्दैनन् । मानोस पनि कसरी २५ बर्षिय युबकको आँखा त्यस्तै २२, २३ बर्षकी देखिने युबतीमा जो परेको थियो । एकछिन एकहोरो हेर्दै थिए, उसले नि याद गरिछ क्यारे मन्द मुस्कान छोडीदिई । मनले मेरै लागि आएको भन्यो तर दिमागले मानेन, किन मुस्कुराउथि मसँग ? देखेकोनै पहिलो पल्ट थियो । महिलालाई गहना लगाउँदा जति सुहाउँछ, त्यो भन्दा बढी सायद एक मुस्कानमा सुहाउँछ, उसको मुस्कानले म भुतुक्कै भईसकेको थिए । अब मेरो आखाँले मेमे भन्दा उसलाई खोज्न थाल्यो । उसलाई हेरेको घरबेटीले थाहा नपाउला भन्ने कुरामा म सजक थिए ।
पहेंलो टी सर्ट, शरीरमा केही खुल्ला थियो, फिटिङ्ग नदेखीने, घर बस्दा अन्य कसैको हो कि जस्तो देखिने तर गोरो अनुहारमा खुब सुहाएको थियो । घाँटीमा सिक्रि थियो, टाढाबाट नि राम्रोसँग देखिने सेतो छालामा टपक्क बसेको हिमालको ढुंगामा हिउ टपक्कै बसे जस्तै । कपाल सबै छाडेर, एउटा कुमबाट अगाडि ल्याएकी, बिचमा हल्का सिउँदो देखिन्थ्यो, परासी–लुम्बिनि बाटोमा रुखले बनाएको आकार जस्तो,आधा कालो आधा खैरो पारेकि थिई । हातमा सेतो घडी बाधेकि थिई, निलो टाईट जिन्स सम्म देखिन्थ्यो, यो भन्दा तलको भाग देखिएको थिएन । आँखा उसमै गडेका थिए तर मनले प्रश्न गर्यो टाईट जिन्स लगाउदाँँ टि–सर्ट चाहि किन खुल्ला ? अनि आफै उत्तर दिए, आफ्नो थिएन होला । आँखा उबाट हट्न मानेका थिएनन्, गोरी थिई उ लगभग म जस्तै जस्तै । ठूला आँखा, नाकको टुप्पो दाहिनेतिर केहि बाङ्गिएको जस्तो देखिन्थ्यो । आँखिभौं खासै मिलाएकी थिईन, पार्कमा रोपिएका विरुवाकाहरुको टुप्पा नमिलाए जस्तै तर सौन्दर्यतामा त्यसले खासै असर गरेको थिएन । चन्द्रमामा पनि सानो दाग नभएको भए त्यती सुन्दर नदेखिन पनि सक्थ्यो यहि जवाफ मनमा आयो । ओठमा लिपस्टिक नै त थिएन तर गुलाबी ओठमा मन्द मुस्कान औधी नै सुहाएको थियो ।
पेट गुडुल्ल गर्यो, पेटभित्र भएको हलचल बाहिर नै थाहा हुने गरी, भोक लागेको भान भयो । छतको कोठा भएको फाईदा उठाए, राईस कुकरमा भात बसालिदिएर पुन बाहिर निस्किए । अघिसम्म उभिरहेकि उ, अहिले अरु जस्तै कालो म्याटमा बसिसकेकी थिई । मलाई नै हेर्न उभिएकी पो थिइकी भन्ने बकम्फुसे कुरा दिमागमा आउन पनि भ्यायो तर धेरै बेर टिकेन । 'तेरी मेरी, मेरी तेरी' गीत पछी 'क्यो किसीको वफाके बद्ले वफा नहि मिल्ती' भन्ने गीत पनि सकिन लाग्दा बन्द भएको थियो उसको मोबाइलमा। आफै सफल भएको वा मायामा फसेकी हो कि त सलमान खानकी फलोअर हो भन्ने कुरा छुट्याउन मलाई कठिन भयो । एकछिन नबसी १५–२० मिनेट यता उता गर्दै गर्दा खाना पाकिसकेको अनुमान गरेर भित्र छिरे । हिजोको बासी तरकारी फाल्न नि मनले दिएन खान पनि मनले मानेको थिएन । अरु नै रोग लाग्यो भनेपनि अस्पताल जान सकिदैन भन्ने डरले मलाई छाडेको थिएन । अल्छिपनको अगाडी, हिजोको तरकारीले मन जित्यो । खाना झिक्दै गर्दा सानो टुक्रा भुईमा खस्यो, पस्किन पनि नजानेको भान आफैमा भयो । खाने बित्तिकै भाडा माझ्ने, ब्रस पनि खाना खाएपछि माझ्ने बानी अहिलेसम्म यथावत नै छ । ब्रस गरे । भाडा र दातँ मात्र होइन, नुहाउने समय भइसकेको थियो तर रुघाले डराए । केहिबेर भित्रै बसेर ग्रुप, ग्रुप च्याट र मेमेमा भुले पनि उसको चम्किलो अनुहारले पुन मलाई बाहिर डोहोर्यायो। बाहिर निस्कीए तर त्यहा उ मात्र होइन, कोहि पनि थिएन । खै के गर्ने उतर थिएन मसँग, मोबाइल झिके, युट्युब खोले र ती २ गित बजाए अनि उ अघि उभिएको ठाँउँमा हेरेर उसको तस्बिर आखाँँमा बनाउन प्रयासरत रहे । गीत सकियो तर उ आइन । गीतको माध्यमले उसलाई माथि डोहोर्याउने मेरो कसरत असफल रह्यो । कोठामा छिरे के गर्ने त भन्ने प्रश्नको उतर मसंग थिएन । मोबाईलमा क्याण्डी क्रस खोले ४३२ लेभल पुगेको रहेछु, ४३६ लेभल पुगेपछी गेमको आनन्दले मलाई खुसी बनाईराख्न सकेन, बिकल्प खोज्न थाले । १,२ दिनको लागि अफिसको काम पनि थियो तर त्यती जाँगर चलेन क्यारे टेबलमा हेरे मात्र गएर बस्न सकिन ।
मोबाइलको घण्टी बज्यो , दिदीको फोन रहेछ उठाए।
के छ ? खाना खाईस उसले सोधी । तँ नै भन्थे सानै देखी ।
भर्खर खाए मैले भने।
के पकाईस ? उसले सोधी
बासी तरकारी थियो त्यही खाए मैले भने।
बासी नखाएस बिरामि होलास उसले भनी।
मैले कुरा बङ्गयाउन कोशिश गर्दै भान्जा भान्जीको खबर सोधे र बाहिर ननिस्कनु भनेर सन्झाउदै फोनको संबाद टुङ्गयाए । पुनः फेसबुकको न्युज फिड हेर्दै, मेसेन्जरको घण्टी बज्योे । हेरेको " Hari Has Invited you to Play classic mode in Ludo with them " यहि लेखेको थियो । म गेम खेल्न अघि सरे, २ जना मात्र भयो, गेम चाडै सकियो । उक्त गेम मैले जिते । घडी हेरे, भर्खर १२:३० मात्र भएको छ। कम्तीमा ७ दिन यसरी बस्नु एउटा सपना बन्दै थियो तर बिहान पल्लो घरको छतमा देखेको सौन्दर्यले केहि समय बिताउन पक्कै सहयोग गर्नेछ भन्ने बिश्वास मनमा आयो । खेै के रहेछ रहेछ यो संसारको रीत । कोठामा सधै सुत्ने बिस्ताराले बिझाउन थाल्छ, अल्छी लाग्दा, तर एउटा बिपरीत लिङ्गीको भर्चुअल आगमनले मात्र पनि जीवनचर्याको रुपरेखा नै परिवर्तन गरिदिने । खास के शक्ति छ यसमा मैले बुझ्न कोशिस सम्म गरिन यतिबेला ।
भान्सामा छिरे, टोकरीमा राखिएको तर नअटाएको बल्ल बल्ल अडिएका थिए, सुन्तला र कागतीका दाना । हल्लियो भने १ सेकेन्ड पनि नअडिने अबस्थामा थिए । एक दाना सुन्तला झिक्न खोजे तर केही कागती भुईमा खसे र कता कता गुडे, सुन्तला झिकेर पुन झरेका जती कागती पहिलेकै अबस्थामा राख्न समेत गाह्रो भयो मलाई । खै कसरी अडिएको थियो बुझ्न सकिन, केही बाहिरै छोडीदिए । सुन्तला हातमा लिए, निलो बोतलमा राखेको रङ्गहिन पानी निलै देखिएको थियो । हातमा समाए अनि लागे कुर्सीतिर । थ्याच्च बसे तातो भएको रहेछ घामले, सहनै नसक्ने पनि होईन तर तातोले मलाई आनन्द दियो, सायद रुघाले पनि होला आनन्द दिएको । पुनः आँखा घुम्दै पुरानो ठाउँमा पुग्यो । उ त्यहाँ रहेको भएर गएको रहेछ तर मेरो खुसी धेरै बेर टिक्न भने पाएन । डोरीमा सुकाएको टावेल उठाई र भित्र छिर्नै लाग्दा पुन उही मुस्कान दिइ । मुस्कानले मेरो शरीरमा रहेका सम्पुर्ण तत्वहरु क्रियाशिल भए जस्तो फुर्तीलो अबस्थामा पुगिसकेको थिए म । टावेल लगेको हुनाले नुहाउन गएको हुनुपर्ने अनुमान सहित ४५ मिनेट उसलाई कुरेर बाहिर बस्ने निधो गरे । एक लिटर पानी सकियो, एउटा सुन्तलाको दाना सकियो तर मेरो प्रतिक्षाको समय सकिएको थिएन । कताकता चुरोटको तलतलको अनुभब भयो । केहि समय पनि बित्ने, तलतल पनि मेटीने, सल्काउने निर्णय गरे । भित्र गएर बट्टामा रहेको एक खिली चुरोट र लाईटर बोकेर बाहिर निस्किए । मेरो दुई ओठको बिचमा चुरोटको फिल्टर पहेलो भागलाई च्यापेर लाईटर प्याट्ट पारे अनि ताने । धुवाँ मुखबाट फाल्दै गर्दा उसलाई चुरोट नदेखाउने कुरामा म सजक थिए । सुन्तलाको बोक्रा एस्ट्रे बन्यो । उसकै प्रतिक्षामा टोलाउदै चुरोट तान्दै गर्दा समय बितेको थाहै भएनछ, तीतो तीतो भएको अनुभब भयो । फिल्टरसम्म आईसकेछ । सुन्तलाकै बोक्रामा ठूटो निभाएर त्यसमै च्यापे अनि गोजीमा भएको ह्याप्पीडेण्ट झिकेर चपाउन थाले । करीब १ घण्टा भईसकेको रहेछ उसले टावेल लगेर गएको तर उ आइन् । आवस पनि कसरी चैत महिनामा १२–१ बजेको घाममा । नुहाउन गएकी होली भन्ने मेरो अनुमान फेल खायो । अन्य कामले नै गएकी हुनुपर्छ मनलाई यसरी सम्झाए ।
भित्र छिरे अफिसको काम नगर्ने भएपछी सुत्नुको बिकल्प देखिन । पल्टिए, मेसेन्जरमा घण्टी बज्यो, सतीसको रहेछ । अहिले चीनको HefeiUniversiy मा Masters in Nano Materials पढदैछ । अमेरिकाको लागी खुब प्रयास गरेको थियो दुतावासको बारम्बार रिजेक्सन पछी चीन लागेको १ बर्ष नपुग्दै कोरोनाको प्रकोपमा फस्यो । त्यसको भाग्य देख्दा नि अच्चम लाग्छ मलाई, हुन त कर्म र भाग्यले जुन बाटोमा डोर्याउछ त्यहि नै जीवनको गोरेटो हो । मेसेजमा लेखेको थियो ।
ओए
मैले लेखे हम ।
उसले लेख्यो कस्तो चल्दै छ त लक डाउन ।
मैले लेखे पहिलो दिन त हो आज, सगै जोडीहाले तैले २–३ महिना कसरी कटाइस ?
उसले लेख्यो मसंग आइफोन छ, आइफोनको झ्यास झार्दै (भर्खर २ महिना पुग्दै होला उसले Iphone 11 pro max किनेको), Netflix छ मुभी हेरे सिरीज हेरे, गाँजाको बारेमा केहि अनुसन्धान गरे । कोरोना पछि जर्नलमा आउँछ, अहिले त प्रिमियम नि छ हाहा । मेरो VPN को ID र Password लैजान्छस उसले प्रश्न गर्यो ।
मैले लेखे एन्ड्रोइड मेरो नि छ, Iflix मेरो नि छ, सिरिज हेर्न म नि सक्छु भन्दै VPN को ID लिन पनि सहमत भए ।
उसले लेख्यो एप डाउनलोड गर उसले भने जस्तै गरेर म पनि पल्टीए ।
जाग्दै गर्दा घडीमा आखा गयो ४ः३० भईसकेको रहेछ । उठे पानी पिए मुख हल्का सुकेको थियो, कोरोनाको डरले मुख सुक्दा पनि डर लाग्ने, म केही डराएको थिए । पानी त्यती चिसो त थिएन तर पानी घाँटी हुँदै पेटसम्म पुगेको बाटो सबै फिल गरे । ग्रुपमा आएका मेसेज र मेमे हेरे अनि खाजा खान मन लाग्यो । खाना खाएर सुतेको मान्छे उठ्दा खाजा खान मन लाग्ने अचच्मको लीला । रारा भुर्लुक्क उमाले , कागती निचोंरे अनी झोल सुरुप सुरुप पारे । भाडा माझी सक्दा ५ बजेछ । बाहिर हल्ला खल्ला आउन थाल्यो । यसो बाहिर निस्किएर रेलिङ समाए ( रेलिङ समाउदा कोरोना भाइरस फलाममा धेरै समय बाच्छ भन्या याद त आयो तर वास्ता गरिन)। बाटो भरी भिडभाड मानिस यसरी निस्केका थिए कि धेरै दिन पछी नेपाल बन्द भएर खुलेको छ । मोटरसाइकल र कार त त्यती देखिदैन तर मानिसको फ्लोमा काम थिएन । त्यतीकैमा आँखा तरकारी बेच्न आएको टोकरी सहितको साइकलमा पर्यो । सधै देखिने साइकल हो तर आज ध्यान बढी केन्द्रीत गर्यो साइकलले । अगाडी टोकरीमा अदुवा थियो । त्यहि टोकरी माथि तराजु झुण्ड्याइएको थियो । साइकलको कापोमा टोकरी अनि टोकरीमा आलु । मानिस बस्ने ठाँउमा प्याजको बोरा अनि पछाडीको भागमा टोकरीमा केराउ, गोपि, बन्दा, टमाटर र गाजर मिलाएर राखिएको थियो । त्यसमा अटाएको सामान देख्दा पनि एउटा साईकलले यत्रो सामान थेग्न सक्छ र जस्तो लाग्ने । अझ यसलाई डोर्याउने मानिसको बयान कसरी गर्नु ? कोरोनाको डर त उसलाई पनि हुँदो हो तर छाक टार्नलाई साइकल लिएर हिड्नै पर्ने बाध्यता । रोग महलमा बस्नेलाई मात्र नभएर दिनदिनै मेहेनत गरेर झुपडी चलाउनेलाई पनि लाग्दो हो ? यहि प्रश्नसँगै सरकारले केही राहत प्याकेज ल्याउला भन्ने बिश्वास नि मनमा पलायो । साइकल अलि वर आएपछी माक्स लगाएकी एउटी युवती साइकल नजिक पुगिन । उनै हुन कि भनेर आखाँ गढयो तर होइनन भन्नेमा ढुक्क भएपछी उनले किनेको टमाटर, उनी र साइकलबाट ध्यान हरायो । बिहान छतकी युवती र यिनी उस्तै उस्तै थिए तर यो मन र आँखाले किन उनलाई खोजिरहेको थियो, यसको उतर दिने क्षमता मसँग थिएन ।
यसरी मानिसको क्रियाकलाप हेर्दै, हास्दै, रिसाउदै एक डेढ घण्टा बितेको पत्तै भएनछ । साँझ परेपछि अध्यारो हुदै गयो । प्रहरी आए, सबैलाई भित्र जान अनुरोध गर्दै । बाटोमा उभिरहेकाहरु पनि तितरबितर हुन थाले । म पनि भित्र जान्छु भनेर एउटा मनले भनेको थियो भने एकपल्ट देख्न पाइहाल्छु कि भन्ने अर्को मनलाई थियो । आँखा उनि उभिएतिरै बाक्लिएर अडीन थाल्यो । यतिकैमा एउटा गीतको आवाज आयो 'क्यु कि इत्ना प्यार तुमको कर्ते हे हम'। गीत सुन्ने बितिकै उनी नै हुन भन्ने बिश्वस्त भएर एकहोरो त्यतै हेरीरहे । उनी आइन डोरीमा सुकाएको सबै कपडा उठाइन, बिहानकै कपडामा थिइन उनी, ननुहाएको भन्ने कुरा मलाई प्रमाणित गरिदिइन । झर्ने बेलामा पुनः उहि मुस्कान दिदै त्यहाँ अध्यारो मात्र छोडेर लागिन । ठाउँ अध्यारो भयो तर मेरो आँखामा उनको आकृति झन पछि झन उज्यालो बन्दै गएको थियो । भित्र छिरे, उहि ग्रुप च्याट, उहि मेमे अनि केहि घरतिरको फोन, एकछिन छाक टार्ने काम पछि, आँखामा मोबाइल र दिमागमा उनकै तस्बिर बनाउदा बनाउदै कति बेला निदाएछु पत्तै भएन ।