arrow

डेरावाल सरकारी कर्मचारीले राहत नपाउने

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
kathmandu-metro-final-final.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे शुक्रबार सञ्चारकर्मीहरुलाई जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने – “डेरामा बस्नेहरुलाई मात्र राहत बाँड्ने भन्ने होइन । काठमाडौँमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामथ्र्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो ।” 

सरकारी सेवामा रहेका डेरावालहरुले यस्तो राहत नपाउने प्रमुख शाक्यले स्पष्ट पारे । 

राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा आठ लाख, छ लाख र चार लाख रुपैयाँका दरले वडाहरुलाई सहयोग रकम निकासा गरिसकेको जानकारी पनि उनले दिए । 

उनले भने – “महानगरपालिकाले अहिले टोल टोल र वस्ती वस्तीमा कीट नाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ ।”
 
विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गर्दै उनले भने – “विदेशबाट फर्केका नागरिकलाई अपराधी सरह नभै सम्मानपूर्वक व्यवहार गरौं । ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ । परिवारका सदस्यसँगै घुलमिल नगरेर बसिदिनुपर्छ ।हरेक नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ ।” 

सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप्प सञ्चालनमा ल्याइसकेको छ । यसमा केही व्यक्तिहरुले आफ्ना विवरण भरेर पठाइसकेका छन् ।

राहत बाँड्दा दोहोरिन सक्ने र पाउनु पर्ने चाहीँ छुट्न सक्ने संभावनाबारे राखिएको एक जिज्ञासामा उनले भने – “हामीले लक्ष्यित वर्गको प्रारम्भिक विवरण तयार पारेका छौं र त्यसकै आधारमा वितरण गर्ने काम भइरहेको छ । कसैले खानै नपाउने स्थिति नआओस् भन्नेमा हामी सचेत छौं ।” तात्कालिक रुपमा लकडाउन अवधिभरका लागि क्यालोरीको गणना गरी खाद्यवस्तु वितरण गरिएको उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ