arrow

नेपाली राजनीतिका शिखरपुरुष राजनेता गिरिजाबाबु पुस्तकमाथि लकडाउन संवाद

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ चैत २२ शनिबार
ramchandra-ghimire.jpg

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्वर ५ बाट राजनीति गर्दै आएका रामचन्द्र घिमिरे लकडाउनमा घरभित्रै अध्ययन र घरायसी काममा व्यस्त रहेको बताउँछन्। पत्रकार समेत रहेका घिमिरेसँग हामीले लकडाउन संवादमा रहेर नेपाली राजनीतिका शिखरपुरुष राजनेता गिरिजाबाबुको बारेमा चर्चा गरेका छौ।  

समय के गरेर बिताउदै हुनुहुन्छ?
म पहिलेदेखि नै नरहरि आचार्यको संगतमा बस्न पाएको हुँदा आफ्नो रूटिङ बनाएर हिड्न सिके त्यो अहिले धेरै काम लागेको छ। नियमित दैनिकी अनि अध्ययनमा बितेको छ। 

के के पढ्नु भयो ?
केही समय अघि श्रीमद्भागवत पढे, ऋग्वेद पढे, अन्य साहित्यिक, व्यवहारिक ज्ञानका पुस्तकहरू पनि पढे।

श्रीमद्भागवत र ऋग्वेदमा के रहेछ छोटोमा भनिदिनुस् न ?
श्रीमद्भागवतमा शरिरको बनोट रहेछ। सत्व,रज र तम तीन गुणले बनेको शरिर रहेछ हामी सबैको। ऋग्वेद मन्त्रहरुको पुस्तक रहेछ । मुख्य अग्नि र सूर्य पाएँ ।

अहिले के पढ्दै हुनुहुन्छ ?
राजनेता गिरिजाबाबुः नेपाली राजनीतिका शिखरपुरुष पढ्दैछु।

यसमा के छ? 
गिरिजाबाबुको जीवनयात्रा छ। कृष्णप्रसाद र दिव्याका दिव्य पुत्रहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद हुनुहुन्छ।

यसमा भएको सानो इतिवृत बताइदिनुस् ?
चन्द्र शमशेरको २९ वर्षको राज्यमा १२ वर्ष निर्वासन, सबभन्दा ठूलो क्षती कोइराला परिवारले बेहोरेको रहेछ।

कृष्णप्रसाद कोइरालाले त्यस्तो के गर्नु भएछ? 
कृष्णप्रसाद धेरैपटक चन्द्र शमशेरलाई पत्रमा देश र जनताको बारेमा लेख्नुहुँदो रहेछ। एउटा पार्सलमा जुम्रा, लिखा र मयल कटकटिएको झुत्रो भोटो, ठाडो लगौटी र घेरामात्र भएको टोपी पठाउनु भएछ। चन्द्र शम्शेरले आफ्नो अपमान संझेर पक्रन पठाए। यो थाहा पाएर कृष्णप्रसादले ४५ जना परिवार लिएर भारत निर्वासित हुनुभयो। यता सर्वस्व हरियो। उता महात्मा गान्धीसँग पनि घनिष्ट सम्बन्ध बनेछ। बालक गिरिजाप्रसादलाई लिएर पिताजी कृष्णप्रसाद गान्धीलाई भेट्न जानेगर्दा गिरिजाबाबुको बालक मनमा गान्धीको अमिट छवि चित्रित भयो। अर्को गिरिजाबाबुको नाममा पनि आध्यात्मिकता पाए।

कसरी?
गिरिजा देवीका प्रसादका रूपमा ग्रहण गरिएछ। १९८० रामनवमीको दिन कृष्णप्रसाद र दिव्या गिरिजादेबिको दर्शन गर्न जानु भएछ। फर्केर आउदा जन्मने सन्तान छोरा भए गिरिजाप्रसाद र छोरी भए गिरिजादेवी नामराख्ने सल्लाह भएछ। सोही अनुरूप नाम राख्नु भएकोे रहेछ।

गिरिजाबाबुको शिक्षादीक्षा कसरी भएछ? 
१९९७मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि काठमाडौं त्रिचन्द्र कलेजमा आइए पढ्दापढ्दै बनारस पुगेर डीएबी कलेजबाट आइए अध्ययन गर्नु भएको रहेछ।

नेपाली कांग्रेसको पृष्ठभूमि बताइ दिनुन? 
२००३ कार्तिक १५ गते देवीप्रसाद सापकोटाको अध्यक्षतामा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। २००३ माघ १२ र १३मा कलकत्ताको भवानीपुर खालमा भएको सम्मेलनद्वारा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। काठमाडौं जेलमा रहेका प्रजापरिषदका अध्यक्ष टंकप्रसाद आचार्यलाई सर्वसम्मत अध्यक्ष र वीपीलाई कार्यवाहक सभापति बनाइयो।

गिरिजाबाबुको राजनीति कसरी अघि बढेछ? 
२००३ फागुन २५मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बिराटनगरमा मजदुर आन्दोलन भयो। मजदुरको माग युनियन खोल्न पाउनु पर्ने, ज्यालामा ३५ प्रतिशत बृद्धि गर्नुपर्ने, १२ घण्टा काम गर्नुपर्नेमा ८ घण्टा बनाउनु पर्ने, स्वास्थ्य उपचार, आवास, शिक्षा पाउनु पर्ने,  मजदुरलाई हेप्न, शोषण गर्न, दमन गर्न र अन्य कुनै किसिमको बलमिच्याई गर्न पाइने छैन भन्ने थियो। यसपछि नेताहरूलाई थुनिएछ।

को को नेताहरु पक्राउ पर्नु भएछ? 
२००३ चैत्र १२ बिहानै वीपी, तारणीप्रसाद, गिरिजाप्रसाद, मनमोहन लगायत दर्जनौलाई गिरफ्तार गरे। गोलि चलाएर तुलाराम तामाङको मृत्यु भयो। त्यसपछि दिव्या कोइरालाको नेतृत्वमा आन्दोलन भयो । कोइराला निवासका सबै पुरुष पक्राउ परेपछि दिव्या कोइरालाले नेतृत्व गर्नुभयो। उहाँहरूलाई पनि पक्रेर धनकुटा पुर्याइयो।

कांग्रेसले सत्याग्रह पनि गरेको थियो ? 
हो । २००४ बैशाख १ गतेदेखि सत्याग्रह सुरू भयो। १ महिनासम्म यो आन्दोलन चलेको थियो।

नेपाली कांग्रेस कसरी बन्यो ? 
२००६ चैत्र २७ देखि तिन दिनसम्म राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको कलकत्तामा सम्मेलन भयो। दुबै पार्टी एकीकरण भएर नेपाली कांग्रेस पार्टी गठन भयो।

२००७ सालको सशस्त्र क्रान्ति ?
२००७ असोज १० र ११गते वैरगनियामा नेपाली कांग्रेसले सम्मेलन गर्यो। यसै सम्मेलनको घोषणा अनुरूप २००७ कार्तिक २५ गते थीरवम मल्लको नेतृत्वमा मुक्ति सेनाले वीरगंज कव्जा गर्यो। देशभर हवाई जहाजबाट पर्चा छरिए। देशैभर आन्दोलन चर्कियो।

मुक्ति सेनाले विराटनगर कहिले हात पार्यो ?
विराटनगरमा क्रान्ति लामो समयसम्म चल्यो। करिव १ महिनासम्मको युद्ध बाट २००७ पुस ८ गते विराटनगर मुक्तिसेनाको नियन्त्रणमा आएको थियो।

गिरिजाबाबु जेलबाट फरार हुनुभएको पनि भनिन्छ नी? 
२००७ साउनको पहिलो साताको एउटा साँझ अध्यारो भएपछि शोच जाने भनेर साथमा गएको प्रहरीलाई झुक्याउन आफुले लगाएको सेतो सर्ट झाडीमा झुन्डाएर रातभर हिडेर नेपालको सीमा काट्नु भएको थियो।

कांग्रेसले क्रान्ति कहिले स्थगन गर्यो ? 
दिल्लीमा वार्ता सफल भएपछि क्रान्ति स्थगन भयो। दिल्लीमा वार्ता भयो र २००७ फागुन ७ गते त्रिभुवन काठमाडौं फर्किएपछि प्रजातन्त्र स्थापना भएको घोषणा गरियो। क्रान्ति स्थगन गरियो।

गिरिजाबाबुको दाम्पत्य जीवनबारे भन्नुन ?
२००८ सालमा सुष्मा उपाध्यायसँग गिरिजाबाबुले प्रेम विवाह गर्नु भएको हो। २०१७को काण्ड पछि कोइराला परिवार सबै जेल परे। ७ वर्ष जेल जीवन बिताएर गिरिजाबाबु घर आएर २ महिना पनि सँगै बस्न नपाउदै रेफ्रिजेरेटरमा लागेको आगो निभाउन लाग्दा आगोको लप्काले सुष्मालाई भेट्यो। तुरून्तै अस्पताल लगेपनि उपचार हुनसकेन उहाँको मृत्यु भयो।

गिरिजाबाबु मोरङ्ग सभापति पनि हुनुभयो की?
हो, हुनुभयो। २०१२ सालको विरगंज अधिवेशनबाट केन्द्रमा सुवर्णशमशेर सभापति चुनिनु भएको थियो। मोरङ कांग्रेसबाट सभापतिमा गिरिजाबाबु चुनिनु भएको थियो।

पन्ध्र सालको चुनावमा गिरिजाबाबु चुनाव लड्नु भयो की भएन? 
२०१५ सालको आमचुनाव गिरिजाबाबुलाई टिकट दिनुपर्ने भएपनि दिइएन। यस बिषयमा वीपीले संगठन बिस्तार गर्नको लागि टिकट नदिएको बताउनु भएको थियो। सोही अनुसार गिरिजाबाबु संगठन गर्न लागि पर्नु भयो।

चुनाव पछि कांग्रेस पार्टीको सरकारले गरेका केही महत्वपूर्ण कामहरू बताइदिनुन? 
नेपाली कांग्रेसको सरकारले विर्ता उन्मूलन, राजारजौटा उन्मूलन, सामन्तीका अधिनमा रहेका पर्तीजग्गा र जङ्गलको राष्ट्रियकरण, भूमिसुधार योजना, प्रगतिशील कर प्रणाली, जसको जोत उसको पोतको नारालाई सार्थक बनाउदै थियो।

२०१७ सालको काण्सडमा गिरिजाबाबु कहिले पक्रिनु भयो?
२०१७ पुस १ गते राजा महेन्द्रले संसद् भंग गरेर मन्त्रिपरिषद्, सांसद् र नेताहरू सबैलाई बन्दी बनाए। पुस २ गते गिरिजाबाबुलाई पक्रेर नख्खु जेलमा राखेको थियो।

जेलमा गिरिजाबाबु अनसनमा बस्नुभएको हो? 
हो। २०२४ सालमा जेलभित्रै २१ दिनसम्म गिरिजाबाबु आमरण अनसनमा बस्नु भयो। उहाँको मृत्यु हुने स्थिति देखेपछि राजाले जेलमुक्त गरिदिए।

गिरिजाबाबुप्रति वीपीको कस्तो धारणा थियो?   
वीपी आत्मवृत्तान्तमा भन्नु हुन्छ “त्यसैताका गिरिजाबाबुकी पत्नी सुष्मा आगो लागेर मरेकी थिइन्। त्यस काण्डको वेदनालाई समेत ध्यानै नदिएर राजासँग वार्ताका लागि लागिपरेका थिए। र गिरिजाको महत्व त्यसबखतमा देखिएको थियो। गणेशमानले भन्नुभयो, "यो गिरिजाबाबु त्यत्रो कुशल वार्ताकार छन् भन्ने मलाई थाहा थिएन, उनीमा राजनीतिक परिपक्वता छ भन्ने थाहा थिएन ।“

संगठनका रूपमा गिरिजाबाबु कस्तो हुनुहुन्थ्यो ? 
२०२५ मंसिरमा वीपी जेलबाट छुटेपछि स्वास्थ्य उपचारका लागि जानुभयो। गिरिजाबाबुले बिराटनगरमा बसेर जागरण चलाइ रहनुभएको थियो। वीपी उपचार गरेर फर्केर आउँदा जोगवनीमा वीपीलाई स्वागत गर्न मानिसको भिड भएर ट्रेनबाट बाहिर आउन मुस्किल परेको थियो। वीपीको स्वागतमा संगठन परिचालन गरेर गिरिजाबाबुले त्यति मानिस जम्मा गराउनु भएको थियोे।

विमान अपहरण काण्ड गिरिजाबाबुको डिजाइन भन्ने गरिन्छ?
हो। २०३० असार २९ गते बिराटनगरबाट काठमाडौँका लागि उडेको विमान अपहरण भयो। भारतीय मुद्रा ३० लाख बोकेर त्यो जहाज उडेको थियो। यो प्लेन अपहरणको योजना गिरिजाबाबुको थियो। कुनै क्षति नभइ त्यो काम सम्पन्न भएको थियो।

वीपीको राष्ट्रीय मेलमिलापको नीति पछि गिरिजाबाबु कहिले नेपाल आउनु भयो? 
२०३३ पुस १६ गते वीपी कोइरालाले मेलमिलापको नीति लिएर पटनाबाट काठमाडौं आउनु भयो। गिरिजाबाबु र अन्य कार्यकर्ता भारतमा नै थिए। गिरिजाबाबुलाई प्लेन अपहरण र अन्य आक्रमणको आरोप थियो। यद्यपि वीपी गणेशमानलाई पनि थुप्रै मुद्दा चलाइएको थियो।

वीपी उपचारबाट फर्केर आएपछि पटना सम्मेलन गरिएको र वीपी सुवर्णशंशेरको लामो अन्तरालपछि भेट भएको भनिन्छ। पटना सम्मेलन गिरिजाबाबुले सफल गराएको भनिन्छ के हो ? 
तपाईले भन्नुभएको सबै सत्य हो। २०३४ असोजमा गिरिजाबाबुको प्रयासमा पटना सम्मेलन सम्पन्न गरिएको थियो। अमेरिकामा घाँटीमा क्यान्सरको उपचार गरेर फर्किनु भएको वीपीको भव्य स्वागत भएको थियो। यहीँ सम्मेलनबाट किसुनजीलाई कार्यवाहक सभापति र गिरिजाबाबुलाई महामन्त्री बनाइएको थियो। वीपी र सुवर्णशंशेरको आत्मिय भेटघाट भएको थियो ।

जनमत संग्रहमा गिरिजाबाबु कता हुनुहुन्थ्यो? 
२०३६ जेठ १० गते राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे। राजनीतिक पार्टीहरू माथिको प्रतिबन्ध हटाइयो। वीपी, गणेशमान, किसुनजी लगायतका नेताहरु देशव्यापी राजनीतिक भ्रमणमा केन्द्रीत हुनुभयो। तरपनि गिरिजाबाबुहरू नेपाल आउन सक्नु भएको थिएन। २०३७ बैशाख १ गते जनमत संग्रहको मिति प्रकाशित भएपछि राजबन्दी र निर्वासितहरूलाई आम माफीको घोषणा भयो। त्यसपछि गिरिजाबाबु लगायत सयौं कार्यकर्ता नेपाल प्रवेश गरेर २ हप्ताको समय खेर नफाली बहुदलको पक्षमा देशव्यापी प्रचारमा जुट्नु भयो।

वीपीको निधनले कांग्रेसलाई ठूलो क्षति भयो होइन? 
अबस्य नै २०३९ साउन ६ गते वीपी कोइरालाले निधन भयो। वीपीको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति भयो। कांग्रेसलाई मात्र होइन देशलाई नै अपुरणीय क्षति भयो। वीपीको निधनले अन्तराष्ट्रिय स्तरको नेतृत्वको क्षति भएको थियो।

कांग्रेसमा यसपछि नेतात्रयको अवधारणा विकसित भएको हो?  
वीपीका समकालीन नेता गणेशमान सिंह, कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई एवं महामन्त्री गिरिजाप्रसाद कोइराला ३ जनाको संयुक्त स्वरूप बन्यो। त्याग, दृढता, बौद्धिकता, कुटनीति, चातुर्य, अठोट र संगठन क्षमताको संयुक्त रूप थियो उहाँहरू तीन जनामा । 

गिरिजाबाबु देशव्यापी संगठन अभियानमा हिड्नु भयो भनिन्छ?
हो। यसपछि गिरिजाबाबुको नेतृत्वमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शैलजा आचार्य लगायतले २०३९ देखि २०४१ सम्म देशका प्रायः सबै जिल्लाहरूमा कांग्रेसको प्रशिक्षण सिविर र कार्यक्रम संचालन भए। यसले कांग्रेसको संगठनलाई व्यापक पार्ने काम भयो।

संगठन गर्न हिड्दा गिरिजाबाबु माथि धेरै सांघातिक हमला भए भनिन्छ?
हो यसको उदाहरण सुरजपुरा काण्डलाई लिन सकिन्छ। रूपन्देहीको सुरजपुरामा गिरिजाबाबु, शैलजा आचार्य, शेरबहादुर देउवा र रामचन्द्र पौडेल लगायतका नेता कार्यकर्ताले कार्यक्रम सकेर पुष्पानन्द गिरीको घरमा खाना खान लाग्दा मण्डलेहरुले भाला, खुकुरी, चेन, लाठी, खुँडा लिएर सांघातिक आक्रमण गरे। जलाएर मार्न आगो लगाए। रामप्रसाद चौधरीको घटनास्थलमा नै मृत्यु भयो। यादवनाथ आलोकको हस्पिटलमा मृत्यु भयो।

यसैलाई आधार बनाएर कांग्रेसले दोस्रो सत्याग्रह २०४२ मा गरेको हो? 
यस्तो गम्भीर र निन्दनीय आक्रमणका दर्जनौ काण्ड झेलेर गिरिजाबाबु संङ्गठनात्मक अभियान लिएर अघि बढिनै रहनु भयो। यहीँ अभियान नै २०४२ सालमा सत्याग्रह आन्दोलनको रूप लियो। सात हजार सत्याग्रहीहरू ४ महिनासम्म जेल परे। 

सत्याग्रहको बलमा २०४६सालको जनआन्दोलन गरेको हो कांग्रेसले?
तपाईंले सत्य भन्नुभयो। सत्याग्रह पछि २०४६ माघ ५–७मा चाक्सीबारी काठमाडौं गणेशमान निवासमा सम्मेलन भयो। त्यस सम्मेलनबाट फागुन ७ गतेदेखि जनआन्दोलन प्रारम्भ गर्ने निर्णय गर्यो। यही आन्दोलनले २०४६ चैत्र २६ गते राती ११ बजे बहुदलीय व्यवस्थाको घोषणा गरायो।

त्यसपछिको अन्तरिम सरकारको मुख्य के जिम्मेवारी थियो? 
सन्तनेता कृष्णप्रसाद भट्टराईलाई अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभयो। अन्तरिम सरकारको संविधान बनाउने र आमनिर्वाचन गराउनु मुख्य दुईवटा काम थियो। किसुनजीले संविधान–२०४७ जारी गरेर २०४८ सालमा आमनिर्वाचन सम्पन्न गराउनु भयो। किसुनजी, गणेशमानजी र गिरिजाबाबुको अथक प्रयासले यो काम सम्पन्न भयो। अर्को घटना यस चुनावमा प्रधानमन्त्री किसुनजी पराजय हुनुभयो।

यो घटनाले त कांग्रेसमा बिवाद बढ्यो? 
बढाएन। गिरिजाबाबुलाई प्रधानमन्त्रीमा प्रस्ताव,समर्थन गणेशमान, किसुनजीले गर्नुभयो। २०४८ साल जेठ १२ गते गिरिजाप्रसाद कोइराला दोस्रो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो। वीपी कोइरालाकै बाटोमा हिड्ने प्रतिबद्धता व्यक्त गर्दै गाउँको बिकासलाई प्रमुख प्राथमिकता दिदै अघि बढ्नु भयो।

नेपाली कांग्रेसको ८औ महाधिवेशन कस्तो भयो?  
२०४८ फागुन १ गते विशाल आमसभा गरेर झापाको कलवलगुडिमा अधिवेशन भएको थियो। यस महाधिवेशनले सर्वसम्मत रूपमा किसुनजीलाई सभापति चुनेको थियो। गणेशमान सिंहले प्रस्ताव गर्नु भएको थियो भने गिरिजाबाबुले समर्थन गर्नु भएको थियो। अधिवेशन सकिएपछि सरकार संचालनमा गणेशमान सिंहले चित्त दुखेको कुरा गर्नु भयो। त्यसपछी किसुनजीले ३ महिनामा गिरिजाबाबुले गणेशमानजीको चित्त बुझाइदिनु पर्ने भनेर सहमति भएको थियो। यसै क्रममा २०५१ भदौ २७ का दिन सर्वोच्च नेता गणेशमान सिंहले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्नु भयो।

सरकार संचालनप्रति नेकपाको दृष्टिकोण कस्तो थियो?
२०४८को निर्वाचनबाट नेकपा दोस्रो प्रतिपक्षी दल बनेर संसदमा पुगेको थियो। राजा अधिकार कटौतीले असन्तुष्ट थिए भने नेकपा लोकतन्त्र बुझेको थिएन। बहुमतको सरकार गिराउने भनेर नेकपाले कर्मचारीलाई उकासे, सरकारको बिरूद्ध कर्मचारीले आन्दोलन गरे। बाटोका फलामे बारहरू भाचे। तरपनि गाउलाई बिकासको केन्द्रमा राखेर गिरिजाबाबुले सरकार चलाउनु भयो। नेकपाको उदण्डता सबैले देखे।

गिरिजाबाबु कांग्रेस पार्टी सभापति कहिले हुनुभयो? 
२०५३ बैशाखमा काठमाडौंमा सम्पन्न ९औं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसको सभापतिमा चुनिनु भयो। उहाँको प्रतिद्वन्द्वी त्यसबेला चिरन्जिवी वाग्ले हुनुहुन्थ्यो।

गिरिजाबाबु दोस्रो पटक प्रधानमन्त्री कहिले हुनु भयो?
२०५४ चैत्र ३० गते गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा मन्त्रिमण्डल गठन भयो। २०५५ पुस ८ गते तेस्रो पटक गिरिजाबाबु प्रधानमन्त्री बन्नुभयो र त्यसपछि भावी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भनेर २०५६ बैशाख २० गते प्रतिनिधिसभाको निर्वाचन तोकियो।

कृष्णप्रसाद भट्टराईको दोस्रो प्रधानमन्त्रीत्व कस्तो रह्यो?
२०५६ को आमनिर्वाचनमा पर्साबाट बिजयी भएर नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो। उहाँको सरकार १० महिना चलेपछि पार्टी भित्रको असन्तुष्टि बुझि राजिनामा गर्नुभयो। पुनः गिरिजाबाबु चौथोपटक प्रधानमन्त्री बन्नुभयो। कृष्णप्रसाद भट्टराईले राजीनामा दिएपछि संसदीय दलको नेतामा गिरिजाबाबु र शेरबहादुर देउवा लड्नु भयो। दलको नेता गिरिजाप्रसाद कोइराला चौथोपटक प्रधानमन्त्री बन्नुभयो। मुलुकको राजनीति माओवादीको हत्या हिंसाले जटिल थियो।

गिरिजाबाबु दोस्रो पटक पार्टी सभापति कहिले बन्नु भयो? 
२०५७ माघमा पोखरामा सम्पन्न १०औं महाधिबेशनबाट दोस्रो पटक गिरिजाबाबु पार्टी सभापति चुनिनु भयो। उहाँको प्रतिद्वन्द्वी शेरबहादुर देउवा हुनुहुन्थ्यो। २०६२ भदौमा काठमाडौं पार्टी अफिसमा नै ११औ महाधिवेशन भयो। तेस्रो पटक पार्टी सभापति हुनुभयो। उहाँको प्रतिद्वन्द्वी नरहरि आचार्य हुनुहुन्थ्यो। आचार्यले पार्टी भित्र संविधानसभा र गणतन्त्रको एजेण्डा स्थापित गराउनु भयो।

यसपछि दरवार हत्याकाण्ड भयोे? 
२०५८ जेठ १९ गते शुक्रबार गिरिजाबाबु प्रधानमन्त्रीत्वकालमा नै दरवार हत्याकाण्ड भयो। त्यतिबेला प्रधानमन्त्रीले केही गर्न सक्ने स्थिति थिएन। सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन गरियो। त्यही रिपोर्टका आधारमा त्यो केस यसै रह्यो। यसपछि राजा ज्ञानेन्द्र शाह बन्नु भयो। गिरिजाबाबुले प्रधानमन्त्रीबाट राजीनामा गर्नुभयो।

त्यसबेला संसद् अबरुद्ध थियो?
यसको सामना गिरिजाबाबुले गर्नुभयो। लाउडा प्रकरणले चिनिएको त्यो बिषयको सामना गर्नुभयो।

यसपछि प्रधानमन्त्री को बन्यो?
यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा बन्नुभयो। २०५८ साउन ४ गते गिरिजाबाबुले राजीनामा गरेपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो। संकटकाल लम्व्याउने बिषयमा पार्टी भित्र तिब्र मतभेद भयो। यहीँ विवादमा कांग्रेस पार्टी फुट्यो।

कांग्रेस विभाजनले राजालाई सक्रिय हुन मद्दत गरेको हो ? 
२०५९ जेठ ८ गते राजा ज्ञानेन्द्र शाहले संसद् भङ्ग गरिदिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले आमनिर्वाचनको घोषणा गर्नुभएको थियो। चुनाव सार्ने प्रस्ताव लिएर प्रधानमन्त्री राजा समक्ष गएपछि मन्त्रिमण्डल नै बिघटन गरियो। राजाबाट २०४७ सालको संविधान र प्रजातन्त्र समाप्त गरियो।

बृहत प्रजातान्त्रिक मोर्चा कसरी बन्यो?
गिरिजाबाबु प्रजातन्त्र पुनःस्थापनाका लागि बृहत प्रजातान्त्रिक मोर्चा गठनमा अग्रसर हुनुभयो। अन्य पार्टीहरुलाई गोलबद्ध गर्न लाग्नुभयो।

दोस्रो जनआन्दोलनको तयारी सुरू भयो?
हो। २०६० बैशाख २८ गते पाँच दल नेपाली कांग्रेस, नेपाल एमाले, जनमोर्चा, सदभावना–आनन्दीदेवी र नेमकिपाका शीर्षनेताहरूले एउटै मञ्चबाट संबोधन गरे। नेताहरु माथि निर्ममतापूर्वक आक्रमण गरिएको थियो।

जनआन्दोलनको कमाण्डर गिरिजाबाबु कसरी बन्नु भयो? 
गिरिजाबाबुले राजाले वार्ता गर्न बोलाए नजाने प्रस्ताव राखेपछि अन्य दलहरुले त्यसै अनुरुप निर्णय गरे। २०६१ बाट सडकमा गणतन्त्रको नारा घन्किन थालेको थियो। २०६१ असार २६ मा गिरिजाबाबुको प्रतिनिधिसभाको पुनर्स्थापना, सर्वदलीय सरकार, माओवादीसँग वार्ता र  संविधानसभाको निर्वाचन सबैले स्वीकृत गरिसकेका थिए।

नरहरि आचार्यले चलाउनु भएको गणराज्य अभियानको प्रभाव कस्तो रह्यो?
नरहरि आचार्यले बन्दी रहदा कांग्रेसलाई संविधानसभा मार्फत गणराज्य निर्माणगर्न अग्रसर हुन प्रस्ताब पठाउनु भयो। बाहिर रहदा देशभर घुमेर २०६१ देखि संविधानसभा, गणतन्त्र, संघीयता, प्रतिनिधित्व, पहिचानको विषय स्थापित गर्न संविधानसभा मात्र एक बिकल्प हो भन्दै हिड्नु भयो। पार्टी भित्र यहीँ एजेण्डा लिएर गिरिजाबाबुसँग सभापतिमा लड्नु भयो। सभापतिमा गिरिजाबाबुले जिते पनि नरहरि आचार्यको एजेण्डाले कांग्रेस पार्टीमा बिजय प्राप्त गर्यो। जसलेगर्दा देशैभरी संघीय लोकतान्त्रिक गणराज्य नेपाल निर्माणको लागि आधारभूमी तयार पार्यो।

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कसरी चलाए?
२०६१ माघ १९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर राजा आफैले आफ्नो अध्यक्षतामा सम्पूर्ण शासन हातमा लिनुभयो। कीर्तिनिधि विष्ट र डा तुलसी गिरीलाई उपाध्यक्ष बनाएर शासन सुरू भयो।

आन्दोलनकोे घोषणा गरेर दलहरू अन्तिम लडाइँ लड्न कहिलेबाट हिडे?  
२०६२ बैशाखको अन्तिम सातातिर सात पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेका प्रजातान्त्रिक, जनमोर्चा, नेमकिपा, नेपाल सद्भावना पार्टी आनन्दीदेवी, संयुक्त वाममोर्चाका शीर्षनेताहरू ६ बुँदे प्रस्ताव पास गरेर आन्दोलन अघि बढाए । २०६२ कार्तिकदेखि ७ दलको आग्रहलाई स्वीकार गरेर माओवादीले युद्ध बिरामीको घोषणा गर्यो।

माओवादीसँग वाह्रबुदे सहमति कहिले भयो? 
गिरिजाबाबुले मुलुकमा शान्ति र स्थायित्व कायम गर्न २०६२ मंसिर ७ गते दिल्लीमा १२बुँदे समझदारी गर्नुभयो। यस घटनाले नयाँ राजनीतिक माहौल निर्माण भयो।

निर्णायक जनआन्दोलन कस्तो रह्यो? 
२०६२ चैत्र २४ बाट सुरु भएको आन्दोलन उन्नाइस दिन चल्यो। देशव्यापि रुपमा आमहड्ताल, बन्द, जुलुस, प्रदर्शन र घेराउका क्रममा करिव ३ दर्जनको प्राण आहुति भयो। सयौं अङ्गभङ्ग र घाइते भए। हजारौँ पक्राउ परेका थिए। बैशाख ११ गते राती राजाले प्रतिनिधिसभा पुनःस्थापना गराए।

राजतन्त्र अन्त्य गर्ने नीति कांग्रेसले कहिले लियो? 
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा जेलमा राखिएका नेता नरहरि आचार्यले जेलबाट नै लिखित प्रस्ताब पठाएर बैठकमा छलफल चलिरहेको थियो। कांग्रेस भित्रको यो छलफलले एक्काइसौँ सताब्दीमा राजा बोक्नुको कुनै औचित्य छैन। पूर्ण लोकतन्त्र चाहिन्छ भन्ने निष्कर्षमा पुग्यो। अन्ततः गिरिजाप्रसाद कोइरालाले राजतन्त्र अन्त्य गर्ने नीति लिनुभयो।

बृहत् शान्ति सम्झौताले नै राजा ज्ञानेन्द्रको बहिर्गमन गरेको हो?
हो। सात दल र माओवादी बीच बृहत् शान्ति सम्झौता भयो। यहीँ शान्ति संझौता अनुरुप देश अगाडि बढ्यो। रगतमा डुबेको नेपाललाई शान्ति प्रक्रियामा गिरिजाबाबुले ल्याउनु भयो। नेपालीको मुहारमा भय, डर र त्रास हटाउने ठूलो काम भयो। जनआन्दोलनपछिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शान्ति अभियानले २०६३ जेठ १२ गते युद्धविराम आचारसंहितामा हस्ताक्षर गरियो। २०६३ असार २ गते ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो।

अन्तरिम व्यवस्था कसरी गरियो? 
२०६३ साउन २४ गते संयुक्त राष्ट्रसंघ माओवादी सेनाको व्यवस्थापन, हतियार प्रमाणिकरण, अनुगमन, भावी संविधानसभा निर्वाचनमा पर्यवेक्षण, मानवअधिकार र आचार संहिताको अनुगमन जस्ता बिषयसहित ५ बूँदे पत्र पठाइयो। २०६३ कार्तिक २२ मा सरकार माओवादी शिखर वार्ताले ३३० व्यवस्थापिका, संविधानसभाको निर्वाचन, नागरिकता बितरण गर्ने जस्ता महत्वपूर्ण नीति पारित गरियो। 

पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस पराजय भयो?
हो। २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन गिरिजाबाबुले स्वतन्त्र र निष्पक्ष रूपमा चुनाव सम्पन्न गराउनु भयो। यसमा नेपाली कांग्रेस पराजय भयो। तर पनि गिरिजाबाबुले देशले जित्यो भन्नुभयो। 

लोकतान्त्रिक गणतन्त्रमा नेपाल कुनदिन प्रवेश गर्यो? 
२०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्यो‍। २४० वर्षको राजतन्त्रको अन्त्य भयो।

बिरामी अवस्थामा पनि गिरजाबाबु शान्ति वार्तामा अग्रसर भइरहनुपरेको थियो भनिन्छ नी?
२०६६ पछि गिरिजाबाबुको स्वास्थ्यस्थिति बिग्रदै गयो। अक्सिजन र औषधीको भरमा चलेको जीवन भएपनि आएको समस्या समाधान गर्न वार्ता गर्न सधै गिरिजाबाबु तत्पर रहनु भयो। यसरी सबैले मान्ने आदर र सम्मान पूर्ण व्यक्तित्व गिरिजाबाबुको बनेको थियो।

गिरिजाबाबुको देहावसानले देशलाई क्षति गर्यो‍?
हो। संविधानसभाले संविधान दिन नसकेर देश अप्ठेरो अबस्थामा थियो। २०६६ चैत ७ गते गिरिजाप्रसाद कोइरालाको भौतिक चोलाको अवसान भयो। यसले सबैको मनमा चिन्ता बढाएको थियो। यसको पुष्टि गिरिजाबाबुको सवयात्रामा बिशाल जनसमुदायको उपस्थिति र उहाँको अन्त्यष्टीमा सहभागी भएको जनसमुदायले पनि स्पष्ट देखाउछ।

गिरिजाबाबुको स्वभाव कस्तो थियो?
बिहान ४ बजे उठ्ने, ६ बजेसम्ममा आफ्नो नित्य कर्म सकेर राष्ट्रिय पोसाक लगाएर देशको समस्या समाधान गर्न र जनताको समस्या समाधान गर्न प्रत्येक दिन तत्पर रहनु हुन्थ्यो। अब यो काम नयाँ पुस्ताले गर्नुपर्छ।

तपाईले अध्ययन गर्नु भएको नेपाली राजनीतिका शिखरपुरुष राजनेता गिरिजाबाबुमा अरू थप के के छ?
गिरिजाबाबु आफैले व्यक्त गरेका विचार, बिभिन्न व्यक्तिहरूले व्यक्त गर्नुभएको अभिव्यक्ति, अन्तराष्ट्रिय साथै उहाँको जीवनका रोचक प्रसङ्ग समावेश गरिएको छ। नेपालको राजनीति बुझ्न पढ्नै पर्ने छ यो पुस्तक।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ