arrow

रामपुर नगरपालिकाद्धारा विपन्न परिवारलाई राहत, यस्तो छ मापदण्ड

logo
सीता डोटेल, 
प्रकाशित २०७६ चैत २३ आइतबार
rahat-corona.jpg

रामपुर । पाल्पाको रामपुर नगरपालिकाले टोलटोलमा पुगेर बिपन्न परिवारलाई खाद्यान्न तथा औषधी वितरण शुरु गरेको छ । 

कोरोना संक्रमणबाट जोगाउन सरकारले लगाएको लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि राहत वितरण गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ ।

वडा–वडाबाट विपद व्यवस्थापन समिति मार्फत आएको तथ्याङ्कको आधारमा नगरपालिकाका १० बटै वडामा राहत वितरण गर्ने नगरप्रमुख रमण बहादुर थापाले बताए । 

पहिलो चरणमा वडागत बिपद् व्यबस्थापनबाट आएको तथ्यांकको आधारमा नगरपालिकाका १ हजार ६६ परिवारलाई राहत वितरण शुरु गरेको थापाले बताए । 

नगरपालिकाले रामपुर ८ को आँपचौरमा पुगेर राहत वितरण सुरु गरेको छ। वडा नं ८ का वडा सदस्य मोहन श्रेष्ठले वडाका १ सय ५१ परिवारमध्ये शनिबार ६० परिवारलाई राहत वितरण गरिएको र अन्यलाई टोलटोलमा पुगेर नै वितरण गरिने बताए । 

एकैदिन वितरण गर्न ठूलो जमघट हुने भएकाले टोलमा पुगेर वितरण गर्ने योजना बनाएको श्रेष्ठले जानकारी दिए ।

परिवार संख्याको आधारमा नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । चामल, दाल, तेल, नुन, साबुन, चना संगै माक्स, जिवनजल, सिटामोल र साईनेक्स लगाएतका औषधी समेत प्याकेज बनाएर वितरण गरेको हो।  जहाँ १ जना मात्रको परिवारलाई ५ केजी चामल, १ केजी दाल, आधा लिटर तेल, १ केजी नुन, १ वटा साबुन, १ केजी चना, २ देखि ४ जनाको परिवारलाई २० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन, २ वटा साबुन, २ केजी चना र ५ जना भन्दा माथिको परिवारलाई २५ केजी चामल, ३ केजी दाल, साढे १ लिटर तेल, २ केजी नुन, ३ वटा साबुन, ३ केजी चना वितरण गरेको नगरप्रमुख थापाले जानकारी दिए । 

‘पहिलो चरणमा जो विपन्न छन् दिनभरीको मजदुरीले साँझ घरमा जस्को चुल्हो बल्छ त्यस्ता परिवारको पहिचान गरी राहत दिन सुरु गरेका हौं’ उनले थपे । 

साथै छुट्न पुगेका परिवारलाई अर्को पटकमा समेट्ने जानकारी दिँदै थापाले लकडाउन कहिलेसम्म रहने निश्चित नभएको भन्दै आवश्यकता अनुसार राहतलाई अगाडी बढाउने बताए । थापाका अनुसार अहिले पहिलो चरणमा २१ लाख बढीको राहत वितरण गर्न लागिएको छ । 

नगरपालिकाले कार्यविधि तयार गरी नगरले जनप्रतिनिधि, प्रशासन र प्रहरीको रहोबरमा राहत वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताए । 

पहिलो चरणमा १ हजार ६६ परिवारका ४ हजार १ सय ३८ जना सम्म राहत पुर्याइने छ । आचार्यले खाद्यान्नसंगै चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार सामान्य ज्वरोको औषधी तथा जिवनजल समेत वितरण गरिएको बताए ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले नगर भित्र एकद्वार पद्धतिको अवलम्बन गरिएको बताइन् । राहत वितरण गर्न इच्छुक संघ संस्थाहरुले नगरसंगको समन्वयमा वितरण गर्न सकिने उनको भनाई छ। रामपुर नगरपालिकासंगै नगरका विभिन्न क्लव तथा संघ संस्थाले पनि राहत वितरण गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ