arrow

युरोपमा भएका नेपालीहरु कोरोनाको उच्च जोखिममा 

logo
 भरत प्रधान, रासस
प्रकाशित २०७६ चैत २३ आइतबार
coronavirus-hamrakuras1.jpg

पोर्चुगल । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ । 

इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । 

कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ ।
 
कोरोना सङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । पछिल्लो समय बढी सङ्क्रमण अमेरिकामा देखिएको छ । 

पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको ज्यान गएको छ । त्यहाँं हालसम्म १५ हजार ३६२ को मत्यु भइसकेको छ भने एक लाख २४ हजार ६३२ जना सङ्क्रमित भएको तथ्याङ्क छ । बीस हजार ९९६ उपचारपछि निको भई घर फर्केका छन् । 

इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली सङ्घ इटालीका अध्यक्ष देव गुरुङले जानकारी दिए । 

गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । “यहाँको अवस्था हेर्दा नेपालीहरुको अवस्था चिन्ताजनक नै छ, तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन”, गुरुङले भने, “यहाँ रहेका सबै नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ ।” कोरोनाको सङ्क्रमणले सङ्कटग्रस्ट इटालीले गत मार्च ४ (फागुन २१ गते) देखि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको थियो । 

गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो युरोप नै सङ्कटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताए । 

कोरोना सङ्क्रमणको गति यही स्थितिमा बढिरहे युरोपमा रहेका नेपालीहरुमा थप सङ्कट निम्तिन सक्ने खतरा रहेको उहाँले बताए । कोरोनाको सङ्क्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन युरोपबासी नेपालीहरुलाई आग्रह गर्दै आचार्यले यो महामारीबाट बच्न र बचाउन सङ्घसमेत संस्थागतरूपमा लागि परेको बताए । 

आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित सङ्कटलाई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरुको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । कोरोनाबाट प्रभावित नेपालीहरुको तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका नेपालीहरुलाई उक्त कोषबाट राहत प्रदान गरिने उनले बताए

इटालीपछि कोराना सङ्क्रमणका कारण सबैभन्दा बढीले ज्यान गुमाएको अर्को युरोपेली देश हो, स्पेन । कोरोनाका कारण स्पेनमा ११ हजार ९४७ को ज्यान गएको छ भने एक लाख २६ हजार १६८ मा सङ्क्रमण भएको तथ्याङ्क छ । 

तीमध्ये ३४ हजार २१९ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्याङ्क हेर्दा स्पेनमा पनि कोरोना सङ्क्रमणको वृद्धिदर इटालीमा जस्तै तीव्रगतिमा बढिरहेको छ ।

स्पेनमा रहेका लोकगायक राजेन्द्र लम्सालले स्पेनको अवस्था निकै दर्दनाक रहेको प्रतिक्रिया दिए । “घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनौँ, सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन”, लम्सालले भने । 

उनका अनुसार उद्योगधन्दा, कलकारखाना, सार्वजनिक यातायात, शहर बजार, होटेल रेष्टुरेण्ट, व्यावसायिक प्रतिष्ठानहरु ठप्प हुँदा दैनिकी कष्टकर बन्दै गएको छ ।

कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा १० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । स्पेनमा हालसम्म सात नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको गैर आवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए । 

सङ्क्रमित नेपालीहरुको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । तीमध्ये एक जना नेपाली उपचारपछि घर फर्किएका छन् । 

कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित बनेको अर्को युरोपेली मुलुक हो, फ्रान्स । त्यहाँ कोरोनाका कारण सात हजार ५६० को मृत्यु भइसकेको छ भने ८९ हजार ९५३ मा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १५ हजार ४३८ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । गत सातादेखि फ्रान्समा पनि मृत्युदर र सङ्क्रमण दर बढ्दै गएको छ । 

कोरोनाको महामारीका कारण आक्रान्त बनेको फ्रान्सको स्थिति हेर्दा नेपालीहरु पनि त्रसित रहेको पेरिसमा रहेका स्याङजाका विष्णुबहादुर सारुले बताए । 

“घरभित्रै बसेको तीन साताभन्दा बढी भयो, बजार पूरै ठप्प छ”, थापाले भने, “अत्यावश्यक कामका लागि स्वीकृति लिएर मात्रै बाहिर जान पाइन्छ । अन्यथा जरिवाना र जेलसम्मको सजाय हुन्छ ।” 

फ्रान्समा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको गैरआवासीय नेपाली सङ्घ फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले बताए । नेपालीहरु सुरक्षित रहे पनि जोखिम भने उच्च रहेको उनले बताए । 

कोरोनाले निम्त्याएको सङ्कटका कारण समस्यामा परेका ३५ भन्दा बढी नेपालीलाई सङ्घले राहतस्वरूप खाद्यान्न सामग्री प्रदान गरेको शाहीले जानकारी दिए ।

फ्रान्समा करिब पाँच हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको दूतावासको अनुमान छ । हालसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राससलाई जानकारी दिए । 

नेपालीहरुलाई पर्ने समस्यामा सहयोग र सहकार्य गर्न फ्रान्स र पोर्चुगलको सरकारलाई आग्रह गरिएको र त्यहाँको सरकारले पनि सहयोग गर्ने आश्वासन दिएको राजदूत अधिकारीले बताए ।

त्यस्तै जर्मनीमा हालसम्म ९६ हजार ९२ मा कोरोनाको सङ्क्रमण देखा परेको छ भने एक हजार ४४४ को मृत्यु भइसकेको छ । तीमध्ये २६ हजार ४०० उपचारपछि घर फर्केका छन् । 

त्यस्तै बेल्जियममा पनि एक हजार २८३ को मृत्यु भइसकेको छ भने १८ हजार ४३१ मा सङ्क्रमण भएको पुष्टि भएको छ । तीन हजार २४७ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।
  
युरोपमै सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको बेलायतमा ४१ हजार ९०३ मा कोरोनाको सङ्क्रमण देखा परेको छ । त्यहाँ चार हजार ३१३ ले ज्यान गुमाएका छन् । 

ती मध्ये १३५ जना उपचारपछि घर फर्केका छन् । बेलायतमा हालसम्म आठ नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । 

तीमध्ये दुई नेपालीको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिए । आरणका अनुसार हाल दुई नेपालीको उपचार भइरहेको छ भने चार जना उपचारपछि घर फर्किसकेका छन् । 

अन्य १० नेपाली कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । बेलायतमा रहेका नेपालीहरुलाई उच्च सजगता र सतर्कता अपनाउन विशेष आग्रहसमेत गरिएको उनले बताए । उनका अनुसार यकिन तथ्याङ्क नभए पनि बेलायतमा डेढलाख नेपालीको बसोबास रहेको अनुमान छ ।

कोरोनाको महामारी कारण युरोपमा रहेका नेपालीहरुको अवस्था सामान्य रहे पनि जोखिम भने उच्च रहेको नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजीन राईले बताए । युरोपमा रहेका नेपालीहरुले गर्ने कामको प्रकृति हेर्दा धेरै नेपालीमा सङ्क्रमण हुनसक्ने तर नेपालीहरु खुल्न नचाहेका कारण पनि सङ्क्रमितको यकिन तथ्याङ्क बाहिर नआएको राईको भनाइ छ ।

बेलायतपछि सबैभन्दा बढी नेपालीको बसोबास रहेको मुलुक पोर्चुगलमा दश हजार ५२४ मा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । पोर्चुगलमा हालसम्म २६६ जनाले ज्यान गुमाइसकेका छन् । 

पोर्चुगलमा तीन नेपालीमा कोरोना सङ्क्रमणको आधिकारिक पुष्टि भएको लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनका अनुसार सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । 

वाणिज्यदूत हमालका अनुसार अन्य केही नेपालीहरु कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेका छन् । यहाँ रहेका नेपालीलाई कोरोनाको सम्भावित सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष सजगता र सतर्कता अपनाउन आह्वान गरिएको हमालले बताए ।

कोरोनाको महामारीबाट बच्न र समस्यामा परेका नेपालीहरुलाई सहयोग र समन्वय गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले विशेष अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष तिलकप्रसाद गैरेले जानकारी दिए । 

सङ्घका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संयोजकत्वमा ‘टास्क फोर्स’ नै बनाएर समस्यामा परेका नेपालीको राहत र उद्धारका लागि परिचालन गरिएको गैरेले बताए । यकिन तथ्याङ्क नभए पनि पोर्चुगलमा करिब २५ हजार नेपालीहरुको बसोबास रहेको अनुमान छ । 

बेल्जियममा एक नेपालीलाई कोराना सङ्क्रमण पुष्टि भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले जानकारी दिए । राजदूत थापाका अनुसार बेल्जियममा नौ हजारको हारहारीमा नेपालीहरु रहेका छन् । 

बेल्जियमसहित नेदरल्याण्ड्स र लग्जेम्बर्गमा रहेका नेपालीहरुलाई कोरोनाको सङ्क्रमणबाट बच्नका लागि विशेष सुरक्षा, सर्तकता र उच्च सावधानी अपनाउन राजदूत थापाले आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्यालाई आधार मान्ने हो भने कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका बनेको छ । अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । अमेरिकामा झण्डै तीन लाखमा कोरानाको सङ्क्रमण देखा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ