arrow

३ जनामा कोरोना देखिएपछि बाँकेका सीमा क्षेत्रमा छिर्न नदिन कडा निर्देशन

सीमा नाकाको एक एक किलोमिटरमा सशस्त्र प्रहरी तैनाथ

logo
सौरभ गिरि,
प्रकाशित २०७६ चैत २३ आइतबार
bake-ssp.jpg

नेपालगञ्ज । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेका सीमा नाकामा सशस्त्र प्रहरीको तैनाथ बढाइएको छ । भारतसंग सीमा जोडिएका बाँकेका सबै ठूला साना नाकामा सुरक्षा ब्यवस्था कडा पारिएको हो । 

शनिबार मात्रै कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि बाँकेका सबै सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी खटाइएको छ । कोरोना संक्रमणबाट बच्न बाँके र भारतको बहराइचका मुख्य सीमा नाकामा मात्रै नभई चोर बाटोबाट समेत लुकीछिपी भारतबाट मानिसहरु आउने हुँदा सीमा नाकामा थप १ सय २० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका एसपी दिपक अधिकारीले बताए । 

‘भारतबाट अब हामी एक जना पनि नेपाल छिर्न दिँदैनौं, चोर बाटोबाट हने आवागमनलाई पूर्णरुपमा नियन्त्रण गर्न पहिले भएको जनशक्तिमा १ सय २० जना थपेका छौं,’ एसपी अधिकारीले भने–‘खडैंचा र पानीट्यांकीको फरवार्ड बेशमा पनि जनशक्ति बढाएका छौं ।’ लकडाउन र सीमा नाकालाई पूर्णरुपमा कडाई गरिएको बताउँदै एसपी अधिकारीले कसैलाई पनि छिर्न नदिन कडा निर्देशन दिइएको जानकारी दिए । 

सीमामा निगरानी बढाउन बाँकेमा रहेका सबै ६ वटै बोर्डर आउट पोष्ट (बिओपी) मा थप प्रहरी पठाइएको हो । नरैनापुर गाउँपालिका अन्तर्गत्का नरैनापुर, गंगापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढया बिओपी सहित खडैँचा र बढया बिओपीको पानीट्यांकीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको एसपी अधिकारीले बताए । 

विओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब एक एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फर्काइने एसपी अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ