arrow

क्वारेन्टीनमा मान्छे राख्न कांग्रेस सभापति श्रेष्ठले अवरोध गरेको मेयर राईको आरोप

कांग्रेसबाट निर्वाचित राई पनि खोटाङ कांग्रेसकै क्षेत्रिय सभापति

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
khotang-congress.jpg

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकामा कोरोना संक्रमणको आशंकामा किर्तीमान नेपाली सहित ९ जनालाई क्वारेन्टीनमा राख्नेक्रममा कांग्रेस नेताबाटै अवरोध आएको छ। उनीहरुलाई कम्तीमा १४ दिनका लागि दुर्छिमको केन्द्रकारुपमा रहेको छापडाँडास्थित स्वास्थ्यचौकी क्वारेन्टीनमा राख्नेक्रममा कांग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठ लगायतबाटै अवरोध आएको नगर प्रमुख इवन राईले जानकारी दिए।

अवरोधका बावजुद ९ जनालाई स्वास्थ्यचौकीकै क्वारेन्टीनमा राखिएको नगरपालिकाले जनाएको छ । कांग्रेस सभापतिले कांग्रेसबाटै निर्वाचित मेयरलाई असहयोग गरेपछि जिल्लाका नेता कार्यकर्ताबीचमा यो विषयमा चर्चा चुलिएको छ । नगर प्रमुख राई कांग्रेस क्षेत्र नम्बर–१ का सभापतिसमेतको जिम्मेवारीमा रहेका छन्।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि स्थानीयलाई क्वारेन्टीनमा राख्नेक्रममा अवरोध भएको बताए । प्रजिअ पौडेलले भने ‘क्वारेन्टीन गाउँमा राख्नै दिन्न भनेर हुदैन। स्थानीय सरकारले क्वारेन्टीन कहाँ बनाएको छ, आवश्यक मेडिकल, खानापानी लगायतका फेसिलिटी दिन्छ भने वनमा लगेर राख्नु भएन नी।’  

कांग्रेस सभापति श्रेष्ठले भने स्थानीयबाट शंकास्पद व्यक्तीलाई मानव वस्तीभन्दा टाढा क्वारेन्टीन बनाएर राख्नका लागि स्थानीयवासीबाट माग आएको कुरा मेयरलाई सुनाउनु बाहेकका सम्वाद नभएको बताए। त्रास फैलिने भएकाले मानव वस्ती नजिक रहेको क्वारेन्टीनको विकल्प सोच्नुपर्ने कांग्रेस नगर समितिमा आवद्ध नेताको भनाई रहेको बताइएको छ।

नगरपालिकाले दुर्छिममै पनि क्वारेन्टीन निर्माण गरेको थियो । ति मानिस पनि दुर्छिमकै भएका कारण अवरोधका बावजुत पनि त्यहिँको क्वारेन्टीनमा राखिएको नगर प्रमुख राईले बताए । यस अघि पनि दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा क्वारेन्टीन बनाउने विषयमा सभापति श्रेष्ठले अस्वीकार गरेका थिए।

आइसोलेसनबाट भागेका एक सहित ९ जना क्वारेन्टीनमा
उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट ९ दिनअघि भागेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली सहित उनका आफन्तलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्यौकीको क्वारेन्टीनमा राखिएको हो ।

किर्तीमानको सम्पर्कमा रहेका कारण दुई परिवारका आठ जना समेतलाई आइतबारदेखि क्वारेन्टीनमा राख्नु परेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा चैत १४ गते भागेका नेपाली हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् ।

छोरीको घरमा आएर बसिरहेको जानकारीका आधारमा नेपाली र उनका आफन्तलाई नियन्त्रणमा लिएर क्वारेन्टीनमा ल्याइएको मेयर राईले बताए । उनी तीन दिनअघि आफन्तको घरमा आइपुगेको बताइएको छ । उनका कारण थप आठ जनाले समेत क्वारेन्टीनमा बस्नुपर्ने अवस्था आएको हो ।

गत चैत १२ गते कटारी आइपुगेका नेपाली मोवाईल, लुगाफाटा, झोला अस्पतालमै छाडेर तीन दिन नबित्दै आइसोलेसनबाट भागेको बताइएको छ । २१ जनाको समुहमा कटारी आइपुगेका उनलाई ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ