arrow

महाप्रसाद अधिकारीले गरे राष्ट्र बैंक गभर्नरको पदबहाली

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
mahaprasad-adhikari-governo.gif

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलवार पद बहाली गरेका छन्। नेपाल सरकारको चैत २४ गतेको निर्णय अनुसार अधिकारी बैंकको रिक्त गभर्नर पदमा नियुक्त भएका थिए।

पदबहालीअघि उनले सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ लिए। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ मा बैंकको गभर्नरले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ।

पदबहालीपछि बैंक परिसरमा आयोजित स्वागत कार्यक्रममा गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे । साथै, केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता समेत जनाए।

कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपालराष्ट्र बैंक तयार रहेको धारणा गभर्नर अधिकारीले राखे ।

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको उल्लेख गर्दै गभर्नर अधिकारीको सफल कार्यकालको निम्ति शुभकामना दिए । त्यस्तै डेपुटी गभर्नर शिबराज श्रेष्ठले सक्षम, इमान्दार र वित्तीय प्रणालीलाई बुझेको व्यक्तिलाई सरकारले गभर्नर नियुक्त गरेको उल्लेख गर्दै शुभकामना दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका कार्यबाहक अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमबहादुर बल्छौडीले नवनियुक्त गभर्नर अधिकारीलाई सफल कार्यकालको निम्ति शुभकामना दिए ।

अधिकारी नेपाल राष्ट्र बैंकको सत्रौं गभर्नर हुन । पूर्वी पहाडको खोटाङमा जन्मिएका अधिकारी वि.सं. २०४२ मा राष्ट्र बैंकको सेवाप्रवेश गरेका थिए। बैंकको उप–निर्देशक, निर्देशक, कार्यकारी निर्देशक हुँदै २०६७ पुसदेखि २०७२ पुससम्म बैंकको डेपुटी गभर्नरको जिम्मेवारीमा रहेका अधिकारी गभर्नरमा नियुक्त हुनुपूर्व लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए। उनले सन् १९९३ मा भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पुरा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ