arrow

कोरोनासंग लड्ने बेलायतको तरिका र अनुभव; जनचेतना नै मुख्य अस्त्र

logo
जगन कार्की,
प्रकाशित २०७६ चैत २५ मंगलबार
corona-jagan1.jpg

लण्डन । बेलायतमा पनि दैनिक अवस्था नाजुक हुँदै छ तर मृत्युको संख्या घट्ने संकेत देखिएको छ । लकडाउनमा घर भित्र बसेको पनि २ साता बढी हुन लागेछ संक्रमण बढदो छ। 

अत्यावश्यक समान किन्न बाहिर जान पाइन्छ सुपरमार्केट अहिलेसम्म खुल्लै छन् । सुपरमार्केटमा मान्छेको लिमिट अनुसार भित्र पस्न दिएका छन् खरीद र अत्यावश्यक सेवा केन्द्रमा २-२ मिटरको दुरीमा लाइन कोरीएका छन् त्यहाँ उभिएर पालो पर्खन पर्छ । 

खाद्यान्न अभाव छैन । अत्यावश्यक सेवा रोकिएको छैन सार्वजनिक यातायात अत्यावश्यक सेवाकर्मीहरूलाई ध्यानमा रखेर पातला चलाईएका छन । ७० वर्ष माथि उमेरका र स्वास्थ्य समस्या हुनेहरूलाई पूर्णतः आइसोलेट हुने सल्लाह दिईएको छ । 

फोन नगरी अस्पताल नआउन भनिएको छ यसर्थ अस्पताल पनि बन्द जस्तै छन । इमर्जेंसी सेवा बाहेक फोनबाट नै डाक्टर नर्सले सल्लाह दिने गर्छन् । 

मानव जीवनमा सायद त्यो जंगली अवस्थामा बाघ भालुदेखि बाँच्न यस्तो अवस्था आएको थियो होला जस्तो अहिले लाग्छ मृत्यु बाहिर घुमी रहेछ हामी बच्न ढोका थुनेर लुकेर भित्र बसेका छौं । 

भयको कुरा बेलायतमा अस्पतालले जो बढी बाँच्ने सम्भावना छ उसको उपचार गर्ने प्राथमिकता सेट गर्ने रणनीति लिएको अस्पतालमा चाप बढेर मृत्युको सम्भावना बढी देखिए भेन्टिलेटर निकालेर अर्को बाँच्ने सम्भावना भएकोलाई प्राथमिकता दिने निर्णय गर्न स्वास्थ्यकर्मीहरुलाई भनिएको कुरा मिडियामा आएका छन्। 

कोरोना संक्रमण भएका आफन्त साथीहरु ३-४ जनासंगको कुराकानीमा सबैले एकै खालको लक्षण खोकी , ज्वरो अनि झाडा-पखाला लागेको सुनाए । 

ज्वरो नियन्त्रण गर्न सिटामोल खाएको स्वास फेर्न गारो हुँदा बेलायतको आकस्मिक सेवा नम्बर १११ डायल गरेको, फोन जवाफमा आवाज राम्रै आएको, होस् नगुमेको भन्दै घरमै क्वारेन्टाइनमा बस्न भनिएको बताए। तातो झोल पिउने, तातो बाफ लिने र सिटामोल खाएर बस्ने अस्पतालको फोनको सल्लाह मानेर घरमा बसेर रोग निको पार्ने धेरै छन्। 

अचम्म त उनीहरुलाई कोरोना लागे-नलागेको पनि यकिन छैन किनकि टेस्ट नै गरीएको छैन?

यसरि हेर्दा बेलायतमा नेपालीहरु ४ देखि ५सयमा संक्रमण भएको तर टेस्ट नभएको र प्रमाणित नभएको देखियो । बेलायतमा हालसम्म २ लाख १० हजारको टेस्ट र ५१ हजार ६०८ जनामा कोरोना प्रमाणित भएको छ । संक्रमण प्रमाणित नभई घरमा नै निको हुने धेरै देखिएका छन । 

बेलायतमा लकडाउनको आज १७ दिन हो । यहाँ हालसम्म कोरोनाबाट ५ हजार ३ सय ७३ जनाको ज्यान गएको छ । आइतवार मात्र एकै दिन ४३९ जनाको मृत्यु भएको खबर थियो । यो संख्या पनि अस्पतालमा मृत्यु हुनेहरूमात्र भनिएको छ । 

बिडम्बना यो रोगबाट मृत्यु हुनेलाई संक्रमणको जोखिमले अफन्तले पनि छुन, दाहसंस्कार गर्न सम्म नपाउने पिडा छ। 

हामी अहिलेसम्म सुरक्षित छौं । यहाँहरू पनि बाहिरबाट आएकालाई नभेटने, को कहाँ पुगेर कसलाई भेटेर आएको हुन्छ थाह हुन्न छिमेकमा पनि भिड नगर्ने, नभेटने, अत्यावश्यक परे सुरक्षित रहन २ मीटर दूरी क़ायम गरेर बोल्ने, दिनको ६-८ पटक साबुन पानीले हात धुने, हातले नाकमुख अनुहार नछुने, धेरैको हातमा घुम्ने पैसा संक्रमणको प्रमुख कारण बन्न सक्ला किनमेलमा पैसा छोएपछी हात धोऔ, बाहिर हुनेले बैंक कार्ड कंट्याकलेस प्रयोग गरौं ! 

जीवन रहे व्यापार, प्रियजन, सम्पत्ति, सान र सामाजिक प्रतिष्ठाको महत्व होला ? यसर्थ हामीले दैनिक गर्ने हरेक क्रियाकलापमा सुधार गर्नुपर्ने देखियो । 

बेलायतमा कसैलाई रुघाखोकी लागेपनि २ साता छुट्टै बस्न र अरुलाई सार्नबाट जोगिन भनिएको छ । हामी प्रेम भावनामा बगेर टासिन जाने, चेब्रे पार्ने चलन छ। संक्रमितलाई नछोई अल्लगै कोठामा राखेर पनि रेखदेख माया गर्न सकिन्छ (क्वारेन्टाइन ) त्यही हो ! 

चेतनासंगै ईमानदारीता र पवित्र भावनाको पनि आवश्यकता छ । आफुलाई संक्रमण भयो भनेर प्रियजनलाई अरुलाई नसरोस, नहोस भन्ने भावना संक्रमित आफैले मलाई यस्तो भएको छ होस गर्न सहयोग चाहिए बचेर सहयोग गर्न भन्नु पर्ने देखिन्छ । 

यो महामारीको औषधी छैन, दुनियामा अहिलेसम्म कुनै पनि भाइरसको औषधी नभएको प्रतिरोध गर्ने क्षमता बिकासको खोप मात्र रहेको चिकित्सा शास्त्रको जिकीर छ । केवल भाइरसको असर कम गर्नलाई ज्वरो आए सिटामोल, खोकि र घाँटीमा नून, बेसार पानीले कुल्ला गर्ने, रुघा लागे बाफ लिने र संक्रमणसंग लडेर शरीरको रोग निरोधक क्षमताले त्यसलाई ज़ित्ने हो । हामी पनि औषधि आएर ठीक पार्ने हल्लाको पछड़ी नलागौ , नसोचौ ! 

यसको एकमात्र औषधी भनेको जनचेतना हो, आत्मबल हो, दैनिक क्रियाकलाप रहनसहनमा परिवर्तन हो र संक्रमणको संकेत देखिए सेल्फ क्वारेन्टाइन हो भन्ने देखिएको छ ।

क्वारेन्टाइनलाई कतीपयले काजकिरीया संस्कारसंग पनि जोड़ेका छन । काजकिरीयामा रहन सहन कस्टकर हुनेगर्छ क्वारेन्टाइनमा बस्ने भनेको घरमा छुट्टै कोठामा अरुसंग संसर्गमा नआइ बस्ने हो । 

सार्वजनिक स्वास्थ्यकर्मीले साझा भंन्सा बाथरूम हुने ठाऊँमा संक्रमितले शौचालय, बाथरुम अन्तिममा प्रयोग गर्ने गरेर सफा र सेनीटाइज गर्ने उत्तम उपाय सुझाएका छन। 

मेरा एकजना स्वास्थ्यकर्मी मित्र बिनोद बिकास सिमखडाका अनुसार घरमा १ जनालाई संक्रमण भए पुरा परिवार नै क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ कारण संक्रमितमा भाइरस लागेको लक्षण देखा पर्न २ साता लाग्छ त्यो २ सातामा सबै परिवारलाई उसले संक्रमणको भाइरस सारिसकेको हुन्छ । 

एकै परिवारमा श्रीमान संक्रमित हुँदा श्रीमती संक्रमित नभएका घटना छन यानी कसैलाइ भाइरस लागेर पनि लक्षण नदेखिने र संक्रमित नहुने तर अरुलाई सार्ने गुण रहने देखीएको स्वास्थ्यकर्मीहरू बताउछन्। यसर्थ सबै क्वारेन्टाइनमा बस्नु उत्तम उपाय हो । 

सम्पर्कको हिसाबले नेताहरू कोरोना लाग्नु पर्ने हो ? बेलायतका प्रम करोना संक्रमितलाई भेंटन जादा भावनामा डुबेर संक्रमितसंग हात मिलाएको बताएका थिए लगत्तै उनि संक्रमित भए हाल उनी सघन उपचार कक्षमा उपचार गराइ रहेका छन । नेपालमा नेताहरू एकजना पनि संक्रमित भएको देखिदैन यसले उनिहरूको जनतासंग दूरी लामो भएको प्रमाणित गर्छ । 

चीनमा १०० बर्षका पुरुष , १०१ बर्षका ईंटालीयन पुरुष र ७१ बर्षे युवराज चार्ल्स लगायत संक्रमण भएका ९४ प्रतिशतलाई कोरोना लागेर पनि निको भएको छ । मृत्यु हुनेमा अधिकांश ७० बर्ष माथिका स्वास्थ्य समस्या हुनेहरु छन् । 

संक्रमणबाट मृत्यु हुने सम्भावना ५ देखि १ प्रतिशत हुने बेलायतका सरकारी बैज्ञानिकहरुले बताएका छन् उच्च जोखिममा ८० बर्ष माथिकाको चान्स १० प्रतिशत, ७० देखि ८० सम्मकाको ५ प्रतिशत रहेको अहिलेको आकडाले देखाएको छ । 

जोखिमको हिसाबले खेलाची गर्ने अवस्था पनि छैन ।अपवाद भनौ या खतरा १ जना १३ बर्षका स्वास्थ्य बालक , २२ र ३३ बर्षिय स्वस्थ्य महिलाहरूले पनि ज्यान गुमाएका छन । हालसम्म २ जना स्वास्थ्यकर्मी र ५ जना सार्वजनिक यातायातकर्मीको पनि सेवा दिने क्रममा ज्यान गएको छ । 

नेपालमा पनि अनावश्यक व्यक्तिलाई टेस्ट गर्ने या संक्रमणको लक्षण देखिए टेस्ट गर्न जाने अस्पतालमा लाम लागेर अरुलाई पनि संक्रमित गर्ने गर्नुभन्दा आफै घरमा २ साता आइसोलेट भएर बस्ने गरे उत्तम हुने देखियो । 

सीमित अस्पताल र टेस्ट सामाग्री, स्रोत साधनलाई अत्यावश्यक र सीरियस केसलाइ प्राथमिकतामा राखेर प्रभावकारी उपयोग गरे उत्तम हुने देखियो । टेस्ट मात्र गर्न धेरै दवाव नदीएको बेस होला ! 

विश्वभर लकडाउन छ मीडिया, सामाजिक संजाल प्रयोगकर्ता सबैको काम घरमा बसेर लास गन्ने छ । 

दैनिक त त्यसै पनि बिबिध कारणले मृत्यु त भई नै रहेको हुन्छ, यसर्थ मृत्यु मात्र गनेर भयभित हुने कामले अझ त्रसित मात्र बनाउने गर्छ । 

हरेक महीना मौसमी फ्लूले मात्र २४ हजार १६६ जनाको मृत्यु हुने अरु सबै गरेर करीब डेढलाख मानिसप्रति महिना विश्वभर कोरोना नहुदा पनि मृत्यु भईरहेको तथ्य विश्व स्वास्थ्य संघको छ । 

यस्तो बेला संजालमा भ्रमपूर्ण खबरबाट जोगिनु र नकरात्मक खबर मृत्यु भयबाट टाढा बसेर मानसिक स्वास्थ्यकालागी ध्यान दिन, ध्यान तथा सकारात्मक भावना जगाउनु अर्क़ो आवश्यकता रहेको मनोबिज्ञानबिद सुमाया राईको जिकिर छ । 

जनचेतना र सही सूचना नै महामारी र बिपत्तिसंग लडने अचुक हतियार हो यसर्थ संचारकर्मीहरूको भुमिका डाक्टर नर्सहरूको जतिनै रहेको बीबीसी नेपालीसेवाका अनुभवी संचारकर्मी भगीरथ योगी बताउछन । सुरक्षित रहनु होला, आफु पनि बचौ अरुलाइ पनि बचाऊँ । 

(लेखक बेलायतबाट संचालित साउथ एसिया टायमका सम्पादक हुन्। )

ट्विटर : @jaganbimal 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ