arrow

कोरोना पछिको समय : यो कोरोनाको सुरुवातको अन्त्य हो वा अन्तको सुरुवात?

logo
सुन्दर पाण्डे,
प्रकाशित २०७६ चैत २६ बुधबार
corona-virus-awareness.jpg

म, मेरी श्रीमती र हाम्री सानी छोरी अमेरिकाको कुनै कुनामा छौं । मेरो पिता र माता नेपालको कुनै कुनामा हुनुहुन्छ । कारण स्पष्ट छ, धेरै नेपाली जस्तै हामी पनि जिजिबिसाको खोजीमा छरिएका छौ । परिवर्तन हाम्रै जीवनकालमा भन्ने दर्शनले मलाई तान्न त तान्यो तर मेरा लागि त्यहाँ मैले खोजेको परिवर्तन सम्भव थिएन, न त नरसंहारले परिवर्तन सम्भव छ भन्ने नेताबाट शासित हुन सक्थे। यदि तपाईं गरीब भएरै मर्नुभयो भने यो तपाईंको गल्ती हो भन्ने बिल गेट्स दर्शनबाट प्रभावित छु र सुखको खोजीमा यहाँसम्म आएको हुँ । 

नेपाली संस्कारमा हुर्केका हामी यहाँको परिवर्तित लयमा आफ्नो ताल मिलाउने जमर्को गर्दै थियौ । समय मिलेको अवस्थामा पार्कमा जाने, साथीहरुसंग भलाकुसारी गर्ने, सप्ताहन्तमा घरायसी खानेकुरा किन्ने यहाको चलनमा अभ्यस्त भइसकेका हामीहरुको कोरोना भाइरसले अचानक जीवनशैली परिवर्तन गरायो । सप्ताहन्तमा घरायसी खानेकुरा किन्ने भनेको सानी छोरीलाई त्यस पसलमा खेलाउने बहाना पनि हो किनभने फराकिला ठाउँहरु भएकाले हामी किनमेल गर्दै गर्दा बच्चाहरू खेल्न सक्छन् । तर अब समय त्यस्तो रहेन। आज, हामीले किराना सामानहरू अनलाइनबाट खरीद्यौं, कोरोनाको डरले। हामीले आफैंलाई आफ्नो घर भित्र बन्द गर्नु परेको छ । मलाई याद आइरहेको छ आमाले पाल्नु भएको त्यो हाम्रो घरको भैसी कसरी उसको जीवनभर त्यो गोठमा बाधिएर बस्न सक्यो, उसलाई दाम्लोले जीवनभर बाधेर राखे जस्तै यो कोरोनाको डरको दाम्लोले घरमै बाधिनु परेको छ । फरक यति छ उ गोठमा थियो हामी घरमा छौ। 

आज मलाई थाहा छैन मेरो ढोका बाहिर के खतरा छ भनेर। तर अनुभूति गरिरहेको छु एक चकमन्न शान्तिको। कहिलेकाँही टाढा टाढाबाट आउने एम्बुलेन्सको आवाज, आकाशबाट आउने हवाईजहाजको कर्कस स्वरले शून्यतालाई भर्छ। मानिसहरु कता हराए त्यो पनि एकैपटक। सायद कोहि यूट्यूब हेर्दै होलान भने कोहि टिक टक बनाउन व्यस्त छन् भन्ने अनुमान लगाउन गाह्रो छैन। हाम्रो जीवन र जिबिका साँघुरिएको छ। नाङ्गो आखाबाट अद्र्श्य तर हाम्रो स्वास चुँडालिदिने क्षमताको भाइरस साच्चिकै खतरनाक छ, त्यसैबाट बच्ने प्रयास सर्वत्र छ। पहिला साथीहरु बिना बाच्नै नसक्ने हामी अब आफ्नो कोठामा मात्रै साँघुरिन परेको छ, त्यो पनि कहिलेसम्म हो थाहा छैन । हप्ताबाट महिना वा कति लामो समय सम्म हो ठेगान छैन। यो अत्यास लाग्दो एक्लोपन कहिलेसम्म हो थाहा छैन । यो भाइरसलाई नजितेसम्म जनजीविका असहज रहिरहने पक्कापक्की छ । 

म विश्वास गर्छु, यो महामारी बित्नेछ, मानवजाति बाँच्नेछ, हामी मध्ये अधिकांश अझै बाँच्नेछौं। तर हामी एक फरक संसारमा बाँचिरहेका छौं। यो महामारीमा पनि जुन व्यापार चल्न सके तिनीहरु पछि पनि चलिरहने छन्। यो लकडाउनले गर्दा केही वैज्ञानिकहरु नयाँ जीवनोपयोगी कुराहरुको अविस्कार गर्न तल्लिन छन् । कोइ न कोइले यो महामारीपछिको नवदर्शन बोकेर आउनेछ । टेलीकॉन्फरेन्सिंग र रिमोट वर्किंग उपकरणहरू, चिकित्सा आपूर्ति र औषधि, सफाई आपूर्ति गर्ने नयाँ विधिहरूको अति धेरै आविष्कार र विकास हुनेछ । प्रत्यक्ष कन्सर्टहरूको ठाउँमा स्ट्रिमिंग कन्सर्टहरू, पाठ्यक्रममा दुरशिक्षा तर्फ जाने पक्का छ। विकसित देशमा, मानिसहरूले घरबाट काम गर्न थालेका थिए, अब अधिकांशतः कार्यालयको काम घरैबाट गरिनेछ, यस्तो प्रविधिको अझ छिटो विकास र प्रयोग गरिनेछ।

विकासोन्मुख देशहरूले समेत त्यस्ता प्रविधिलाई विस्तृत रूपमा प्रयोग गर्नेछन्। मान्छेहरू सार्बजनिक यातायात प्रयोग गर्न वास्तवमै हिच्किचाउने छन् । धेरै हवाई-उद्योगहरु टाट पल्टने छन् । पानीजहाज, साथै होटलहरू, रिसोर्टहरू र उनीहरूसँग सम्बन्धित लाखौं रोजगारहरू केही समयको लागि धरापमा पर्ने छ। नोवेल कोरोन जस्तै खतरनाक अर्को कुनै भाइरस नभएको कल्पना गर्नु गाह्रोछ । हामी बीच नोवेल कोरोन भन्दा अधिक खतरनाक भाइरस हुन सक्छ । 

अन्धाधुन्ध जंगल फँडानी, ग्लोबल वार्मिंगले गर्दा वन्यजन्तुहरु मासिइरहेका छन्। हामीलाई विगतको महामारीबाट थाहा छ कि तापक्रम, वर्षा र आर्द्रता परिवर्तनले रोगको संक्रामक फैलावटमा गहिरो प्रभाव पार्न सक्छ। उदाहरणका लागि १८७८ को ग्रीष्म ऋतुमा दक्षिणी संयुक्त राज्य अमेरिकालाई पहेंलो ज्वरोको विनाशकारी प्रकोपले पिरोलेको थियो, यो भाइरस रोग अप्रत्यक्ष रूपमा लामखुट्टे एडीज एजिप्टी मार्फत मानिसहरू बीचमा स्थानान्तरण गरेको थियो । करिब १० लाख मानिसहरू यो रोगबाट संक्रमित भए र २० हजार  भन्दा बढी मानिसहरूले आफ्नो जीवन गुमाए। आर्थिक अनुमान अनुसार २ सय मिलियन डलर नोक्सान भएको थियो । 

मौसम परिवर्तनले वन्यजन्तुहरू बासस्थान बदल्न सक्छन्। बढ्दो औद्योगीकरणका कारण बालीनाली, गाईवस्तु र मानवहरूलाई एक अर्काको नजिक ल्याउने छ। जहाँ हानिकारक जीवाणुहरू एक अर्कामा स्थानान्तरण गर्ने उच्च संभावना हुनेछ र एकदिन खतरनाक भाइरस मानवमा सरेर नरसंहार गर्ने धेरै सम्भावना छ। हुनसक्छ, कोरोना भाइरस भर्खरै रंग देखाउँदै छ । हामीलाई थाहा छैन कि यो कोरोनाको सुरुवातको अन्त्य हो वा अन्तको सुरुवात हो। 
ग्लोबल वार्मिंग वा अन्य महामारी जे होस्, हामी राम्रो तयारी गर्नुपर्छ । तर हाम्रो अहिलेको मौजुदा संयन्त्र र पूर्व तयारीले कोरोनाको प्रकोपलाई थेग्न सक्दैन । यदि कोरोनाको महामारीको तयारीका लागि २ सय अरब डलर खर्च गरेको भए, सायद अमेरिकाले राहत प्याकेजमा २ ट्रिलियन डलर खर्च गर्नु पर्दैन थियो। 

कोरोना र नेपाल
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले अत्यन्त सीमित संसाधनको साथ कोरोनाभाइरसको संकट सामना गर्नुपर्ने नेपालको जस्तो अर्थव्यवस्थालाई कोरोनाले असंगत रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ। नेपालको बेरोजगारीदर ४० प्रतिशत छ, हाम्रा धेरै युवाहरूको एक मात्र विकल्प विदेशमा काम खोज्नु हो । उनीहरूले घर पठाउने पैसा नेपालको अर्थव्यवस्थाको मेरुदण्ड बन्न पुगेको छ । जीडीपीको ३० प्रतिशत यी बिदेसिएका कामदारहरूले पठाएको रेमिट्यान्सले धानेको छ।

 कोरोनाको कारण संकटको घडीमा हामी विशेष रूपमा ठूला देशहरुले छनोट गर्ने दुई महत्वपूर्ण विकल्पहरू: राष्ट्रवादी एजेन्डा वा विश्वव्यापी एकतामा निर्भर रहनु पर्नेछ। यदि उनीहरुले राष्ट्रवादी एजेन्डा छनौट गरे र महिनौ महिनाका लागि सबै अन्तर्राष्ट्रिय यात्रा स्थगित गरे भने हामीलाई ठूलो कठिनाइ हुनेछ, र कोरोनाभाइरस विरुद्धको हाम्रो युद्धमा बाधा पुग्नेछ। यसले संकटलाई मात्र लामो पार्दैन की भविष्यमा अझ खराब विपत्तिहरू निम्त्याउनेछ। 

विकसित देशहरू छिटो कोरोना पेन्डिमिकबाट बाहिर आउन आँकलन गर्न सकिन्छ । यदि कोरोना भाइरसको डरको कारण ती देशहरूले नेपालका आप्रवासी कामदारहरूलाई प्रतिबन्ध गरे भने हाम्रो वैकल्पिक योजना के हुनेछ ? यदि प्रत्येक विकसित राष्ट्रले चिकित्सा उपकरणहरू विशेष रूपमा परीक्षण किटहरू र श्वासप्रश्वासको मेशिनहरू उनीहरुका लागि मात्र जम्मा गर्न कोशिस गरे भने हाम्रो स्वास्थ्य अवस्था के हुन्छ? जस्तो संयुक्त राज्यका अमेरिकाका बिभिन्न राज्यहरू एक अर्कासंग चिकित्सा उपकरणहरूको लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

हुनसक्छ मेडिकल उपचारका लागि पनि त्यस्तै प्रतिस्पर्धा नेपालका विभिन्न परदेश सरकार बीच भयो भने के हुन्छ ? यस्तो अवस्थामा हामीले कोविड –१९ को बढ्दै गरेको प्रकोपलाई कसरी न्यूनिकरण गर्ने, हाम्रा नीति निर्माताको ध्यान केन्द्रित हुनु जरुरि छ। कोरोना भाइरस बिरूद्ध खोप विकसित भयो भने पनि विकसित राष्ट्रले त्यसको खपत पहिला गर्नेछन र हाम्रोमा त्यो पुग्न निकै समय लाग्ने छ। हामी आफैसंग खोप विकास गर्ने क्षमता छैन। जतिबेला हामीकोमा कोरोना प्रतिरोधक खोप आउनेछ त्यतिन्जेल धेरै ढिलो भएको हुनेछ, त्यतिबेलासम्म धेरै जनधनको क्षती भइसक्नेछ 

 हामीमध्ये धेरै थोरै मात्र बाँकी रहनेछौं । नेपाल जस्ता देशहरूले रेमिट्यान्स, स्वास्थ्य, बेरोजगारी जस्ता समस्याबाट लामो समयसम्म छुटकारा पाउने छैनन्। माओबादी द्वन्द, त्यसपछिको भूकम्पले तंग्रिदै गरेको नेपाल कसरी समस्या मुक्त हुन्छ ? झट्ट हेर्दा कठिन छ तर असम्भव भने छैन। यसका लागि समस्यासंग लड्ने वैज्ञानिक विधि, दृढ संकल्प र नागरिकको सहकार्य आवश्यक छ।
(पाण्डे अमेरिकामा विद्यावारिधीका शोधार्थी हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ