डोटीमा स्वाब संकलन सुरु, ३०५को स्वाब परिक्षण हुँदै
चक्र कुँवर,
प्रकाशित २०७६ चैत २६ बुधबार
960
Shares
डोटी। जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखिएका व्यक्तिको स्वाब संकलन गर्ने कार्य बुधवारबाट सुरू भएको छ। जिल्लाका नौ वटै स्थानीय तहमा रहेका सबै क्वारेन्टाइनका ३०५ जनाको स्वाब संकलन हुने प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिएका छन्।
भारत लगायत अन्य मुलुकवाट घर फर्केका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाका ६ वटा स्थानमा स्वाब संकलनको कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लास्थित विभिन्न अस्पतालका स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरिरहेका छन्।
स्वाब परिक्षणका लागी आवश्यक गर्ने स्वास्थ्य सामग्री काठमाडौंबाट हेलिकोप्टर मार्फत ल्याइएको छ। स्वाब संकलन गरी काठमाडौं पठाइने र पठाएको दुई, तीन दिन भित्रै रिपोर्ट आइसक्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।
दिपायल सिलगढी नगरपालिकाको राजपुरमा ४८ जना, शिखर नगरपालिकाको धुर्काटमा ४६ जना, शिखर नगरपालिकाकै बानेडुग्रीसैनमा ३० जनाको स्वाब संकलन हुने बताइएको छ। त्यसैगरी आदर्श गाउँपालिकाको मौवादहमा ७३ जना, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीमा ६७ जना र बडिकेदार गाउँपालिकाको बिपीनगरमा ४१ जनाकोपनि स्वाब संकलन हुनेछ । क्वारेन्टाइनमा बस्नेको संख्या चार सय २८ रहेपनि अहिले ३०५ जनाको मात्र स्वाब परीक्षण हुने भएको हो ।