arrow

कोभिड १९सँग लड्ने केजरिवालको फाइभ टी प्लान र हामीले सिक्न सकिने कुरा

logo
ई.सागर श्रेष्ठ,
प्रकाशित २०७६ चैत २७ बिहिबार
engineer-sagar-shrestha.gif

भारतमा २१ दिनको लकडाउन जारी छ। हालसम्म ५ हजार भन्दा बढीको टेस्ट पोजेटिभ देखिएको छ भने १ सय ६० भन्दा बढीको मृत्यु भएको छ। ठूलो संख्यामा टेस्ट गर्ने तयारीमा छ। यो महामारी विरुद्ध लड्न भारतको सबै प्रान्तहरु आ आफ्नै तवरमा लागेको छ। देशको केन्द्रीय राजधानी दिल्ली जहाँ आम आदमी पार्टीको सरकार छ, कोरोना बिरुद्धको लडाईमा अन्य प्रदेश भन्दा तेज गतीका साथ लागि परेको छ। सदा झैँ चर्चामा रहने मुख्य मन्त्री केजरिवाल कोरोनाको कारण झनै चर्चामा छन्। उनले कोरोना बिरुद्धको अभियानमा चालेको कदमको सर्बत्र चर्चा छ। मुख्य मन्त्री केजरिवाल हरेक दिन आफै पत्रकार सम्मेलन मार्फत दिल्लीका बासिन्दालाई सरकार के गर्दै छ भन्ने जानकारी दिइरहेका हुन्छन्। १ करोड ९० लाख जनसंख्या भएको दिल्लीमा प्रत्येक दिन पाँच सय भन्दा बढीको टेस्ट भइरहेको छ। दिल्लीमा करिब ७१ लाख रासन कार्डधारीलाई रासनको व्यवस्था गरेको छ भने रासन कार्ड नहुनेलाई पनि सरकारीस्तरबाट राहत बाडिएको छ। अरुबेला केन्द्रसँग छत्तीसको आँकडामा रहेको दिल्ली सरकार यो पटक सम्वन्ध राम्रो बनाएर सहकार्य गर्दै आएको छ। हालसम्म साँढे पाँच सयमा देखिएको  कोरोना संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

कोभिड १९ को फाइभ टी प्लानः
टेस्टः
यो महामारीसंग लड्न ठूलो संख्यामा टेस्ट गर्न जरुरी छ। एक संक्रमितबाट अर्कोमा सजिलै फैलिने भएकोले चाडो भन्दा चाडो टेस्ट गर्नुपर्ने थप चुनौती पनि उतिकै पर्छ। दिल्लीमा प्रत्येक दिन पाँच सय भन्दा बढी टेस्ट भइरहेको छ। टेस्ट गर्ने कीटको कमीले गर्दा थप जाँच गर्न कठिनाइ भएकोले १ लाखको कीट खरिद गर्दै छ। ठूलो संख्यामा छिटो टेस्ट गर्न सकेमा मात्र यो संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ। चीन पछि दक्षिण कोरिया र जापानले मात्र यसमा सफलता हासिल गरेको छ। अधिक संख्यामा टेस्ट गर्नु नै यो संक्रमणसँग जुध्ने उपाय हो। 

ट्रयाकिङः कोरोना टेस्टमा पोजेटिभ देखिएका जतिको नजिकबाट निगरानी गर्ने, विदेशबाट फर्किएकाको पनि निगरानी गर्ने दिल्ली पुलिस मार्फत यो कार्य गरिदै छ। सरकारले सम्पूर्णको मोबाइल नम्बर उपलब्ध गराएको छ। संक्रमित व्यक्तिले १४ दिनको अबधिमा को को संग भेट्यो, कहाँ गयो सो को सम्पूर्ण जानकारी राखि सम्भावित सबैलाई क्वारेन्टाइनमा बस्न भनेको छ। कसैलाई निजी तवरमा बस्न भनियो भने कसैलाई सरकारीमा राखियो । सबैको कडाईका साथ निगरानी गर्न पुलिसलाई परिचालित गरिएको छ।  सबैको जाचँ सम्भव नभएकोले शंकास्पद जतिलाई सेल्फ आइसोलेसनमा राख्ने, क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ। दिल्ली सरकारले २७ हजार ७सय भन्दा बढी शंकास्पद व्यक्तीको फोन नम्बर पुलिसलाई दिएर कडाईका साथ निगरानी गर्न भनेको छ।| 

ट्रीटमेन्ट(उपचार): कोरोना भाईरस (कोविड १९ ) पोजेटिभ भएको व्यक्तिको उपचार सरकारी अस्पतालमा भैरहेको छ। दिल्लीको एल.एन.जेपी, जीबि पन्त, राजिव गान्धी लगायतका अस्पताललाई कोविड अस्पतालमा रुपान्तरण गरिएको छ। जसको कुल बेड क्षमता तीन हजार रहेको छ। यी अस्पतालमा केवल कोरोना संक्रमितको उपचार हुनेछ। सबै सरकारी अस्पताल अनि निजी क्षेत्रको अस्पताल समेतको लिस्ट सार्बजनिक गरिएको छ। संक्रमितको संख्या बढेसंगै होटेल, धर्मशालाहरु समेत उपयोग गर्न मिल्ने गरी तयारी अवस्तामा रहनको लागि कदम चालिएको छ। अहिले तीन हजारसम्मको उपचार गर्न मिल्ने गरी सम्पूर्ण व्यवस्था गरिएको छ। दिल्ली सरकारले तीस हजार बिमारी सम्मको उपचारको प्रबन्ध हुने गरी आफ्नो योजना बनाएको छ। उपचारको लागि चाहिने पीपीई किट्स, चार सय भेन्टिलेटर, अक्सिजन लगायत सम्पूर्णको प्रबन्ध मिलाएको छ। कोरोना उपचारमा संलग्न डाक्टरहरुलाई पाँच तारे होटलमा राखिएको छ। उपचारमा संलग्न अस्पतालका कर्मचारीको मृत्यु कोरोनाको कारण भएमा एक करोड रुपैया दिने भनिएको छ। यसरी उपचारमा संलग्न सम्पूर्ण कर्मचारीको मनोबल बढाउन कुनै कदम बाकी राखिएको छैन |    

टिमवर्क: यस्तो विपत्तिको बेला समुहमा विश्वास राखी काम गर्न सबैलाई आह्वान गरिएको छ। भाईरसले जात, धर्म नचिन्ने भएका कारण पनि सबै एक ठाउमा उभिएर महामारीसंग लड्नको लागि अपिल गरिएको छ। सत्ता पक्ष र प्रतिपक्षमा नलागी सबै राजनीतिक दलको सहयोगको अपेक्षा गरिएको छ। बिशेष गरी आफ्नै आम आदमीका नेता तथा कार्यकर्ताहरुलाई जु सुकै अवस्थामा पनि बिबाद नगर्न निर्देशन जारी गरिएको छ। उपचारमा संलग्नन मेडिकल टिमलाई कुनै भेदभाव नगरिने प्रत्याभुती दिइएको छ। सबैलाई निश्चिन्त रही आफ्नो कार्य गर्न भनिएको छ। यो महामारीमा प्रत्यक्ष रुपमा संलग्न हुने डाक्टर, नर्स लगायत स्वास्थकर्मी, सामाजिक कार्यकर्ता, मिडियाकर्मी लगाएत सबै जनासंग दिल्ली सरकारले समन्वय गर्दै आएको छ। कहिँ कतै खराबी, गलत भएको छ भने सुचनाको लागि अनुरोध गरिएको छ। 

ट्रयाकिङ र निगरानी: कोरोना भाईरस (कोविड१९) को महामारीसंग लड्न गरिएको सबै कामको निगरानी गर्ने काम मुख्यमन्त्रीको हैसियतले आफुले गर्ने भनेका छने केजरीवालले। प्रत्येक चीज सहि तबरले भए नभएको निगरानी सुक्ष्म रुपले गरिने भनिएको छ।| 

यसरी दिल्ली सरकारले फाइभ टीको प्लान बनाएर कोरोना भाईरस (कोविड १९) संग लड्ने योजना बनाएको छ। त्यै अनुरुप काम पनि भएको मिडियामार्फत देखिन्छ। हामीले पनि यौटा योजना अनुरुप यो महामारीसंग लड्ने रणनीति बनाउने पो हो कि जसको अहिले अभाव खट्किरहेको छ। 

(इन्जिनियर श्रेष्ठ मध्य पश्चिमान्चल बिश्वबिद्यालयका उप प्राध्यापक हुन्।)
er.sagarshrestha@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ