कोभिड–१९ : इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित
एएफपी,
प्रकाशित २०७६ चैत २७ बिहिबार
496
Shares
रोम, इटली। इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ। इटलीमा कोभिड–१९ को सङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको छ, संस्थाका प्रवक्ताले एएफपीलाई बताए।
मृतकमध्ये सेवा निवृत्त चिकित्सक चिकित्सक,जसलाई सरकारले सङ्क्रमणको महामारीमा सघाउन आह्वान गरेको थियो, सहित भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेका छन्। इटलीमा कोभिड–१९ को सङ्क्रमणबाट बिहीबार यो समाचार तयार पार्दा सम्म १७ हजार ६६९ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन्।
“हामीले लामो समयसम्म हाम्रा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोभिड–१९ को महामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौं। त्यसैले हामीले कर्तब्य पालनाका शिलशिलामा धेरै सहकर्मीलाई गुमाउनु परेको हो।” संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले भने, “यो कोरोनाविरूद्धको सङ्घर्षमा हामी चुकेको क्षण हो।”
रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेका अनुमान छ।