arrow

कोरोना चेतनाः ‘हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन्’

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
corona-hand-wash.jpg

जाजरकोट । “केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु हिजोआज  कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् ।”

हिजोआज हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्णरूपमा बन्द भएको छ । कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हुँदै आएको छ । 

खानेकुरा पाउनासाथ हात नधोई हात्तपत्त खानेहरुलाई घरका अन्य सदस्यले हात नधोइ खाएमा छुन र नजिक आएर कुरा गर्न समेत नदिएपछि हात धुनुपर्ने नैतिक दबाब पर्न थालेको छ ।

अहिले जाजरकोट, डोल्पा र रुकुमपश्चिमका सबै ठाउँमा सरसफाइप्रति जागरण नै पैदा भएको छ । गाउँगाउँमा प्रहरी र स्थानीय सरकारको कोरोनाविरोधी गतिविधि व्यापकरूपमा प्रस्तुत भएको देखिन्छ । 

सबै उमेर समूहका सर्वसाधारण कोरोनाबाट जोगिन रेडियो, टेलिभिजन र अनलाइनमा आएका सन्देश र समाचारहरु प्राथमिकतामा दिन थालेका छन् । 

जाजरकोटका गाउँगाउँमा पानीको अभाव देखाएर हातखुट्टा  साबुनपानीले सफा गर्न हिच्किचाउनेहरु आजभोलि सफा भएर मात्र घरभित्र आउने बानीमा रुपान्तरित भएका छन् । 

जाजरकोटको नलगाड नगरपालिका–९ का तुले कामीले भने, “हातखुट्टा नधोई घरभित्र आए साना छोराछोरीले कोरोना लाग्छ भनेर रोइकराइ गरेर नजिकसमेत आउँदैनन्, त्यसैले पनि सरससफाइ अनिवार्यजस्तै भएको छ ।” 

नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले सरसफाइप्रति ध्यान तान्न सबै ठाउँमा साबुन र मास्क वितरणको काम सम्पन्न भइसकेको जानकारी दिए ।

डोल्पाको ठुलीभेरी नगरपालिकाका सूचना अधिकारी दिलु केसीले कोरोना भाइरसबाट जोगिन र जोगाउन गाउँगाउँमा नगरपालिका र प्रहरीको सक्रियामा जनचेतना फैलाएसँगै अधिकांश स्थानीयवासी हात हुने अनुशासनमा बाँधिएको बताए । 

 स्थानीय सरकारका आक्रामक गतिविधि 
जाजरकोट, रुकुमपश्चिम र डोल्पाका स्थानीय तहको कोरोनाबाट जोगिन आक्रामक कार्यक्रम गर्दै आएका छन् । 

जनचेतना जगाउने सबैभन्दा पहिलो तहमा प्रहरी, जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी रहेका छन् । 

स्थानीय सरकारले घरघरमा गएर मास्क वितरणदेखि साबुन उपलब्ध गराउँदै  व्यवहार परिवर्तन गरी लकडाउनलाई सघाउन आग्रह गरिरहेका छन् ।

 प्रत्येक घर बाहिर ड्रममा पानी राखेर हात धुनु सर्वसाधारणको पहिलो काम हुँदै आएको छ । सबै स्थानीय तहले वडास्तरमा विपत प्रतिकार्य समूह गठन गरेका कारण निगरानी बढाउन सजिलो भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।

सामाजिक चेतनाका कामा गर्दै आएका गैह्रसरकारी संस्थाका गतिविधि भने अहिले सुस्ताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ