arrow

सांसद कर्मा घलेले सरकारलाई दिए १० हजार लिटर सेनिटाइजर

उत्पादन गरि बजारमा पठाउनु अघी नै जनहितमा दिएकोमा सांसद घलेको प्रशंसा

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
karma-ghale-sanitaizer-hand.gif

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद कर्मा घलेले सरकारलाई दिने घोषणा गरेको १० हजार लिटर सेनिटाइजरको पहिलो खेप शुक्रवार स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरेका छन्।

घलेको स्वामित्वमा रहेको औषधी उत्पादक कम्पनी सुमी फर्मास्युटीकलले विश्व स्वास्थ्य संगठन र औषधी व्यवस्था विभागले तोकेको मापदण्ड अनुसार उत्पादन गरेको १० हजार लिटर सेनिटाइजरको पहिलो खेप संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई शुक्रवार हस्तान्तरण गरिएको हो।

सुरक्षा ब्राण्डको सेनिटाइजर उत्पादन गरि घलेले पहिलो चरणमा सरकारलाई सहयोग गरेका हुन्। स्वास्थ्य मन्त्रालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई सेनिटाइजरको हस्तान्तरण गरेका हुन्।

सहयोगमा प्राप्त सेनिटाइजर बुझ्दै मन्त्री ढकालले कोरोना संक्रमणका बिरुद्ध सरकारले चलाइरहेको अभियानमा सहयोग र ऐक्यबद्धता जनाउनुभएकोमा सांसद घले तथा सुमी फर्मास्युटीकललाई धन्यवाद दिए। कोरोना बिरुद्धको अभियानमा लड्न सहयोगले ठूलो योगदान पुग्ने मन्त्री ढकालले बताए। उत्पादन गरेर बजारमा पठाउनु अघी नै मानवी हितका लागि सहयोग गरेकोमा पनि सांसद घलेलाई मन्त्री ढकालले धन्यवाद दिए।  

आफ्नो कम्पनीबाट उत्पादित पहिलो खेप नै सरकारलाई हस्तान्तरण गरेको जनाउँदै सांसद घलेले यस्तो महामारीमा व्यापार भन्दा सहयोग पहिला भन्ने भावनाबाट आफूले सेनिटाइजर सरकारलाई हस्तान्तरण गरेको बताए।  उनले आवश्यक परि सरकारले माग गरेको अवस्थामा फेरि पनि सहयोगका लागि तयार रहेको बताए।

औषधी व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि घलेले सोमबारबाट सेनेटाइजर उत्पादन शुरु गरेका थिए। एक मिलिलिटरको एक रुपैयाँ पच्चिस पैसा मूल्य तोकेर विभागले सेनिटाइजरको उत्पादन गर्न अनुमति दिएको थियो। 

सरकारले तोकेको मूल्य अनुसार घलेले १ करोड २५ लाखको सेनिटाइजर सरकारलाई सहयोगस्वरुप दिएका हुन्। औषधी व्यवस्था विभागले एक मिलिलिटरको सेनिटाइजरको मूल्य एक रुपैयाँ पच्चीस पैसा तोकेको छ। 

संघीय सरकारलाई दिने भनेको ३ हजार लिटर सेनिटाइजर मन्त्री ढकाललाई हस्तान्तरण भएको जनाउँदै सुमी फर्मास्युटिकलले प्रदेशहरुलाई एक हजार लिटरका दरले सेनिटाइजर उपलव्ध गराउने प्रक्रिया पनि शुरु भइसकेको हाम्राकुरालाई जानकारी दिएको छ। 

सरकारलाई प्रदान गरिएको सेनिटाइजर अत्यावश्यक सेवाको क्षेत्रमा प्रयोग गर्नेगरि सहमति भएको सांसद घलेले बताए। मनाङबाट प्रतिनिधित्व गर्ने सांसद घलले आफू प्रतिनिधित्व गर्ने प्रदेश भएका कारण गण्डकी प्रदेश सरकारलाई आफू स्वयं उपस्थित भएर घलेले उपलव्ध गराउने योजना बनाएका छन्। 

घलेले सरकारलाई उपलव्ध गराइएको सेनिटाइजर कोरोना उपचार हुने अस्पताल, विभिन्न ठूला सरकारी अस्पताल लगायतका आवश्यक पर्ने ठाउँमा उपयोग हुने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ