कोरोना बिरुद्धको लडाईमा डा. सुनिल शर्माको ३० लाख ३६ हजार सहयोग
कानेपोखरीद्वारा राहत अस्विकार
विवेक मिश्र,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
736
Shares
विराटनगर। नेपाली कांग्रेसका महासमिति सदस्य एवं नोवेल शिक्षण अस्पताल विराटनगरका सञ्चालक डाक्टर सुनील शर्माले मोरङका तीन वटा नगरपालिकालाई नोवेल कोरोना भाइरस विरुद्ध लड्न नगरहरूले गठन गरेको राहत कोषमा ३० लाख ३६ हजार रुपैयाँ सहयोग गरेका छन् ।
बिहीबार बेलबारी नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा वेलवारी नगरपालिकालाई ११ लाख ७५ हजार रुपियाँ, सुन्दरहरैचा नगरपालिकालाई ८ लाख ७५ हजार र पथरीशनिश्चरे नगरपालिकालाई ९ लाख ८६ हजार रुपियाँ सहयोग गरेका हुन् । बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी,सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकाल,पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राईले डा.शर्माको सहयोग चेक लिएका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै डाक्टर शर्माले आफ्ना हजुरबुबा पनि ३९ वर्षको उमेरमा विफरको महामारीबाट बित्नु भएको संस्मरण गर्दै महामारी विरुद्ध लड्न आफ्नो निर्वाचन क्षेत्रका सबै गाउँ तथा नगरपालिकालाई सहयोग गरेको बताए ।
उनले भने-‘यो विपत्तिमा सबैले राजनीति भन्दा उठेर विपद्को सामना गरौं । बाँचियो भने चु्नाव चिन्हको राजनीति फेरि गरौंला ।'
कोभिड १९ कोरोना भाइरस साझा समस्या भएको बताउँदै डाक्टर शर्माले जापानले आक्रमण गर्दा चीनमा परस्पर बिरोधी दलहरू एक भएर जापानलाई पराजित गरेको बताए ।
शर्माले कानेपोखरी गाउँपालिकाले त्यो भन्दा ठूलो बैरभाव प्रस्तुत गरेको उल्लेख गर्दै राजनीतिक दल फरक भएपनि विपत्तिको सामना गर्न दलको घेरा भित्रै खुम्चिएर असम्भव भएको बताए ।
शर्माले देश युद्धमा हुँदा,प्राकृतिक विपत्तिमा हुँदा र महामारीमा हुँदा चुनाब चिन्ह बिर्सिनु पर्ने बताए । उक्त राहत हस्तान्तरणका अवसरमा प्रदेश सांसद शेखरचन्द्र थापा र लोकप्रसाद संग्रौला लगायत कांग्रेस र नेकपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कानेपोखरीद्वारा राहत अस्विकार
बुधबार तीन वटा नगरपालीका र कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र डाक्टर शर्मा बीच सहयोग सम्बन्धमा छलफल भएको र छलफलमा पालिका प्रमुखहरू राहत प्राप्त गर्ने विषयमा सकारात्मक भएपछि बिहीबार सबैलाई पायक पर्ने स्थानमा कार्यक्रम तय गरिएको डाक्टर सुनील शर्माले बताए । बिहीबार पनि बेलबारी र पथरीशनिश्चरेका नगर प्रमुखले पटक पटक फोन गर्दा समेत कानेपोखरीका अध्यक्ष ताराबहादुर काफ्लेले नआउने सूचना दिएपछि निर्धारित समयभन्दा कार्यक्रम ३ घण्टा ढिलो गरी आयोजना गरिएको थियो ।
मलाई नोवेलका प्रतिनिधिले जानकारी गराएको छैन - अध्यक्ष काफ्ले
कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले डाक्टर सुनील शर्मा र उहाँका कुनै प्रतिनिधिले फोनमा सम्पर्क गरेर राहत लिन नबोलाएको बताएका छन् । काफ्लेले भने –‘सहयोग लिन्न भन्ने कुरै छैन । छिमेकी नगरका नगर प्रमुखले गरेको सुचनाको भरमा बेलबारी कुद्ने कुरै भएन ।‘ उनले भने –‘डाक्टर शर्मा र नोवेलका कुनै पनि आधिकारिक ब्यक्तिले सूचना दिएको भए जान सकिने थियो ।‘ बिहीबार नै गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले विज्ञप्ति सार्वजनिक गर्दै नोवेल शिक्षण अस्पतालले सहयोगका लागि सूचना नगरेको जानकारी गराएका छन् ।