- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही। लकडाउनका कारण दैनिक ज्यालादारीमा जीवनयापन चलाउँदै आएका देशभरका श्रमिकहरुका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक अनुसार कम नहुने गरी तत्काल विशेष राहत प्याकेज ल्याउन प्रमुख विपक्षी दल नेपाली कांग्रेस प्रदेश–५ ले माग गरेको छ ।
प्रदेश–५ प्रदेश सभा सदस्य एंव नेपाली कांग्रेस संसदीय दलका कार्यवाहक नेता वीरेन्द्र कुमार कनौडियाले मुख्यमन्त्री शंकर पोखरेललाई शुक्रवार पत्र लेख्दै लकडाउनका कारण देशभरका विपन्नस्तरका नागरिकहरुले काम गर्न नपाएको भन्दै श्रमिक वर्गहरु प्रत्यक्ष मारमा परेको जिकिर गर्दै तत्काल राहत प्याकेज ल्याएर खाना र बस्नको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
कोरोना भाईरसको उच्च जोखिमलाई मध्यनजर गर्दै, सरकारले गरेको लकडाउनको मौका छोपी खाद्य वस्तु र अन्य औषधी जन्य जस्ता सामाग्रीहरुमा वढ्दै गएको मनपरी मूल्य वृद्धिलाई अनुगमन र नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाल्न पनि नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
यस्तै नेपाल–भारत खुल्ला सिमानाबाट हुने आवत जावतलाई पूर्णरुप बन्द गर्न खटाईएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री एवं दूरविनको समेत व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
यस्तै लकडाउनमा सुरक्षित रुपमा घरभित्र बसेका नागरिकहरुलाई कोरोना भाईरसको संक्रमणको कुनै आशंका भएमा घरबाटै सावधानीपूर्वक कोरोना भाईरस (कोभिड १९) को जाँच परिक्षण केन्द्रमा पुर्याउने ब्यवस्था गर्न र ज्वरो आएका विरामीहरुलाई स्वास्थ्य चेकजाँच र भर्ना नगर्ने निजि अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्वाध रुपमा नागरिकहरुको स्वास्थ्य उपचार सेवालाई सुचारु गराउनु पर्नेमा नेपाली कांग्रेस संसदीय दलका कार्यवाहक नेता कनौडियाले जोड दिएको वताए ।
यसैविच नेपाली कांग्रेस प्रदेश–५ ले राहत वितरण कार्यलाई प्रदेश सभामा रहेका विभिन्न दलहरुको सहभागितामा सर्वपक्षिय संयन्त्र मार्फत् व्यवस्थित गर्न प्रदेश सरकारसँग माग गर्दै, राहत वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन सर्वदलीय र सर्वपक्षीय संयन्त्र वनाएर अघि वढ्नुपर्ने वताएको छ ।