arrow

महालक्ष्मीमा ‘थ्रोट स्वाब’ नमूना सङ्कलन

logo
रासस,
प्रकाशित २०७६ चैत २९ शनिबार
throat-swabs.jpg

ललितपुर। महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका मानिसको ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरिएको छ। विश्वभरि माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस परीक्षणका लागि क्वारेन्टाइनमा बसेका मानिसको नमूना सङ्कलन गरी यसबारे सत्यतथ्य जानकारी हासिल गर्न महालक्ष्मीले उक्त काम अघि बढाइएको हो।

नगरवासीमा विदेशबाट आएकाप्रति भएको शङ्काउपशङ्का र त्रास हटाउन ७० जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। उनले भने, “हामीले लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्यचौकीबाट उहाँहरुको स्याब सङ्कलन गरी रियल टाइम पिसीआर प्रविधिद्वारा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका छौँ।” उनीहरुको रिपोट आएपछि नगरवासीमा भएको भय हट्ने श्रेष्ठको भनाइ थियो।
  
महालक्ष्मीलाई ५० थान कम्बल सहयोग
नेपाल रेडक्रस सोसाइटी ललितपुरले महालक्ष्मीलाई ५० थान कम्बल सहयोग गरेको छ। नगरपालिकामा कोरोना भाइरसविरुद्ध लड्ने क्वारेन्टाइन व्यवस्थापनका लागि सोसाइटी ललितपुरका सभापति बाबुराजा महर्जनले शुक्रबार नगरपालिका प्रमुख श्रेष्ठलाई दुई थान पाल, ५० थान कम्बल र दुई थान स्ट्रेचर प्रदान गरे। 

गोदावरीमा रक्तदान 
गोदावरी नगरपालिका–१० मा रक्तदान भएको छ। ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको आयोजनामा यहाँका ४१ जना मानिसले शुक्रबार रक्तदान गरे।

जिल्ला शाखा ललितपुरका अध्यक्ष साधुराम महर्जनले विश्वभरि माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण हाल मुलुकमा भइरहेको बन्दाबन्दीमा बिरामीलाई रगतको अभाव हुन नदिन उक्त कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, “हामीले यहाँबाट ४१ पिन्ट रगत सङ्कलन गरी नेपाल रेडक्रस सोसाइटी भक्तपुरलाई  प्रदान गरेका छौं।”

सामाजिक अभियान्ता तथा कार्यक्रम संयोजक बेवी राजभण्डारीले मुलुकमा त्रास बढिरहेका बेला रगत अभावका कारण कसैको ज्यान जोखिममा नपरोस् भन्ने धारणाका साथ रक्तदान गरिएको भनाइ राखे। उनले भने, “गत शक्रबार नगरपालिका वडा नं २ बाट ३९ पिन्ट रगत सङ्कलन गरी भक्तपुरलाई नै प्रदान गरेका थियौँ।” हालको समयमा अपनाउनुपर्ने सामाजिक दूरीलाई कायम गरी रक्तदान गरिएको राजभण्डारीले जानकारी दिए।
  
कार्यक्रममा नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, १० का वडाध्यक्ष दर्शनकुमार विष्ट, समाजसेवी शेखर न्यौपाने र सामाजिक अभियन्ता मनोहर सिलवाल आदिको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ