arrow

विपद्का साथी स्थानीय सरकार

logo
रासस,
प्रकाशित २०७६ चैत २९ शनिबार
local-government21.png

घोडाघोडी। कैलालीका स्थानीय सरकारहरू कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेका छन्। देश सङ्कटमा परेका बेला स्थानीय सरकारहरू अहिले जिल्लामा भारत तथा विदेशबाट फर्किएकाको लगत सङ्कलन गरी निगरानी कक्ष (क्वारेन्टाइन) मा राख्ने, विपद् व्यवस्थापन कोष स्थापना, विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउने, जनचेतना फैलाउनेलगायत कार्यमा सक्रियता देखाइरहेका छन्।

कैलालीको लम्किचुहा नगरपालिकाले आफ्नो छुट्टै विपद् व्यवस्थापन कोष खडा गरेको नगर प्रमुख महादेव बजगाईँले जानकारी दिए। कोषमा नगरपालिकाबाट २० लाख, जनप्रतिनिधिको सेवा शुल्कबाट ६ लाख, नगरपालिकाका कर्मचारीबाट दुई लाख पचास हजार, शिक्षकबाट ६ लाख र  विभिन्न सङ्घसंस्थाको सहयोग १३ लाख गरी  ४७ लाख पचास हजार जम्मा भएको र सहयोग रकम आउने क्रम जारी रहेको जनाइएको छ। लकडाउनका समयमा मजदूरी गरेर बिहानबेलुकाको छाक टार्ने तीन हजार पाँच सय विपन्न परिवारलाई  खाद्यान्न वितरण गरिसकिएको जनाइएको छ।

लम्किचुहामा एक जना कोरोना सङ्क्रमित भेटिएपछि अझै बढी सतर्कता अपनाइएको र लकडाउनलाई कडा पारिएको नगर प्रमुख बजगाईँको भनाइ छ। नगरपालिकाका ६ ठाउँमा क्वारेन्टाइन सञ्चालन गरिएको छ। क्वारेन्टाइमा अहिले भारतबाट आएका १५० जनालाई राखिएको छ। तीमध्ये ५० जनाको स्वाब परीक्षण भएकामा एक जनामा पोजेटिभ र बाँकीमा नेगेटिभ देखिएको बजगाईँले बताए।

गोदावरी नगरपालिकाले स्थानीयस्तरमा जनचेतना फैलाउने, कीटनाशक औषधि छर्कने, नगरका विपन्न परिवारलाई राहत वितरण गर्ने काम गरिसकेको नगरपालिकाका उपप्रमुख रत्ना कठायतले जानकारी दिए। उपप्रमुख कठायतका अनुसार नगरपालिकाले चार ठाउँमा क्वारेन्टाइन बनाएको र त्यहाँ अहिले ५० जनालाई राखिएको छ। तीमध्ये र्‍यापिड  टेष्ट १९ जनाको गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

नगरपालिकाले एक करोडको  विपद् व्यवस्थापन कोष खडा गरेको छ। नगरपालिकालाई विभिन्न सङ्घसंस्थाबाट प्राप्त खाद्यान्नलगायत सहयोग  जनतामाझ पुर्‍याइएको जनाइएको छ।

बर्दगोरिया गाउँपालिकाले दुई ठाउँमा क्वारेन्टाइन सञ्चालन गरी स्वाथ्यकर्मीको निगरानीमा १५ जनालाई  राखेको अध्यक्ष बलिराम चौधरीले बताए। ११ लाखको विपद् व्यवस्थापन तयारी कोष तथा नगरपालिकाका दुई ठाउँमा क्वारेन्टाइन र एक ठाउँमा  आसोलेशन वार्ड बनाएर रोकथामका लागि गौरिगंगा नगरपालिका जुटिरहेको छ  नगरपालिकाले सञ्चालन गरेका क्वारेन्टाइनमा २५  र आइसोलेशन वार्डमा दुई जनालाई राखिएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिए। नगरपालिकाले अतिविपन्न एक हजार पाँच सय परिवारलाई खाद्यान्न वितरण गरिसकेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ