arrow

नदीजन्य पदार्थको अभावले विमानस्थलको काम ठप्प

logo
रासस,
प्रकाशित २०७६ चैत २९ शनिबार
gautam-buddha-international-airport1.jpg

भैरहवा। राष्ट्रिय गौरवको आयोजना  निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम नदीजन्य पदार्थको अभावले ठप्प भएको छ।  कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले नदीजन्य पदार्थ निकाल्न निर्माण कम्पनीले नपाएपछि काम ठप्प हुने अवस्थामा पुगेको विमानस्थल निर्माण कम्पनीले जनाएको छ। सो विमानस्थलको करीब १० प्रतिशत काम मात्र बाँकी छ।

धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न भइसकेको उक्त विमानस्थलको पेरिमिटरको सडक निर्माण, टर्मिनल र एप्रोनबीचको भाग ढलान र  उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ।

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन् २०२० मार्च ३१ सम्म सम्पन्न हुनुपर्ने अन्तिम म्याद थियो।  आयोजनाका लागि निर्माण कम्पनीका प्रतिनिधि र बुटवल उपमहानगरपालिकाबीच तिनाउबाट बालुवागिट्टी ल्याउने सम्झौता फागुनमा भए पनि बन्दाबन्दीका कारणले रोकिएको विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। उनन्नतीस चिनियाँ प्राविधिक –कामदार र ८० नेपाली कामदार आन्तरिक क्वारेन्टाइनमा बसेर काम अगाडि बढाउन तयार भए पनि नदीजन्य सामग्रीको अभावले कुनै काम नभएको अधिकारीले बताए।

निर्माण कम्पनीले वैशाख र जेठभित्र नदीजन्य वस्तु निकाल्न नपाए विमानस्थल निर्माणको काम थप एक वर्ष लम्बिने अनुमान गरिएको छ। चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो। सो कम्पनीले सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। निर्माण कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ