संखुवासभामा राहतमा लैजान कांग्रेस नेता दिपक खड्कालाई प्रशासनले दिएन अनुमति
पटकपटकको आग्रहलाई प्रमुख जिल्ला अधिकारीले नसुनेको सांसद दिपक खड्काको भनाई
प्रकाशित २०७६ चैत २९ शनिबार
1.5k
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पुर्व राज्यमन्त्री दिपक खड्कालाई गृहजिल्ला संखुवासभामा राहत सामग्री लैजान स्थानीय प्रशासनले रोक लगाएको छ ।
राहत सामग्री लिएर गृह जिल्ला संखुवासभा जान लागेको बेला स्थानीय प्रशासनले निषेध गरेको नेता खड्काले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले स्विकृती दिनुपर्ने भन्दै सत्तारुढ दलको निर्देशनमा राहत सामग्री लैजान अवरोध गरिएको उनले बताए ।
महासंकटको बेला जनताप्रतिको आफ्नो उत्तरदायित्व निर्वाह गर्न खोज्दा पनि राजनीतिक पुर्वाग्रह राखेर जनताको सेवा गर्न नदिनु घृणित र निन्दनीय भएको नेता खड्काले बताए ।
उनले जनतालाई सेवा गर्न अवरोध गर्नेहरुको संखुवासभाली जनताले हिसाब किताब राख्ने चेतावनी पनि दिए।
पूर्व राज्यमन्त्री खड्काले राहत सामग्री लैजानका लागि केही दिनदेखि पटक पटक आग्रह गर्दा पनि प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले स्विकृत नदिएको जानकारी दिए ।
प्रजिअ दुलालले राजनीतिक विवाद हुनसक्ने भन्दै राहत सामग्री लैजान नमिल्ने जवाफ दिने गरेको नेता खड्काले बताए ।
प्रजिअ दुलालले हेलिकोप्टरको बारेमा आफुले अनुमती दिन नसक्ने बताए । तर अन्य दुर्गम र हिमाली जिल्लामा स्वास्थ्य सामग्री र राहत सामग्री लैजान हेलिकप्टर प्रयोगमा छुट दिइएको छ।
पूर्व राज्य मन्त्री खड्काले हेलिकोप्टर मार्फत् १९८ थान पीपीई, ६० लिटर सेनीटाइजर, ६ हजार थान मास्क, १३ सय थान पञ्जा संखुवासभा लैजाने तयारी गरेका थिए ।
विपदको बेला जनतालाई राजनीतिभन्दा माथी उठेर सेवा गर्नु पर्ने तथा सरकारलाई समेत सहयोग हुने गरि व्यक्तिगत रुपमा योगदान दिन खोज्दा अवरोध हुन निन्दनीय भएको भन्दै उनले आक्रोश पोखे ।
उनले कोरोना भाइरसको संक्रमण फैलिन थालेदेखि नै सहयोग र सेवाका कामलाई तिव्र बनाएका छन् ।
नेता खड्काले केन्द्रीय राहत कोषमा पाँच लाख दिएका छन् भने काठमाडौमा रहेका संखुवासभाका बासिन्दालाई कुनै अफ्ट्यारो परेमा सम्पर्क गर्न सार्वजनिक आह्वान गरेका छन्।
समस्यामा परेकाहरुलाई कोठा कोठामा पुगेर सहयोग गर्ने, जिल्लाका धेरै ठाउँमा हात धुनका लागि चोक चोकमा पानी ट्यांकी, सावुन वितरण गर्ने लगायतका कार्य उनले गर्दै आएका छन् ।