arrow

लयमा फर्कियो वीरजन्ज : एकै दिन ३९ करोड राजश्व, यो वर्षको नयाँ रेकर्ड

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
birjung.jpg.jpeg
काठमाडौं । लामो समयसम्म नाकाबन्दीको मारमा परेर राम्रो कमाई गर्न नसकेको नेपाल र भारतबीचको सबैभन्दा ठूलो एवं धेरै कारोबार हुने वीरगञ्ज भन्सारले राजश्व संकलनमा यो वर्षकै नयाँ रेकर्ड कायम गरेको छ । 
 
वीरगञ्ज भन्सारबाट नेपाल आयात हुने वस्तुहरूको मात्रामा बृद्धि भएपछि मंगलबार भन्सार कार्यालयले एकै दिन ३९ करोड बढी राजश्व संकलन गरेर दैनिक रूपमा संकलन हुने राजश्वको नयाँ रेकर्ड कायम गरेको भन्सार कार्यालय वीरगञ्जले जनाएको छ । 
 
गत असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएपछि सोप्रति असन्तुष्टि व्यक्त गर्दै छिमेकी मुलुक भारतले अघोषित रूपमा नाकाबन्दी गरेको थियो । त्यसपछि झण्डै पाँच महिनासम्म वीरगञ्ज भन्सार ठप्पप्रायः रहेको थियो, भने भन्सार आसपासको व्यापार पनि अस्तव्यस्त बनेको थियो । 
 
तर, अहिले सामान्य अवस्थामा फर्किएपछि मंगलबार पेट्रोल ४९ ट्याङ्कर, अर्थात् ८४ किलो लिटर, डिजेल एक सय ४० ट्याङ्कर अर्थात, २३ सय ९०  किलोलिटर, २७ बुलेट अर्थात् ४ सय ७६ मेट्रिक टन ग्यास तथा अन्य दैनिक उपभोग्य बस्तु एवं सवारी साधनहरू भित्रिएको भन्सार कार्यालय वीरगञ्जले जनाएको छ ।
 
कार्यालयका प्रवक्ता लोकराज पन्तका अनुसार यो दिन भारतीय भन्सारबाट अत्यधिक मात्रामा सामान पठाएका कारण राजश्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ‘यो सम्भवतः चालू आर्थिक वर्षको दैनिक संकलन हुने राजश्व मध्ये सबैभन्दा बढी संकलन भएको दिन हुनसक्छ ।’ उनले भने ‘सामान्यतः दैनिक रूपमा २५ देखि २७ करोड रूपैयाँ बराबरको रकम राजश्व वापत संकलन हुने गरेको थियो ।’
 
पन्तका अनुसार अघिल्लो वर्ष पनि एक दिन मात्रै ६८ करोड रूपैयाँ संकलन गरेको भएपनि यो वर्ष त्यति धेरै मात्रामा राजश्व संकलन भएको थिएन । उनले भने ‘यो वर्ष त यति धेरै राजश्व संकलन भएकै छैन । अघिल्लो वर्ष पनि एक दिन मात्रै यति धेरै राजश्व संकलन भएको थियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ