arrow

वडाको कोषलाई ५ लाख दिन सांसद सुयर्माराजको माग

logo
विवेक मिश्र,
प्रकाशित २०७६ चैत २९ शनिबार
suraya-morang-congress.jpg

मोरङ। प्रदेश नं. १ मा नेपाली कांग्रेस संसदीय दलका सचेतक एवं मोरङ ३ (क) का सांसद सुयर्माराज राईले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कानेपोखरी गाउँपालिका, पथरीशनिश्चरे र बेलबारी नगरपालिकाका १४ वटा वडालाई निर्वाचन पूर्वाधार विकास कोषबाट न्युनतम ५ लाख रुपैयाँका दरले  राहत रकम उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन्।

सांसद राईले हाम्राकुरासँग कुरा गर्दै प्रत्येक वडाको संचित कोषमा जम्मा हुनेगरी अधिकतम जति रुपैयाँ घोषणा गरेपनि स्वीकार्ने गरी न्यूनतम ५ लाख रुपैयाँ उपलब्ध गराउन माग गरेका हुन्। राईले सम्पूर्ण सिंगो मानवजाति र सभ्यतामाथि नै कोरोनाको निर्दयी प्रहारले दुख दिइरहेको बेला यसको कहरबाट त्राण पाउन एक भएर लड्नुको विकल्प नरहेको बताए।

नेपालको सन्दर्भमा यसको प्रभाव र असरको यथार्थ तथ्य बाहिर नआइसके पनि कोरोनाको संक्रमण गम्भीर पनि हुनसक्छ भन्ने सत्यलाई भने नजरअन्दाज गर्न नमिल्ने राईले बताए। यस्तो संवेदनशील परिस्थितिमा मोरङ ३ (क) का  दैनिकी सञ्चालन गर्न नसकिरहेका नागरिकका लागि सहयोग पुर्याउने उदेश्यले प्रदेश सरकारसंग औपचारिक प्रस्ताव समेत राखिसकेको राईले बताए। उनले आफ्नो प्रस्तावप्रति सरकारले यथाशीघ्र ठोस निर्णय लिने आशा गरेको उल्लेख गर्दै त्यसले कोरोना र त्यसले जन्माएको भोकमरीको विरुद्ध लड्न सार्थक सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सांसद राईले कोरोनाको कहरले गर्दा किसानले उत्पादन गरेका कुखुरा, दूध, तरकारी, अण्डा आदि कृषिजन्य उत्पादनको  बिक्री हुन नसकिरहेको उल्लेख गर्दै त्यस्ता कृषि उत्पादन बिक्री वितरणका लागि सहज वातावरण बनाई दिन सरकारसँग माग गरे। उनले कोरोनाको संक्रमण रहेको बेला मानो रोपेर मुरी फलाउन खेतमै काम गरिरहेका किसानलाई चैते धानमा हाल्ने रासायनिक मल समेत सहज रुपमा उपलब्ध गराइदिन सरकारसँग माग गरे।

कोरोना कुनै एक  जाति, धर्म, सम्प्रदाय, भूगोल, सिमाना, वर्ग, विचार वा पार्टीप्रति लक्षित संक्रमण नभएकोले यस बिरूद्ध सहकार्य गर्न राईले सबैलाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ