arrow

इन्द्रेणी शुभकामना

logo
प्रमोदहरी गुरागाँई,
प्रकाशित २०७६ चैत ३० आइतबार
pramodhari.jpg

पृथ्वी हाम्रो थियो
हामी मानिस थियौं 
दावा गर्यौ, चेतना अभिबृद्धीको
सिमानाहरु निर्माण गर्यौ
टुक्रायौं पृथ्वीलाई
महादेश, देश..वडा र टोलहरुको कित्तामा

टुक्रे सभ्यता 
प्रवेश गर्यो, मानव चिनारीमा
लिङ्ग, धर्म, वर्ण र वर्गहरुको श्रीपेच लिएर
हामी मानिसहरु
क्रमशः च्यातियौं परिचयहरुमा
कहिल्यै पुगेन हामीलाई
अहँ, पुग्दै पुगेन
मरुभूमीलाई पानीको मोह जस्तै 
त्यसैले त, होड थप्यौ जीवनमा
व्यक्तित्व परिचयको
परिणत हुँदैछौ
हिटलर, मुसोलिनी, ख्रुस्चेब
क्रमशः संस्करणहरुमा

स्मरण गरौं त कसमहरु
मसान घाटबाट फर्किदा
भुइँचालोले डगरतिर बरालिँदा 
प्रजातान्त्रिक, गणतान्त्रिक आन्दोलनमा होमिदा
फेरि, गल्तीहरु दोहोर्याउने छैनौं भनेको

तर अहँ, त्यसैले त
लियोनार्दो दा भिन्चिको
तारिफको सट्टा
प्रतियोगिता चलिरहेछ
मोनालिसाको नाना खोल्ने
अब्बल पुरस्कारको ब्यबस्था सहित
समाजवादको संरक्षण गर्न 
अबैधानिक बोराका बोरा
धनहरुको संचय जस्तै
सिमान्तकृतको अधिकार स्थापनार्थ
बाहुवलिको नेतृत्वमा निकालिएको जुलुस जस्तै

आखिर, कहिले सम्म ?
के पृथ्वी मानिसको मात्रै हो ?
मानिस पृथ्वीको भाइरस हो ?
यदि, होइन भने 
दाबा कायम राख्न 
मानव जीवन उत्कृष्टताको बिम्ब 
स्वीकार गरौं
प्राणी अस्तित्व, प्रकृति र पर्यावरणको
बुझौं इन्द्रेणी सप्तरङ्गी हुन्छ 
र त राम्रो हुन्छ
मनैबाट इन्द्रेणी शुभकामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ