arrow

प्रधानमन्त्रीज्यु, तपाईंलाई कोभिड -१९ को कुन समस्याले रातमा सुत्न दिँदैन ?

'नेताहरूले पनि  कोरोनाभाइरस महामारीबारे  गलत समाचार  फैलाएर  ठूलो गल्ती  गर्न सक्छन्'

logo
सुन्दर पाण्डे,
प्रकाशित २०७७ वैशाख १ सोमबार
coronavirus-nepal.jpg

चराहरू आफ्नो गुँडतिर उडिरहेका छन्। दक्षिणमा आकाश बिस्तारै सुनौलो हुँदै गइरहेको छ, बिस्तारै अँध्यारो हुँदैछ । म सोफामा बसेर  समाचारहरू हेर्दैछु l छिन्नभिन्न कपडाहरू लगाएका भोकै मानिसहरू अझै पनि फूड बैंकले वितरण गरेको खानाको लागि पर्खिरहेका छन् ।

टिभीको अर्को स्क्रिनमा बिल गेट्सले कोभिड -१९ को उपचारको लागि लाखौं डलरहरू चन्दा दिदै गरेको देखाइएको छ । लगत्तै टिभीको पछिल्लो स्क्रिनमा अमेजनको मालिक एकपटक फेरि विश्वको धनी व्यक्ति बन्न पुगेको समाचारहरू प्रेसित गरिएको छ । एकैचोटि यी अमेरिकीहरु किन यति फरक अवस्थामा पुगे म  बुझ्न सकिरहेको छैन l म अवाक छु - कोविड-१९ को एउटा तीरले कसरी तीन फरक परिदृश्य सिर्जना गर्‍यो, तर यो अहिलेको वास्तविकता हो।

अमेरिकाको सेन्ट लुइसको संघीय रिजर्व बैंकले अर्को महिनामा करिब  ४७० लाख अमेरिकीहरू बेरोजगार हुन सक्छन् भन्ने अनुमान गरेको छ l यदि यो आंकडामा फेब्रुअरीमा बेरोजगार भएका मान्छेको संख्या थपियो भने करिब ५२० लाख अमेरिकी बेरोजगार भैसक्ने छन् l यो नेपालको जनसंख्या को लगभग दुई गुणा ठुलो संख्या हो । जुन एक कहाली लाग्दो परिस्तिथि हो l

कोभिड -१९ को महामारी सार्वजनिक स्वास्थ्य र विश्व अर्थतन्त्र दुबैको लागी एक अभूतपूर्व खतरा हुने पक्का छ । एकातर्फ, हालका दिनहरूमा चिनियाँ अधिकारीहरूले आफ्नै देशको भन्दा पनि अन्य देशहरूबाट फर्किने द्वारा "आयात गरिएको"  कोभिड -१९ को नयाँ घटनाहरु रिपोर्ट गरेका छन् भने अर्कोतर्फ युरोप र उत्तर अमेरिकाका केही विज्ञहरू कोभिड -१९ दोस्रो छालको भविष्यवाणी गरिरहेका छन्। यस्तो अवस्थामा कम आय भएको हाम्रो देशले कसरी महामारीको व्यवस्थापन गर्न सक्छ भन्ने प्रश्न अब छलफलको साझा विषय भएको छ।

यो सत्य हो कि धेरै देशहरू चीन र दक्षिण कोरियामा प्रयोग हुने प्रकारको अनलाइन निगरानी उत्तम भनिरहेका छन्। वास्तवमा, अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानकर्ताहरु द्वारा गरिएको एक नयाँ अध्ययन के देखाउछ भने ‘Tracing App” हरुको प्रयोगले   रोगको संक्रमण दरलाई कम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । जनसंख्याको केवल ६० % ले मात्र पनि ‘Tracing App” हरु अपनाए भने रोगको फैलिन बाट नियन्त्रण गर्न सजिलो छ। त्यसैले नागरिक हकको संरक्षण सहितको निगरानी उपकरणहरू नेपालले आफ्नो अनुकूलन प्रयोग गर्न हिचकिचाउनु हुँदैन । यसको लागि बलियो डाटा सुरक्षा, र प्रयोग गरिएको एल्गोरिथ्म (Algorithm)को पारदर्शी निरीक्षणको आवश्यक पर्दछ।

कोभिड -१९ का बिरामीले निमोनियाका लक्षणहरू देखाउने हुनाले नयाँ निमोनिया रोगको लागि अस्पताल र स्थानीय स्वास्थ्य विभागहरू उच्च सतर्कतामा बस्नु पर्ने हुन्छ l विदेशबाट फर्केका सबै यात्रुहरूको, संकास्पद र संक्रमित व्यक्तिहरूको अनिवार्य क्वारेन्टाइनमा सम्झौता गर्न हुन्न ।

भारतसँग हाम्रो ७०० किलोमीटर खुल्ला सीमा छ, यसको कारण संक्रमित व्यक्तिहरु सजिलै सिमाना वारपार जारी राख्न सक्छन्। त्यसैले दुई देशहरू उचित सिमा नियन्त्रणका लागि एक हुनु पर्छ । नेपालले दुई छिमेकी देशसंग सिमानामा कार्यदल गठन गरी संक्रमण सम्बन्धि प्रारम्भिक चेतावनीहरूका जति सक्दो छिटो एक अर्का लाई बताउनु पर्छ ताकि रोगको फैलावट छिटो नियन्त्रण गर्न सकियोस्।

सञ्चार माध्यमबाट कोभिड १९ को लागी सार्वजनिक शिक्षामा ध्यान दिनुपर्छ। रोग रोकथामको लागि सुझावहरू आदान प्रदान गर्नु पर्दछ। यस प्रकोपको पछिल्लो जानकारी यथासक्य चाडो सजिलै आदान प्रदान गर्नु पर्ने हुन्छ।  विशेष गरी यसको संक्रामक दर, रोकथामका  उपायहरु नागरिकहरूको लागि महत्वपूर्ण हुन्छ। यसलाई राम्रोसंग बुझाउन सकियो भने  नागरिकहरु नै सामाजिक दूरी वा स्वयं-अलग भई आफू तथा अर्कालाई बचाउन अग्रसर हुन्छन्।

व्यापक सम्पर्क ट्रेसिंगले तब मात्र कार्य गर्दछ जब व्यक्तिहरूले कोभिड -१९ बारे तत्काल बुझ्दछन् र उनीहरूको आफ्नो यात्रा, सम्पर्कमा आएका र स्वास्थ्यको इमान्दार र विस्तृत खाता प्रदान गर्न इच्छुक हुन्छन्। जसले गर्दा  हामीले कोभिड -१९ का बारे व्यवस्थित जानकारी संकलन गरी ‘केस क्लस्टरहरू’ सकेसम्म चाँडो पहिचान गर्न सकिन्छ जुन महामारी नियन्त्रणको लागि अत्यन्त आवश्यक हुन्छ ।

मानिसहरु कोरोना भाइरसबारे  बुझ्न, अपडेटहरू प्राप्त गर्न, र सुरक्षित रहन के गर्न सकिन्छ  भनेर जानकारीको लागि बढि सामाजिक मिडियामा मोडिरहेका छन। नेपाल सरकारले फेसबुक, ट्विटर वा टिकटोक जस्ता सामाजिक मिडिया प्लेटफर्मको पनि उपयोग गर्नुपर्दछ।

सार्वजनिक स्वास्थ्य संगठनबाट सन्देश पठाउन, र कोरोनाभाइरसको महामारीको बारेमा जानकारी ट्र्याक गर्न यो यो धेरै महत्त्वपूर्ण हुन्छ। सामाजिक दूरी र सेल्फ क्वारेन्टाइनको बारेमा हाल धेरै राम्रा जानकारीहरू  सामाजिक मिडिया बाट पाउन सकिन्छ।

सामाजिक मिडियाबाट सरकार साथै सार्वजनिक स्वास्थ्य अधिकारीहरू र चिकित्सा विशेषज्ञहरू द्वारा मानिसहरूलाई कोभिड -१९ को सबै कुरा भन्नको लागि प्रयोग गर्नु पर्छ । कुन स्वास्थ्य केन्द्र बाट जाँच गर्न सकिन्छ र यदि तपाईको  परीक्षण भैरहेको छ भने के गर्नुपर्दछ,  खोप कहिले आउँछ , उपचार बिधि के हो   लगायत स्वास्थ्य सम्बन्धित सूचनाहरु प्रभावकारी तरिकाले बुझाउनु पर्छ ।

दुर्भाग्यवश कोभिड -१९ जस्तो  प्रकोपको बीच अनलाइनबाट  गलत जानकारी  प्रसार हुने कुरो नयाँ होईन। यसै सम्बन्धि विगतका अमेरिकी राष्ट्रपति ओबामाले भनेका छन कि: नेताहरूले पनि कोरोनाभाइरस महामारीबारे गलत समाचार फैलाएर ठूलो गल्ती गर्न सक्छन्। उनि अगाडी भन्छन “सत्य बोल्नुहोस्। स्पष्टसँग बोल्नुहोस्। करुणाका साथ बोल्नुहोस्। मान्छेहरू के हुँदैछ भनेर समानुभूतिसहित कुरा गर्नुहोस्।  विशेष गरी जब हामी मानिसहरूलाई त्याग गर्न र उनीहरूको प्राकृतिक झुकाव नहुन सक्ने कार्यहरू गर्न आग्रह गरेका हुन्छौ” । यस्ता गलत सूचनाहरू छिटो सच्याउनु पर्दछ l

यो दु: खको कुरा छ कि हामी सधैं धेरै कुरामा अन्य देशसँग आश्रित भयौ अब धेरै उनीहरुसंग निर्भर हुनुहुन्न। स्थानीय अस्पताल, अनुसन्धान संस्थान, र विश्वविद्यालयहरूलाई कोभिड -१९ ट्र्याक गर्न भरपर्दो प्लेटफार्महरू सिर्जना गर्न मद्दत र उत्प्रेरित गर्नु पर्छ l त्यसैगरी हात सेनिटाइजरको उत्पादन बढाउने, कोभिड -१९ रोगका बारेमा विभिन्न महत्वपूर्ण क्लिनिकल खोज प्रकाशित गर्ने, भाइरसको लागि कम लागतमा परीक्षण किटहरू विकास गर्न ढिलो गर्न हुन्न ।

ल्याँनसेट मेडिकल पत्रिका प्रकाशित युयान लिको अनुसन्धानले वुहानमा संक्रमित व्यक्तिको मृत्यु दर ५•०८ % सम्म देखाइएको थियो तर वुहान बाहिर यो ०•९८ % देखाइएको थियो। मृत्युदरमा त्यस्तो फरक भएको कारण प्रत्येक १००० जनसंख्याको लागि वुहानको अस्पतालमा कम बेडको उपलब्धता हुनु पत्ता लागेको छ l यसैले तिनीहरूले वुहानमा एक हप्तामा १,००० र १,५०० सैयका अस्पताल बनाए।  हामी पनि त्यस्तो अवस्थाको लागि तयार हुनुपर्दछ। कोभिड १९ को मृत्युदर जोखिम कम गर्न सरकारहरूले तत्काल स्वास्थ्य सेवा प्रणालीमा पर्याप्त श्रम, संसाधन र सुविधाहरू छन् भनेर सुनिश्चित गर्नु l

हामीले खाना र औषधीहरूको आपूर्ति सुचारु गरिरहनु पर्छ l यो धेरै आवश्यक छ कि हामीले गरिब र असहायहरूका लागि खाना उपलब्ध गराउनु पर्छ। विशेष गरी जब उपचार र खोप कहिले पत्ता लाग्ने हो अनिश्चितता छ l त्यसैले  हामी धेरै लामो समय सम्म घर भित्र रही रहन सक्दैनौं। यस्तो अवस्थामा हामीले हाम्रो निकास रणनीतिको (exit plan) लागि योजना बनाउन  आवश्यक छ । वर्तमानमा परिस्थितिमा एउटा मात्र रणनीति  कोविड १९ को लगातार परीक्षण, संक्रमितलाई अलग गर्ने  र ट्र्याकिंग गर्ने  नै हो।

जागिर खोज्ने सिलसिलामा प्राय अन्तर्वार्ताहरूमा मलाई सोधिन्छ कुन कुराले तपाईंलाई रातमा जगाउँछ वा कुन कुराले तपाईंलाई बिहान सबेरै उठाउँछ? यस्तो स्थितिमा म मेरो उत्तर कस्तो जागिर खान गहिरहेको छु त्यसलाई आधारित गरेर दिन्छु। प्रधानमन्त्रीज्यु कोभिड-१९ को लागी तपाईको एक्जिट(exit) योजना के हो? तपाईंलाई नेपाली जनताको कुन समस्याले रातमा सुत्न दिँदैन ? हामीहरु तपाईंको उत्तरको नभएर कार्यको (action) लागि पर्खिरहेका छौ ।

( पाण्डे अमेरिकामा विद्यावारिदीका शोधार्थी हुन्)



नयाँ