arrow

कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ

logo
यज्ञराज आङदेम्बे,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
watermelon-farming.jpg

दमक। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन्। लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयौं बिघाको उत्पादित खरबुजा बजारसम्म पुर्‍याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ।

गौरीगञ्ज गाउँपालिका–१ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान कैलाश राजवंशीले बताए। पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा एक्कासि यातायात र बजार बन्द हुँदा करिब रु १० लाख बराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको उनको भनाइ छ। उनले भने, “खरबुजा खेती गर्न बैंकबाट चार लाख ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खोला बगरमै कुहिने अवस्था आएको छ।” लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस परिवारको समेत बिल्लीबाठ हुने अवस्था आएको उनको दुःखेसो छ। उनले लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गरे।

लामो समय वैदेशिक रोजगारीमा विदेशको श्रम गरिआएका राजवंशीले विदेशमा गरिने मेहेनत आफ्नै देशमा त्यत्तिकै मेहेनत गर्दा विदेशको भन्दा राम्रो कमाई हुने आसले आयमूलक मौसमी खेती गरि आएका छन्। दुई वर्षदेखि मौसमी खेती गरिआएका उनी लकडाउन अझै थपियो भने बारीका सबै खरबुजा कुहिएर सखाप हुने अवस्था आउने बताउछन्। पाकेर बारी लटरम्म हुँदा अब पनि बेच्न पाउने अवस्था नआए भोकै मर्नुपर्ने अवस्था आउने उनको गुनासो छ।

राजवंशीजस्तै सोही स्थानका ३० भन्दा बढी युवाले खरबुजा र तरबुजाको व्यावसायिक खेती गर्दै आएका छन्। निकै राम्रो कमाइ हुने आसले घर छाडेर खेती गर्न उहाँ मोरङको जहदा गाउँपालिका–७ बाट गत कात्तिकमा नै कन्काई बगरमा आएका हुन्। उनीसँगै जहदाका ३० युवा मिलेर ठूलो परिमाणमा खरबुजा खेती हुँदै आएको छ। खरबुजा बेच्ने समयमा कोरोना भाइरसका कारण लकडाउन भएपछि एकाएक निरास भएका चौधरीले भने, “खरबुजा बिक्री नहुने सम्भावना बढेपछि मेहनत, परिश्रम र लगानी डुब्ला कि भन्ने त्रास बढेको छ।”

प्रतिबिघा रु १० हजार भाडामा लिएर खेती गर्दै आएका किसान चौधरीले यो पटक खरबुजाबाट नाफा त परै जाओस् उल्टै रु १० लाख बढी घाटा हुने सम्भावना देखिएको बताउछन्। कन्काई बगरमा ती युवाले रङ्गियाथानबाट हुलाकी सडक दक्षिणसम्म १०० बिघाभन्दा बढी जग्गामा खरबुजा र तरबुजा खेती गरेका छन्। सोही आसपासमा नै स्थानीय प्रकाश राजवंशी, जगन्नाथ राजवंशी, मनोज चौधरीलगायतले समेत खरबुजा र तरबुजा लगाएका छन्। 

उद्यमी प्रकाश राजवंशीका अनुसार भारतको बिहारबाट मेघना, माधुरी, अगस्ता र आस्ता जातका खरबुजाको बीउ खरिद गरेर पुस महिनामा बिरुवा रोपिएको हो। एक केजी बीउको नेपाली मूल्य रु ४० हजार पर्ने र एक केजी बीउबाट ४५ हजार बिरुवा निस्कने गरेको छ। बगरमा मात्र खेती हुने यस फलको बिक्री गर्ने समयमा भने एक्कासि बन्द हुँदा लाखौँ नोक्सानी हुने उनको पनि गुनासो छ।

गर्मी महिनामा खान उपयुक्त हुने पानीको मात्रा बढी भएको स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने खरबुजा पाकेपछि अन्य क्षेत्रबाट समेत बारीमा नै व्यापारीले खरिद गरी लैजाने गरेका छन्। यहाँका उत्पादित खरबुजा स्थानीय बजारसहित पूर्वका इटहरी, नारायणगढ, गोलबजार, जनकपुर, काठमाडौँसम्म पैठारी गरिआएको उद्यमी राजवंशी बताउछन्। मलपानी राम्रो पुगेमा एउटा खरबुजा २० केजीसम्मको हुने र होलसेलमा प्रतिकेजी रु २० सम्ममा बिक्री हुँदै आएको उनको भनाइ छ।

विदेश त्यागेर स्वदेशमा श्रम गरिआएका मेहनती युवाहरुले गरेको यस्ता आयमूलक कृषिकर्मलाई प्रोत्साहन गर्नुपर्ने गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउछन्। यहाँको खरबुजा स्थानीयस्तरमा खपतले मात्र नसकिने भएकाले अन्य क्षेत्रमा निर्यात गर्न सहयोग गर्न खाँचो रहेको उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ