arrow

डोटीका ३३० जनाको स्वाव रिपोर्ट नेगेटिभ

logo
रासस,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
corona-test.jpg

डोटी। जिल्लाका नौ वटा स्थानीयतहका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। गत चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वारेन्टाइनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाव सङ्कलन गरेर लगेका मध्ये सबैको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले जानकारी दिए। उनले भने, “क्वारेन्टाइनमा सबेकाहरु सबैको स्वाव रिपोर्ट नेगेटिभ आएको छ, रिपोर्ट नेगेटिभ भएपनि सबैले सावधानी चै अपनाउनु पर्ने देखिन्छ।”

उनका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव सङकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौं पठाइएको थियो।

स्वाव सङ्कलनपछि परीक्षण गर्दा सबै जनाको नतिजा नेगेटिभ आएको छ। कोभिड–१९ को रिजल्ट नेगेटिभ आएपछि जिल्लाका नौ वटै स्थानीयतहका क्वारेन्टाइनमा रहेका ३३० जनालाई आजै घर पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए। उनले भने, “क्वारेन्टाइनमा बसेकाको स्वाव परीक्षणपछि नतिजा नेगेटिभ आएको छ,घरैमा सुरक्षित बस्ने सर्त सहित उनलाइ विदाइ गरिएको छ।”

कैलालीको लम्की चुहा नगरपालिका एक की एक महिलामा कोभिड १९ सङक्रमण पुष्टि भएको छ। ६० वर्षीया निज महिलामा कोरोना सङक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी रहेको छ । वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उहाँ १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टाइनमा बस्नु भएको थियो। १७ दिन क्वरेण्टाइनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उहाँलाई घर पठाइएको थियो।

तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ। वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी कैलालीकी ६० वर्षीया महिलामा कोरोना भाइरसको सङक्रमण भएको पुष्टि भएको हो । सुदूरपश्चिममा कोभिड–१९ को सङक्रमणका बिरामीको सङख्या ५ जना पुगेको छ।

यसअधि कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुइजना, एकजना तेस्रो मुलुकबाट आएका र निज तेस्रो मुलकबाट आएका व्यक्तिबाट भाउजुमा कोरोना सरेका कारण चार जनामा कोभिड–१९ को सङक्रमण भएको पुष्टि भएको थियो।

कोरोना संक्रमण भएकाहरुको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सुधारोन्मुख रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ। 
कोभिड–१९ को सङ्क्रमणका बिरामी थपिदै जानथालेपछि सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको संकेत देखिदै आएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले बताए। उनले भने, “सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको छ, सबैले सावधानि अपनाउनु पर्ने बेला आएको छ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ