- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुली। जिल्लामा फलफूल, माछा–मासु र तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ। सिन्धुली जिल्लालाई कोरोना भाइरसको उच्च जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्ध लगाइएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आज भएको सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार तराईलगायत अन्य जिल्लाबाट आयात फलफूल, माछामासु, अण्डा, कुखुरा, चल्ला र हरियो तरकारी ढुवानीमा एक साताका लागि प्रतिबन्ध लगाइएको छ।
उक्त बैठकले जिल्लामा हाल सञ्चालन भएका अत्यावश्य सेवाका पसल दूध, फलफूल, तरकारी तथा खाद्य सामग्रीका पसल सञ्चालनको समयसीमा घटाएको छ। उक्त पसल दिनमा एक पटक मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। “त्यस्ता पसल सञ्चालकले हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने छन्”, उनले भने।
आज भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकका निर्णय आज राति १२ बजेदेखि वैशाख ९ गते राति १२ बजेसम्म लागू हुने भएकाले बाहिरी जिल्लाबाट यस जिल्लाको प्रयोजनको लागि उल्लेखित सामग्रीको ओसारपसार नगर्न र जिल्लाका खाद्यान्न पसल तोकिएको समयमा मात्र सञ्चालन गर्न आग्रह गरेको छ।