- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अघिल्लो दिन (चैत्र ३०) एकैपटक विभिन्न ठाउँमा कोरोनाका ५ जना संक्रमित भटिए । त्यसैदिन अरु तीनजनाको पनि संक्रमण प्रकट भयो एकतहको परीक्षणबाट, भोलीपल्ट त पुष्टीनै भयोे । पछिल्लो समय देशका लागि कोरोनाको भयावहतालाइ प्रकट गर्ने यो दुखद घटना नै थियो । तर यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यही दिन (चैत्र ३०) बेलुका ‘जो जहाँ छौ त्यहीँ उभिएर गीत गाउ ताली बजाउ’ भनेर उर्दी जारी गरे ।
जस्तौसुके र जहाँसुकै होस गीत गाउने र ताली बजाउने काम खुशीमा मात्रै हुन्छ । शोक गीत हो भने अलग हो तर ताली त त्यस्तो बेला बज्दै बज्दैन, भलै, यस्ता उर्दीकर्ता जतिसुकै शक्तिशाली किन नहुन् ।
त्यसै पनि ताली बजाउन भनिएको यो लकडाउनको २० औं दिन थियो कष्टपूर्ण जीवनको तीनहप्ता । यसको केही अघिमात्रै राष्ट्रपति र प्रधानमन्त्रीले कोरोनालाई विस्तार हुन नदिएर ठूलो विजय हासिल गरेका भनी यस अघिनै वताइ सकेका थिए । तर यता एकैदिन संक्रमणका घटना ८–१० वटाका दरले प्रकट हुनथालेको अवस्था थियो यो । लक्षण छैन तर संक्रमण छ । चिकित्सकहरुका अनुसार पनि यो धेरै नै भयावह अवस्था हो । यस्तो बेला कसले गीत गाउने, कसले ताली बजाउने !
यो आह्वान पनि प्रधानमन्त्रीको आफनो उत्पादन थिएन । उनी कसैको खेताला भएका थिए । प्रधानमन्त्रीका मुखबाट बोलिएको यो आह्वान एउटा आइएन्जीओको विज्ञापन थियो जो प्रधानमन्त्रीका नाममा नेपाली नागरिक माथि प्रयोग हुँदै थियो ।
प्रधानमन्त्रीले त्यसदिन साँझ एउटा गैरसरकारी संस्थाको अनुरोध रहेको पोस्टरसहित यस्तो ट्वीट गरे– ‘राष्ट्रिय गान गाऔं र राष्ट्रिय धुन बजाऔं’ ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’ त्यसपछिको अर्को व्यहोरामा ‘साथै राष्ट्रिय गान बजाइसकेपछि सबैलाई ताली बजाउन पनि अपिल’ भनियो ।
प्रतिकृयाको थुप्रो
प्रधानमन्त्रीले त अपिल गरे, सकियो । नागरिकको प्रतिकृया एक प्रकारको डरलाग्दै आयो । एउटा गैरसरकारी संस्थाको अपिल वा लोगोलाई प्रधानमन्त्रीले किन यसरी प्रचार गरिरहेका छन् र महामारी नियन्त्रणका लागि आवश्यक कदम नचालेर यस्ता कुरामा किन अल्झिरहेका छन् भन्ने प्रतिकृया नै आए जताततैबाट सामाजिक सञ्जालका भित्तामा अंकित भए ।
पूर्वसचिव कृष्ण ज्ञवालीको पोष्टमा ‘आग्रह नराम्रो त होइन, तर राष्ट्रिय गान सत्तासीनको आग्रहले भन्दा पनि स्वःस्फूत श्रद्धाको वशीभूत भएर गाउने हो । महामारीको रोकथाम, उपचार र तज्जन्य परिस्थितिको व्यवस्थापनमा यस्तो भावनास्त्रको प्रयोग नगरेकै वेस, यसले नागरिकमा कुनै पत्यारिलो र दिगो आधार प्रदान गर्दैन । भन्ने अंकित भयो।‘
मानवशास्त्री सुरेश ढकालले लेखे ‘यो ताली बजाउने, शंख फुक्ने, घन्टी ठोक्ने, दियो बाल्ने, राष्ट्रिय गान गाउने आदिसँग कुनै अनुराग नभएको म कतै बैरागी त भाको होइन ? क्या निरस जिन्दगी बाचिँदै छ भने नि !’
लेखक तथा राजनीतिक कर्मी ब्रबिम कुमार ‘मजदुरः सरकार ! घर फर्कन पाऊँ, खान पाउँ । नाकामा अड्केका नेपालीः सुरक्षित घर फर्कन पाउँ । स्वास्थ्यकर्मीः गुणस्तरीय पिपिइ पाउँ । बिरामीः उपचार पाउँ । पत्रकारः स्वास्थ्य सामाग्री किन्दा घोटालाको खुलस्त जानकारी पाउँ । सबैः टेष्ट टेष्ट टेष्ट । सरकारः आउनुहोस, राष्ट्रिय गान गाऔं !’
पत्रकार अक्षर काका ‘प्रिय भोकले भोक मेटाउँदै सयौं कोश छिचोलिरहेका निमुखा पाइला ! भोलि बिहान एकबाँस घाम आएपछि चिसो सडकको किनारमा टक्क अडिनू, भक्कानोलाई घाँटीमै दबाएर राष्ट्रिय गान गाउनू ! अनि आँसुलाई आँखामै अड्याएर खाली खुट्टै नापिरहनु जीवनको काँडेदार बाटो ! देश बनाउनेको चित्कार आदेश बनाउनेले कहिल्यै बुझ्दैनन् !’
लेखक नरेन्द्रजंग पिटर ‘म तिम्रो हुकुममा ताली बजाउन्नँ, थाली ठोक्दिनँ, अझ दीपावली त गर्दै गर्दिनँ । राष्ट्रियगानप्रति उच्च संमान छ, तर तिम्रो हुकुममा म गाउन सक्दिनँ, लेख्न सक्दिनँ । तिमी कपी गर्दा रहेछौ, स्वयं तिमी सिर्जनात्मक सोच र दूरगामी योजनाकार भने रहेनछौ ।’
लेखक केशव दाहाल ‘राष्ट्रिय गीतप्रति सम्मान छ । तर जनतालाई उत्प्रेरित गर्ने तरिका यो होइन । बरु यस्तो होस, बिहानै पीएमको सम्बोधन आओस् । प्रतिज्ञा सुन्न पाइयोस भ्रष्टलाई जेल, संसद् विकाश कोष खारेजी, प्रभाकारी राहत, शिक्षा, स्वास्थ निःशुल्क । सम्पूर्ण सामाजिक सुरक्षाको प्रत्याभूति । जनमन आफै हाँस्ने छ ।’
जनमतले मानेन
प्रधानमन्त्री ओलीले चैत्र २५ को आफनो सम्वोधनमा कोरोनाको नाममा बस्तु खरिद गर्दा उनकै वरीपरीकाहरुबाट ठूलो भ्रष्टाचार भएको भनी विवरण सहित प्रस्तुत भएकाहरुलाई बेमौसमको बाजा बजाउनेहरु भनेर हियाइएका थिए । त्यसको पाँचौ दिन उनले गरेको गीतगाउने र ताली बजाउने आह्वाननै बढी बेमौसमको भएछ । उनको यो आह्वानलाइ सरकारी बाहेक कसैले मानेको देखिएन ।
त्यो आह्वानमा सबै नागरिकले परिवार सहित आफनो वा भाडामा बसेको घरको छत वा वार्दलीमा गएर गीत गाउनू ताली बजाउनू भनेका थिए । तर यसप्रति जिज्ञासा राख्नेहरुका अनुसार उनका आँखाले देखेसम्म त्यस्तो कतै भएन अर्थात अधिकांश गीतगाउन त्यसदिनको त्यस घडीमा छतमा गएनन। माध्यमहरुका रिपोर्ट पनि यस्तै आए –प्रधानमन्त्रीको आह्वानमा प्रहरी, सरकारी कर्मचारीको साथ, तर देखिएनन् जनता !
‘नयाँ वर्ष २०७७ को अवसरमा ग्लोबल कम्प्याक्ट नेपाल नामक संस्थाले सबैतिर ‘राष्ट्रिय गान गुन्जाउँ र बजाउँ’ कार्यक्रम आयोजना गर्यो। एक सस्थाले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुन सबैलाई आह्वान गरे कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने उल्लेख गरिएको थियो । फ्रन्टलाइनमा कोरोनाविरुद्ध काम गर्नेको हौसला बढाउन रास्ट्रिय गान गाउने र धुन बजाउने कार्यक्रम थियो । तर सोमबार बिहान भने सर्वसाधरणले भने खासै सहभागी भएको देखिएन । तर सडकमा खटिएका सुरक्षाकर्मीले भने राष्ट्रिय गान गाएका थिए । यस्तै दृश्य महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि देखियो । महाशाखाको कार्यालयमा लाइनबद्ध भएर उनीहरुले हातमा नेपालको झन्डा लिएर राष्ट्रिय गान गाएका थिए । ४४ वटा ट्राफिक कार्यालयमा राष्ट्रिय गान गाइएको थियो। केही सरकारी कार्यालय, कर्मचारीले भने प्रधानमन्त्रीको आह्वानमा साथ दिएका थिए । प्रत्रकार महासंघमा पनि राष्ट्रिय गीत गाइएको थियो (पहिलोपोस्ट) ।
राष्ट्रपति प्रधानमन्त्री प्रशंसाको आलोपालो
गएको एकडेढ हप्ता (चैत्र २१ बैशाख १) भित्र कोरोनाको शंक्तिबाट शासन गर्ने भन्ने भावभंगिमा बुझाउने खालका चारवटा सन्देशहरु आए सरकारी तर्फबाट । ती सबै एकलौटी थिए अर्थात नागरिकका तर्फबाट आएका प्रतिकृया नसुनिने खालका । जनताले मानेपनि नमानेपनि एकातर्फी रुपले कोरोनाको यो कहरका वरीपरी सत्ता अभ्यास भैरहेको हो कि भन्ने सुक्ष्म तर बुझिने नै गरी ।
चैत्र २१ मा राष्ट्रपतिबाट, चैत्र २५, ३० र बैशाख १ मा प्रधानमन्त्रीबाट देशवासीका नाममा सन्देश दिइए । तिनलाई आह्वान वा सम्वोधन जे भनिएपनि होला । ती मध्ये सानोठूलो जस्तो होस् चैत्र ३० को प्रधानमन्त्रीको त्यो आह्वानमा भने जनताले मतप्रकट गरे त्यहा भनिएको कुरामा पूर्ण इन्कारी जनाउँदै । यसको प्रकृति पनि त्यस्तै थियो अर्थात मत प्रकट हुनेखालको र भयोपनि त्यस्तै । त्यसको उदाहरण माथि उल्लेख भई सकेकोछ । बाँकी सम्वोधनहरुले कोरोनालाई सरकारले आफनो शासनको कवच बनाएको तर्फनै बुझ्न बाध्य बनाएको पाइयो । त्यसमा नागरिकका दुःखकस्ट र गुनासोका कतै सम्वोधन भएनन् । लगातार तीनवटा सम्वोधन हुँदापनि अवस्था त्यही रह्यो ।
मिलेमतो कस्तोसम्म देखियो भने राष्ट्रपतिले सरकारको प्रशंसा गर्ने र सरकारले राष्ट्रपतिको । यता यस्तो प्रशंसा समय, सन्दर्भ र विषय कसैबाट जोडिदैन थिए । जस्तो कोरोना विस्तार हुनबाट रोक्न सरकार पूर्णरुपले सफल भयो भनि राट्रिपतिले भन्ने र प्रधानमन्त्रीको पालो आएपछि राष्ट्रपतिले महत्वपूर्ण भूमिका खेलेको भन्ने आदि । शव्द भिन्न होला कुरा उही हो ।
राष्ट्रपतिका भनाइ
देशमा कार्यकारी प्रमुख थिए प्रधानमन्त्री जसले यो लकडाउनको आह्वान गरका थिए । उनी लामो समय, दोस्रो म्याद थपेपछि पनि मौन बसे र कोरोनाका बारे सम्बोधन लिएर आइन् राष्ट्रपति विद्यादेवी भण्डारी । कोरोनाका बारे उनले एउटा सानो ठाउँमा सरकारको कतिठाउँमा प्रशंसा गरिन भन्ने हेरौं –
‘अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन । बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको अवस्था हो । सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन गयो र फैलन पाएन । हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु । जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको छ । यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवीहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ । यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणा समेत गरिसकेको छ ।’
राष्ट्रपतिको यो भनाइमा कार्यकारी प्रमुखले भन्दाबढी नै हुनेगरी सर्वसाधारणलाइ गुमराहमा राख्न खोजिएको छ । जस्तो ‘सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन गयो र फैलन पाएन’ होइन यथार्थमा सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी नभएकाले नै यो सीमित रहन पाएन र फैलन गयो । सरकारको यो अकर्याण्यताको परिणाम कस्तो आउँछ भन्ने दिनैपिच्छे नै हुनेगरी डरलाग्दो चित्र प्रकट भईनै रहेका छन् राष्ट्रपतिको यो सम्वोधनको लगत्तै पछि जो सरकाको यसअघिको लापरवाहीका कारण उव्जिएको हो भन्ने स्वयम सरकारलाइ पनि थाह होला ।
‘हामीले जोगाइदियौं जीवन’–प्रधानमन्त्री
लकडाउनको १५ औं दिन, २५ चैत्रमा प्रधानमन्त्री लामोसमय अर्थात पुराका पुरा १५ दिनपछि यसरी प्रकाट भए देशवासी सामू –
‘यस महामारी विरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको छ ।’
यो एउटै वाक्यले नै बुझाउँछ प्रधानमन्त्री ओली आफूलाई कोरोनाका विजयीपात्र ठान्छन् र नेपाली जनताका लागि त भगावन भन्दापनि ठूला अर्थात कैयौंका जीवन जोगाइदिने पात्र आफनोपरिचय गराइयोस् भन्ने चाहन्छन् ।
‘सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले’ भन्दै राष्ट्रपतिले यो रुपमा फुलाइदिएपछि त्यसको चौथो दिन आफुले अपनाएको नीतिकै कारण कोरोनासंग विजय नै पाइएको भन्ने घोषणा लिएर प्रकटभएका प्रधानमन्त्रीले देशवासीका नाममा जे भने त्यो आफैमा कोरोनाले आफनो शासनलाइ सजिलो बनाइदिएको भन्ने बुझाउने खालको थियो ।
यही सम्वोधनमा नेपाली सारालाई सत्ताको धम्कीका भाषामा भने – तिमीहरुलाई जीवन चाहिन्छ कि स्वतन्त्रता ? एउटा रोज ।
यसको आसय हो यी दुइकुरा उनीसंगमात्र छन र उनी आफै चाहिँ एकैपटक यी दुबै दिन चाहँदैनन । यस्तो चाहनाको पृष्ठभूमिमा कोरोनाको कवच नै हुनुपर्छ भन्ने टिप्पणी आएछन । सान्दर्भिक असान्दर्भिक समेत लाग्ने त्यो सम्वोधनका केही अंश:
‘...जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु ।
..विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरु मार्फत जानकारी लिनु भएको छ ।
गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आफ्नै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।
सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका काम-कारवाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ।
समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।
व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरु छलफल र कामहरु त स्थिति सामान्य बनेपछि गरौँला नै !
यस महामारी विरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको छ । आउने केही हप्ता हामीले अलिकति साह्रो-गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ ।‘
नयाँ वर्षको पनि उस्तै
प्रधानमन्त्रीको नयाँ वर्ष २०७७ को शुभकामना सन्देशमा पनि एउटा कुरो दोहोरियो १४ वर्ष कष्टपूर्ण जेल बसेको भन्ने । नयाँ वर्ष २०७७ को शुभकामना सम्वोधनमा अर्को पनि कुरा आयो । २१ मिनेट लामो त्यो भिडियो सन्देशमा प्रधानमन्त्रीले जनतासामु ठट्टा गरेका भनी सञ्चार माध्यमहरुले सम्पादीकयनै लेखे र भने –जनता ‘लकडाउन’ का कारण भित्रै थन्किएका बेला यी अविश्वसनीय दाबी कति सान्दर्भिक र उचित थिए, त्यसको लेखाजोखा होस ।
त्यो सन्देशमा उनले सुनाएको पलिे नै झुठ मानिएको र यतिबेला कल्पनाको भनिएको एउटा अंश: ‘मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको २ वर्ष वितेको छ । तपाई हामी सबैलाई थाहा छ, विगत दुई बर्षको प्रगति उत्साहजनक रहेको थियो । यदि यस महामारीको चपेटामा नेपाल नपरेको भए आज हामी, विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौँ। विगतका उपलब्धिहरूको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौँ। स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौं। खनिज पदार्थको उत्खनन् कार्यलाई तीब्रता दिने तयारी गरिरहेका हुने थियौँ ।
यतिबेला नेपाल भ्रमण वर्ष, २०२० को उल्लास फैलिरहेको हुने थियो। वर्षभरि २० लाखभन्दा बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अभियानका रुपमा होमस्टे, होटल र रेष्टुराँहरु भरिभराउ हुने थिए। शहर–बजार, ट्रेकिङ स्थल र पर्वतारोहणका गन्तव्यहरुमा पर्यटक र पर्वातारोहीहरुको चहलपहल व्यापक हुने थियो ।
समग्रमा विगतमा हामीले गरेका वाचाहरु, तिनको प्रगति र अब गरिने कामका योजनाबारे मैले यतिखेर देशवासीका सामू आफ्नो विश्लेषण राखिरहेको हुने थिएँ ।...’
यो सन्देशमा पनि भनियो ‘अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृत्यु नहुनुलाई हाम्रा प्रयासको सफलताको रुपमा लिन सकिन्छ ।’
यता अवस्था कस्तो छ भन्ने चाहि दिनैपिच्छे आइरहेका विवरणहरु जोडौं ।