कोरोना प्रभाव: रुपन्देहीमा गर्भवती एंव नवजात शिशुमा लगाईने खोप सेवा प्रभावित
नारायण वली,
प्रकाशित २०७७ वैशाख ३ बुधबार
967
Shares
रुपन्देही । कोरोना भाईरस (कोभिड–१९) का कारण पछिल्लो समय महामारी प्रकोप लिन थालेपछि रुपन्देहीमा गर्भवती र वच्चालाई लगाईने सबै प्रकारका खोपहरु प्रभावित वन्न पुगेका छन् । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) थप फैलिन सक्ने भन्दै सरकारले गत चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि रुपन्देहीमा सम्पुर्ण खोपका कार्यक्रमहरु प्रभावित वन्न पुगेको जिल्ला जनस्वास्थ कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले वताएका छन् ।
जनस्वास्थ कार्यालय रुपन्देहीका प्रमुख डा.गिरीका अनुसार खोप कार्यक्रम सञ्चालन गर्दा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन सक्ने भन्दै सरकारले वन्द गर्नुपर्ने निर्देशन जारी गरेपछि जिल्लामा त्यस्ता कुनैपनि खोप लगाउने कार्यक्रमहरु लकडाउन अवधिभर पुर्णरुपमा वन्द गर्नु परेको वताए ।
गर्भवति र नवजात शिशुलाई नियमित लगाउनु पर्ने विभिन्न खोपहरु एक महिनापछि लगाउँदा त्यती धेरै असर नपर्ने जनस्वास्थ्य कार्यालयका प्रमुख डा. गिरीले लकडाउन अवस्था खुलेपछि सञ्चालन हुने खोप अनिवार्य रुपमा लगाउनु पर्ने उनको भनाई रहेको छ ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार गत चैत महिनामा लगाईने खोपहरु बिसिजी, पोलियो, निमोनिया, दादुरा र पेन्टाभाएल रोग लगायतका विरुद्ध लगाइने खोपहरु प्रभावित वन्न पुगेको जनाएको छ ।