स्वास्थ्यकर्मीले नै गरे कोरोना संक्रमण सुरक्षार्थ सहयोग
सीता डोटेल,
प्रकाशित २०७७ वैशाख ३ बुधबार
561
Shares
पाल्पा । पाल्पा जिल्लाको पुर्व भेगमा संगठित पूर्वी पाल्पा औषधी व्यवसायी संघले कोरोना संक्रमणको जोखिममा काम गर्दै आएकाहरुलाई सुरक्षार्थ स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
संघले कोरोना रोकथामका लागि खटिने रामपुर नगरपालिका, इलाका प्रशासन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई सामाग्री सहयोग गरेको हो । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट बचाउन लकडाउनका जारी रहदा जोखिम मोल्दै सेवामा खटिने कार्यालय तथा समुदायको खबर संकलनमा तत्पर रहने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको पुर्वीपाल्पा औषधी व्यवसायी संघका अध्यक्ष निरोज श्रेष्ठ (राजकुमार)ले बताए ।
रामपुर नगरपालिकाले सहयोग सामाग्री एकद्वार प्रणालीबाट बितरण गर्ने नीति लिए अनुरुप संघले ५० हजार बराबरको सो स्वास्थ्य सामाग्री नगरप्रमुख रमण बहादुर थापालाई हस्तान्तरण गरेको हो ।
संघले ६ बक्स माक्स, ७ बक्स ग्लोब्स, ६० वटा सेनिटाईजर प्रदान गरेको छ । अध्यक्ष श्रेष्ठले विषम परिस्थितिमा पनि अग्रभागमा रहेर जनताको सेवामा खटिएका जनप्रतिनीधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई हौसला प्रदान गर्न सामाग्री हस्तान्तरण गरिएको बताए ।
उनले रामपुर क्षेत्रका औषधी व्यवसायीहरुले अत्यावश्यक सेवा २४ सै घण्टा र दैनिक १० बजेदेखि ४ बजे सम्म नियमित सेवा दिदै आएको जानकारी दिए ।
संघका सल्लाहाकार अमृत काफ्लेले कोरोना विरुद्धको अभियानमा संघले गरेका प्रयास बारे जानकारी दिदै एकद्वार प्रणालीलाई आत्मसात गरेर नगरपालिका मार्फत सहयोग गरेको बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्यकर्मीहरु अझ जोखिममा रहेको भन्दै सेवा प्रवाहमा विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको थियो। उनले प्राप्त सामाग्री सम्बधित सस्थालाई बितरण गरे । कार्यक्रमको सञ्चालन पूर्वी पाल्पा औषधी व्यवसायी संघका कोषाध्यक्ष ईश्वरी बिसीले गरेका थिए।