arrow

बागलुङमा कोरोनाका पाँचौँ र छैटौँ संक्रमित,सम्पर्कमा आएका २१ को रिपोर्ट आउदै

logo
रामबहादुर थापा,
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
covid-test-positive-corona.jpg

बागलुङ । कोभिड–१९ को पाँचौँ र छैटौँ संक्रमित रहेको बागलुङमा बिहीबारसम्ममा ६२ जनामा ‘पिसिआर’ र एक हजार ३० मा दु्रत जाँच (आरडिटी) गरिएको छ ।

सम्भावित संक्रमितमा कोरोना भाइरस जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पाँचौँ संक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको २० दिन पुग्यो भने छैटौँ संक्रमित सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा १५ दिन ।

संक्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएका थिए । उनीहरुसँगै कोरोना भाइरसको संक्रमण भित्रिएको पनि बिहीबार एक महिना नाघ्यो ।

यसबीचमा दुवै संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ सकिएको छ । जाँचका क्रममा दुवै परिवारका सदस्यमा कोरोना भाइरस भने देखिएन । स्वास्थ्य कार्यालका अनुसार छैटौँ संक्रमितको ‘कन्ट्याक्ट टे«सिङ’ गरी कोरोना जाँचिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

“छैटौँ संक्रमितको परिवारका सदस्य, आफन्त र बसोबास क्षेत्रमा जाँच गरिएकामा कसैमा पनि संक्रमण देखिएन”, कार्यालय प्रमुख सुरज गुरौले भने । पाँचौँ संक्रमित युवतीसँग सम्पर्कमा आएका थप २१ जनाको स्वाब सङ्कलन गरी जाँचका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । 

पाँचौँ संक्रमितसँग सम्पर्कमा आएका थप २१ जनाको जाँचको रिपोर्ट आएपछि जिल्लामा जोखिमको अवस्थाबारे थप आँकलन गर्न सकिने उनले बताए । “पाँचौँ संक्रमितबाट पनि बुबालगायत घरका सदस्यमा भने कोरोना सरेको देखिएन”, प्रमुख गुरौले भने ।

अहिलेसम्म गरिएका जाँचका आधारमा संक्रमितबाट समुदायमा कोरोना भाइरस नसरेको पाइएको उनले बताए । संक्रमितका परिवारका सदस्य र भौतिक सम्पर्कमा आएका व्यक्तिमा ‘पिसिआर’ विधिबाटै कोरोना जाँच भइरहेको छ ।

धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले शुरुका दिनका तुलनामा त्रास र जोखिम केही घटेको बताए । “अहिलेसम्म संक्रमितबाट अन्य व्यक्तिमा सरेको पाइएको छैन, यही अवस्था कायम राख्न सक्यौँ भने त्यो हाम्रा लागि ठूलो सफलता हो ।” 

पाँचौँ संक्रमितसँग सम्पर्कमा आएका २१ जना व्यक्तिको जाँचको रिपोर्टपछि जिल्लामा संक्रमणको स्थितिबारे थप केही भन्न सकिने उनको भनाइ छ । “अस्पतालमा पनि कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी आउनुभएको छैन”, चिकित्सक पोखरेलले भने, “यसले समुदायमा फैलिएको छैन भन्ने देखाउँछ ।”

उनले जिल्लामा संक्रमणको जोखिम विश्लेषण गरी रोकथाम र नियन्त्रणको योजना बनाइएको बताए । संक्रमण फैलिएर बिरामी बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरी अस्पतालमा सुविधा थपदेखि जनशक्ति व्यवस्थापनको कामलाई चुस्त बनाइएको छ ।

अहिले चार वटा मात्रै रहेको आइसोलेशन बेडलाई थपेर आठ पु¥याउन लागिएको छ । सघन उपचार कक्ष निर्माणको काम अघि बढेको छ । भेन्टिलेटरलगायतका अत्यावश्वक स्वास्थ्य उपकरण र सामग्रीको जोहो गरिएको छ । अस्पतालको आइसोलेशन कक्षमा अहिले जिल्लाका दुवै संक्रमित उपचाररत छन् ।

“दुवै बिरामीको अवस्था सामान्य नै छ, छैटौँ संक्रमित महिलालाई पुरानै उच्च रक्तचाप र दमको औषधि दिइरहेका छौँ”, प्रमुख चिकित्सक पोखरेलले भने । उनका अनुसार दुवै संक्रमितमा कोरोना भाइरसको थप जाँचका लागि स्वाब पोखरा पठाइएको छ । यसअघि युवतीको तेस्रो र महिलाको दोस्रो जाँचमा पनि रिपोर्ट पोजेटिभ आएको थियो ।

लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामी घर फर्कन पाउनेछन् । काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक चिकित्सक सागर राजभण्डारीले संक्रमित व्यक्तिबाट परिवार र छिमेकमा रोग नसरेकामा सुखद् मान्नुपर्ने बताए ।

उनले जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ठूलो भएकाले उच्च सतर्कता र निगरानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । “पछिल्लो छ हप्ताभित्रमा विदेशबाट आएका सबैलाई जाँचको दायरामा ल्याउनुपर्छ”, उनले भने, “समुदायमा कहीँ कतै शङ्कास्पद बिरामी भेटिएमा तुरुन्त अस्पताल ल्याई उपचार थाल्नुपर्छ ।”

निर्देशक राजभण्डारीले आरडिटी गर्दा कसैमा पोजेटिभ देखिएमा ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गरी सम्पर्कमा आएका सबैमा ‘पिसिआर’ विधिबाट जाँच गर्नुपर्ने बताए । “आरडिटी पोजेटिभ आउनु भनेको उसमा पहिले कोरानो थियो भन्ने बुझ्नुपर्छ”, उनले भने, “त्यस्तो व्यक्तिले समुदायका अरुलाई सारेको हुन सक्छ ।”
 
जिल्लाको काठेखोला गाउँपालिका–६ की ६५ वर्षीया महिलामा दु्रत जाँच (आरडिटी) गर्दा कोरोना भाइरसको ‘एन्टीबडी’ पोजेटिभ देखिएको थियो । ‘पिसिआर’ विधिबाट पुनः जाँच्दा भने उनमा कोरोना भाइरस नभएको पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख गुरौले पनि ‘आरडिटी’ पोजेटिभ देखिएको ठाउँमा निगरानी बढाइएको बताए ।

“उन भारतबाट आएको पनि महिना दिन हुन लाग्यो, कोरोनाको कुनै लक्षण पनि छैन”, प्रमुख गुरौले भने, “परिवारका सदस्यमा पनि जाँच गर्दा देखिएन, लकडाउनमा घरमै बसेकाले उनबाट अरुमा सरेको छैन भन्ने आधार छ ।” प्रमुख गुरौले ‘आरडिटी’ जाँचमा नेगेटिभ रिपोर्ट आए पनि सबैलाई २१ दिनसम्म होम क्वारेन्टाइनमा बस्न लगाइएको बताए ।

सरकारले दुईजना संक्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी ¥यापिड टेस्ट गर्ने निर्णय गरेको थियो । कोरोना परीक्षणको दायरालाई थप बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जारी परीक्षणका बीच पनि समुदायमा सङ्क्रण फैलने जोखिमबाट भने बागलुङ मुक्त छैन । 

जिल्लामा भेटिएका दुवै संक्रमणका घटना आयातित भएकाले विदेशबाट आएका सबैलाई निगरानीमा राखिएको छ । चैत महिना लागे यता करिब ८०० भन्दा बढी विदेशबाट जिल्ला भित्रिएको तथ्याङ्क छ । स्थानीय तहले विदेशबाट आएकाको लगत राख्ने र क्वारेन्टाइनको प्रबन्ध मिलाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ