arrow

कोरोना संकट, मन्दीमा अर्थतन्त्र र चाँदीको घेरा 

logo
बिपिन अर्याल,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
bipin-aryal.gif

घडीको सुईले रातको १ बजाईसकेको छ । तर निन्द्रा भने पटक्कै लागेको छैन । यत्रतत्र, सर्वत्र बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) कै चर्चा छ । हो, आजभोली मेरो मन मष्तिष्कमा पनि कोरोनाको डर, त्रास र भयले डेरा जमाएको छ । बिश्वलाई आक्रान्त पारेको कोरोना भाईरसको आतंकले म पनि आतंकीत छु । यही आतंकले मेरा पछिल्ला दिन अनि रातहरु असामान्य बन्दै गएका छन् । सुत्ने, उठ्ने, खाने मात्र होईन, मेरो नियमित दैनिकी नै अस्तब्यस्त बनेको छ ।

यो लेख तयार पार्दासम्म विश्वभरका २० लाख बढी मानिस कोरोनाबाट सङ्क्रमित भएका छन् भने एक लाख ३० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । तीमध्ये पाच लाख बढी उपचार पश्चात घर फर्केका छन् । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिकाका नागरिकको ज्यान गएको छ। त्यहाँं हालसम्म २६ हजार बढीको मत्यु भइसकेको छ भने ६ लाख भन्दा बढी सङ्क्रमित भएका छन् ।

यस्तो महामारीको समयमा म भने यतिबेला घरदेश भन्दा सात समुन्द्र टाढा परदेशी भूमि पोर्चुगलमा छु । यो परदेशी भूमिमा आजको दिनसम्म सकुशल नै छु । मलाई लाग्छ, अझै केही दिन सकुशल नै रहनेछु र मेरा दिनहरु सामान्य रुपमै बित्नेछन् । तर, एउटा कुराले भने मलाई नराम्रोसंग सताईरहेको छ, की अबका दिनहरु, अबका महिनाहरु कसरी बित्लान् र यसको रोकथामको लागि विश्वब्यापी तत्परता कसरी अघि बढ्ला भनेर । हो, आजभोली यही चिन्ता र सोचमा छु ।

यतिबेला मेरो जस्तै अबस्थामा रहेका मेरा साथिहरु, आफन्तहरू अनि जागिर गुमाएका बेरोजगार साथिहरुलाई सम्झदै छु । एउटा जागीर त गुमाइसके तर अर्को जागिरको पेमेन्ट हुनेहोकि होइन दोधारमै छु किनकी मलाई उपलब्ध गराउने प्रक्रिया पुर्णरुपमा अबरुद्ध छ । म जस्तै भौतारिएर आएका हजारौं नेपाली आज विदेशी भुमिमा छन् । काँडेबार लगाउनु पर्ने केही छैन तर यथार्थ बोल्दा कसैको इज्जत जाने पनि हैन।सबैलाइ थाहा नै छ, की यो समय महामारीको हो । यसले विश्वलाई नै आतंकीत बनाएको छ । शक्तिशाली राष्ट्रलाई समेत घुडा टेकाएको छ । संसारभरका सबै नागरिक यो समस्यालाई झेल्न बाध्य छन् । कोरोना भाइरसको महामारीले लाखौंको रोजगार गुमेको छ भने हजारौं नागरिकले ज्यान गुमाईसकेका छन् । लाखौंको संख्यामा कोरोना संक्रमितहरु अस्पतालमा उपचाररत छ्न् ।

मैले खासगरि यो आलेखमा कोरना भाइरसले निम्त्याएको लकडाउन, यसबाट निम्तिने बेरोजगारी समस्या र विश्व अर्थतन्त्रलाई पार्ने असरको बारेमा चर्चा गर्न खोज्दै छु। कोरोनाको महामारीले एकातर्फ मानवीय क्षति भईरहेको छ भने अर्कोतर्फ बिश्वको अर्थतन्त्र धरासायी बन्दै गएको छ । आशा गरौँ, अवश्य पनि यसको रोकथाम, नियन्त्रण र निर्मुलीकरण छिट्टै हुनेछ । हो, हामी यसलाई पराजित गर्ने सामर्थ्य राख्नेछौं । यो संकटलाई असहजताका बिच सहजै पार लगाउन सक्नेछौ । बिश्वभरका मानव जातिले शान्तिको सास फेर्ने छन् र पूरानै लयमा फर्किने छन् । हामीले हाम्रो बर्तमान अवस्था नजिकबाट नियालिरहेका छौं र हाम्रो भविष्यको आँकलन पनि गरिरहेका छौं । कि आगामी दिनहरु के–कसरी गुज्रनेछन् ?

कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई पार्न सक्ने असरको बारेमा लेख्दै गर्दा यससँग मिल्दो प्रकृतिको तर अफ्रिकी मुलुकमा मात्र फैलिएको इबोलाको बारेमा थोरै चर्चा गर्न आवश्यक छ । इबोलाको कारणले अफ्रिकी मुलुकहरु गुइनिया (२५४४), लिबिया (४८१०) र सिरिया (३९५६) जनाले ज्यान गुमाएका थिए । ४.३ बिलियन अमेरिकी डलर खर्च भएपछि मात्रै इबोला नियन्त्रणमा आएको थियो। त्यसबखत ३ दिनमात्र अहिलेको जस्तो लकडाउन भएको थियो भने पूर्णरुपमा निर्मुल हुनको लागि पूरै दुई बर्ष लागेको थियो । शक्तिशाली राष्ट्रहरु अमेरिका, बेलायत जस्ता देशहरुले इबोला नियन्त्रणका लागि सघाईरहेका थिए । तर त्यसबेला र अहिलको अवस्था फरक छ । अहिले विश्वका शक्तिशाली राष्ट्रहरु नै यसको शिकार बनेका छन् । पछिल्लो समय त अमेरिका नै सबैभन्दा बढी कोरोना भाईरसबाट प्रभावित भएको छ ।

मलाई के लाग्दछ भने आधुनिक अर्थव्यवस्थामा जुनकुरा कहिले घट्न सक्दैन थियो जस्तो की विश्वव्यापी आपूर्ति, मजदुरी र उत्पादकत्व । यी कुराहरूमा कोभिड १९ पछाडी अवस्य पनि ह्रास आउने देखिन्छ । किनकी यसले कुनै एक राष्ट्र वा क्षेत्रलाई मात्रै नभई विश्वलाई नै प्रभावित बनाएको छ । साथै यसबाट विश्वभरका मजदुरहरूमा मानसिक र शारीरिक स्वास्थको चुनौती थप जटिल बन्ने देखिन्छ । जुन मुलभुत रुपमा उत्पादनसंग जोडिएको हुन्छ । सामाजिक र सांस्कृतीक दृष्टिमा समेत फरकपन आउने संकेत देखिएको छ । जसको कारण मानव सभ्यतामा अर्को ठूलो दुर्घटना निम्तिन सक्छ । यसले विश्व अर्थतन्त्रमा गहिरो खाडल ल्याउने सम्भावना छ ।

कोभिड १९ महामारी पछि यसले सामाजिक तथा पर्यावरणीय संकटहरु अबश्य पनि निम्त्याउने छ । यसपछी हाम्रा प्राथमिकता एक पछि अर्को हुँदै चुलिदै जानेछन् । हामीले गर्ने काम र व्यवसायमा अझ परिवर्तन गर्नुपर्ने हुन्छ । अर्थव्यवस्था जब खस्किन्छ त्यसको सोझो असर रोजगारीमा पर्न जान्छ । यतिबेला कुनै पनि राज्यले मनग्य आम्दानी गर्न सकिरहेको छैन । करोडौ डलर कारोबार गर्ने राष्ट्रहरु यतिबेला शुन्य प्राय छन् । लाखौ कर्मठ जनशक्ति बेरोजगार भएर राज्यकोषमा नै निर्भर हुनु परेको छ। यसरी कमाइदिने जनशक्तिलाई नै राज्यकोषबाट खर्च गर्नु परेपछी धन्सारको धन कति समय थामिने । स्रोत र साधन भएको राज्यनै टाट पल्टिन थालेपछि व्यक्तीको के सीप लाग्ने । तेस्रो महिना पुग्दा पनि कुनै अबस्थामा सुधार आउन सकेन भने मानबिय अबस्थामा थप भयावह स्थिती आउने निश्चित जस्तै छ । लकडाउनको कारण विश्व अर्थतन्त्रमा गम्भीर मन्दी आउन सक्ने देखिन्छ । जुन कुराले विश्वका नेताहरुलाई लकडाउनको बारेमा सोच्न बाध्य तुल्याउने छ ।

अहिलेसम्म कोरनाभाइरसबाट प्रभावित मुलुक र संक्रमितको तथ्यांक हेर्दा यो समय थप लम्बिने निश्चित जस्तै छ । अझैसम्म कोरना बिरुद्धको खोपको परीक्षण र यसको अनुसन्धान नै यसको काफी प्रमाण हो । यो तीन महिनाको समयमा लकडाउन खुल्ने सम्भावना न्यून छ । तर ठुलो आर्थिक मन्दीबाट पार लगाउन लकडाउन आंशिक खुलेपनि अर्को छ महिना मानिसहरुमा त्रास रहिरहने देखिन्छ । यसवाट सिधा असर उद्योग, कलकारखाना, व्यापार, बिश्वबजार, पर्यटन र होटल व्यवसायीमा पर्न जान्छ भने अर्थतन्त्रमा भारी गिरावट आउनुका साथै बेरोजगार संख्यामा उल्लेख्य वृद्धि हुनेछ ।

अन्तराष्ट्रिय मजदुर संगठनले तयार पारेको एउटा रिपोर्टलाई आधार मान्ने हो भने पनि ५ करोड पुर्णकालिन कामदारको ८.१ प्रतिशत मध्यपूर्वका राष्ट्र, १२ करोडको ८.८ प्रतिशत युरोप र १२५ करोड को ७.२ प्रतिशत एसियाली र प्यासिफिक मुलकबाट रोजगारी कटौती हुने अनुमान गरिएको छ भने अमेरिकाबाट ३.३ मिलियन जनसंख्या बेरोजगार भैसकेको अबस्था छ । यस्तो अबस्थामा सम्पुर्ण मुलुकका मजदुर र व्यवसायीहरुले विपत्तिको सामना गरिरहेका छन् । एक अध्ययनका अनुसार १.२ बिलियन जनसंख्या अहिले पनि श्रमको बजारमा छन् । जुन अवस्था खतरानाक र बिनाशकारी छ भने दोश्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो विश्वब्यापी संकट हो । ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरु बेरोजगार छन् । नेपाल भारत जस्ता दक्षिण एशियाली राष्ट्रहरु जहाँ उल्लेख्य मात्रामा यस्तो जनशक्ति छन् । यी देशहरूको आर्थिक चुनौती थप बढेर जाने देखिन्छ । यो बिचमा कृषि क्षेत्र निर्वाहमुखी मात्रै बन्ने छ भने औषधी र सेनिटाइजर जस्ता सामग्रीको खपत भने उल्लेख्य हुनेछ । तर एकैपटक खस्केको विश्व अर्थतन्त्रलाई भने यसबाट त्यति धेरै टेवा पूग्ने देखिदैन ।

विश्वब्यापी रुपमा फैलिएको कोरनाभाइरस अहिले केही दिन मात्रै अगाडि सिरियामा देखा परेको छ । नयाँ संक्रमित नथपिने र उल्लेखनीय तरिकाले निको हुनेको संख्या हुँदापनि सामान्य अबस्थामा आउन अर्को ६ महिना लाग्ने देखिन्छ । तर अहिले अवस्था त्यस्तो छैन । आवस्यकता र परिस्थिति अनुसार केही देशहरूले आन्तरिक क्षेत्र र द्विदेश बिचको लकडाउन भने खुकुलो पार्न सक्छन् । तर पुरै विश्वब्यापी रुपमा आवतजावत भने कोरोना विरुद्धको खोपको बिकासले निर्धारण गर्ने छ । जुन छिटोमा पनि ९ महिना लाग्न सक्दछ । अझ सुरक्षित, सुस्त र दीर्घकालीन बिकास हुने नयाँ प्रणालीहरुको बिकास नगर्ने हो भने करोडौं मानिसहरूको जीवनमा ठूलो असर पर्ने देखिन्छ । नेपाल जस्ता रेमिट्यान्सबाट धानिएका मुलुकहरु चरम आर्थिक संकटमा पर्ने देखिन्छ । रोजगारिको विश्वब्यापी कटौतीले यस्ता मुलुकहरुले थप चुनौतीको सामना गर्नुपर्ने हुन्छ । एउटा मात्रै देशको आर्थिक संकटले पनि यो वेलामा पुरै विश्वको अर्थतन्त्रमा नकारात्मक असर पर्दछ। त्यसैले विश्वलाई छिटो आर्थिक मन्दीबाट पार लगाउन समतामूलक आर्थिक बिकासको नीति अख्तियार गर्नुपर्ने देखिन्छ ।

सामाजिक दुरी कायम राख्नु नै कोरोना भाइरसबाट बच्ने अहिलेसम्मकै उत्कृष्ट उपाय भनिएको छ । यो पुर्ण रुपले निर्मुल नहुञ्जेलसम्म सामाजिक त्रास भने रहि रहने नै छ । मानवीय संकट टार्न अब नयाँ प्रबिधीको विकास अनिवार्य सर्त बनेर आउने छ । रोबटिक्स, ई-कमर्स र ई-सर्भिस जस्ता पद्धति अब बैकल्पिक नभै अनिवार्य हुने देखिन्छ । यसरी विश्वको कार्य प्रणाली नै प्रबिधी मैत्री बन्नेछ । जसले गर्दा प्राबिधिक जनशक्ति खपत त हुन्छ तर बेरोजगारी समस्या भने यथावत नै रहन्छ । तरपनि केही आशा गरौं, सरकार र अन्तराष्ट्रिय सामाजिक संस्थाहरुले केहि नयाँपन अबश्य ल्याउने छन र हामी यो संकट पार लगाउन सक्नेछौ। कालो बादलमा पनि भेटिने चाँदीको घेरा जस्तै यो संकटमा पनि अझ र अधिक मानविय सभ्यताको बिकास गर्न सक्नेछौ।



नयाँ