arrow

कोरोना सन्त्रास

logo
धर्म पोखरेल, 
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
dharma-pokhrel.jpg

बसेका छन् सबै मान्छे आ–आफ्नै घरमा लुकी
तथापि सूक्ष्म कोरोना चाल्दैछ पाइला फुकी 
मान्छेभित्र पसी खोज्छ मृत्यु यो जीवले ढुकी
समस्यामा पर्‍यो मान्छे विश्व छ एक धुक्धुकी ।।

निर्धक्क छन् अरू प्राणी डुल्दै छन् मग्नमस्त छन् 
तालाबन्दी छ मान्छेमा अस्तव्यस्त र त्रस्त छन् 
मानिसकै थियो धर्ती सर्वश्रेष्ठ उही थियो
सोच्दै होलान् अरू प्राणी किन यो गुप्तवास भो ?

हाम्रो संस्कृति हो राम्रो तिम्रो निकृष्ट स्वाङ हो
कोही घमण्डमा डुब्थे सम्झे बेतुक ढ्वाङ भो
वायुमा जल, धर्तीमा आकाश, अन्तरिक्षमै
मान्छे खोज्दै डुली पुग्थ्यो बिर्स्यो कि देहभित्र चैँ ।।

लिङ्ग, वर्ण कुनै पेशा, जाति, धर्म र कर्ममा
छोड्दैन यसले गर्छ प्रहार मर्म मर्ममा
के धामी, ज्योतिषी, झाँक्री, व्यापारी न त डाक्टर 
राजा, प्रधानमन्त्री यी भन्दैन न त मास्टर ।।

सूक्ष्ममा सूक्ष्म देखिन्छ ठूलो शक्ति छ भ्याउँछ
भूकम्प कम्पको भन्दा कयौँ रेक्टर ल्याउँछ
बोकी सन्त्रासको पोको विश्व ब्रह्माण्ड धाउँछ
गरे लापरवाही झन् आत्मासम्म चिहाउँछ ।।

ईराक, सिरिया बल्थे पट्किई बम दन्दनी
कोरोना शक्तिशाली भैफैलियो अझ सन्सनी
गोला, बन्दुक, क्षेप्यास्त्र, बारुद अणुका बम
कोरोना छेक्न सक्दैनन् देखियो सबको दम  ।।

देखिन्न मुटुमा कैँची, तरबार, छुरा, खुँडा
तर यो मुटु रेट्दै छ टेकाई विश्व नै घुँडा 
महङ्गीले चुली टेक्यो खाद्यान्नको अभाव छ
बचाऔँ के गरी बाँचौँ ? बाँच्नुको मात्र भाव छ ।।

हातखुट्टा सफा गर्दै नित्य साबुनपानीले
सोच्छौँ सर्दैन भन्ने यो सफासुग्घर बानीले
मान्छेको देहमा घुस्दै ज्वरो दिएर हन्हनी
नलियोस् ठहरै प्राण नघुमोस् विश्व फन्फनी ।।
(ठेगानाः देउमाई नगरपालिका–४ इलाम, हाल – ललितपुर)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ