arrow

बजेटको दिन सार्न सकिन्छ : प्रधानमन्त्री ‌ओली

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
KP-Oli.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।  आज बसेको मूल समारोह समितिको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ।
 
प्रधानमन्त्रीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरुलगायत रहनुभएको मूल समारोह समिति गठन गरिएको छ।
 
सूचना तथा सञ्चारमन्त्री शेरधन राईको संयोजकत्वमा मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरिएको छ।
 
जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको संयोजकत्वमा ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ।
 
बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचनाको सङ्गालो प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।
 
जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ। सोही दिन बिहान ८ बजे मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरु, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारण टुँडिखेलमा उपस्थित हुने कार्यक्रम छ।
 
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरुको समेत उपस्थिति रहनेछ। सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास, विविध कार्यक्रम र झाँकी प्रदर्शन गरिनेछ। सोही दिन साँझ दीपावली गरिने छ।
 
जेठ १६ गते प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता र साँझ दीपावली गर्ने कार्यक्रम छ। त्यसैगरी, उपत्यका बाहिरसमेत जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र दिवस मनाउन विविध कार्यक्रमको आयोजना गरिने छ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वास्तविक लोकतन्त्रमा गणतन्त्र अनिवार्य रहेको बताए।
 
उनले जनता सार्वभौम भएको दिनका रुपमा गणतन्त्र दिवसलाई भव्य र उल्लासमय वातावरणमा मनाउन आग्रह गर्दै दिवसलाई जनस्तर र नयाँपिँढीमा समेत लैजान आवश्यक रहेकामा जोड दिए।
 
उनले भने – “राजतन्त्र हट्नु भनेको अन्धविश्वास र आधारहीन व्यवस्था हट्नु हो। समाज आधुनिक हुन पनि गणतन्त्र आवश्यक थियो।” उनेले जन्मसिद्ध श्रेष्ठता सिद्धान्तमा आधारित राजतन्त्र सामाजिक न्याय र समानताविरुद्धको व्यवस्था भएको बताए ।
 
बजेटको दिन सार्न सकिन्छ
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस र बजेट आउने दिन एकै दिन परेकाले बजेट आउने दिनलाई सार्न सकिने बताए। जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले दलहरुबीच सहमतिका आधारमा आगामी दिनमा बजेट ल्याउने दिन परिवर्तन गर्न प्रयास गरिने उनले बताए।
 
उनेले भने – “गणतन्त्र दिवस अर्को दिन सार्न सकिन्न। बजेट ल्याउने दिन अर्को दिन सार्ने व्यवस्था मिलाउन सकिन्छ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ