arrow

मस्जिद र मदरसामा अनुगमन

logo
रासस,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
mosque-sunsari.jpg

कपिलवस्तु। कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै यहाँका विभिन्न मस्जिद र मदरसामा आज अनुगमन गरिएको छ। मस्जिद र मदरसामा मुस्लिम जमाती लुकेर बसेको आशङ्कामा स्थानीय प्रशासनले आज अनुगमन गरेको हो। जिल्लाको जवाभारी, चन्द्रौटाका मस्जिद, मदरसामा अनुगमन गरिएको हो। अनुगमन गर्दा कुनै पनि मस्जिद मदरसामा शङ्कास्पद कोही पनि फेला नपरेका राष्ट्रिय मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए।

अनुगमनका क्रममा शिवराज नगरपालिका वडा नं ८ का वडाध्यक्ष अनुपकुमार चौधरीले कुनै पनि शङ्कास्पद व्यक्ति फेला नपरेको बताए। जवाभारीको मदरसा र मस्जिदमा प्रशासनको समन्वयमा ताला लागाइएकाले बाहिरी मान्छे आउने समाचार निराधार रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए।

राष्ट्रिय मदरसा सङ्घका अध्यक्ष डा अब्दुल गनी अलकुफीले शिक्षा जस्तो पवित्रास्थलमा बहिरी मान्छेलाई आश्रय दिने काम गलत भएको बताए। चन्द्रौटामा रहेको मदरसामा अनुगमन गर्दा कुनै पनि जमाती नभेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले प्रहरी र प्रशासन लगाएर खोजतलास गरिएको तर अहिलेसम्म केही फेला नपरेको बताए। उनले एक जना पाकिस्तानी नागरिक फेला परेका र उनी माघमा कानूनी तरिकाले नेपाल प्रवेश गरेको प्रमाण फेला परेको बताए। जिल्लाका मुस्लिम अगुवा, निर्वाचित प्रतिनिधि, प्रहरी प्रशासन पत्रकारको टोलीले मदरसाको अनुगमन गरेको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ