वैदेशिक रोजगारबाट फर्केका तेज गिरी गाउँघरमै व्यावसायिक तरकारी खेती गर्दै
गोविन्द बीसी,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
1k
Shares
बौनिया। तरकारी बारीमा लगाइएको खुर्सानी बोटमै लटरम्म फलेको छ। बेच्नका लागि तयार भएको बन्दागोभी समेत कुहिएर जान्छ कि भन्ने चिन्ताले मनमा अर्कोतिर पिरोलिरहेको छ। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–३ का तेज गिरी प्रायजसो बिहानैदेखि साँझसम्म तरकारी बारीमै व्यस्त हुन्छन् । व्यवसायिक रूपमा तरकारी खेती सुरु गरेका गिरीको जीवनशैली बदलिएको छ।
उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी टमाटर, काँक्रा, खुर्सानी, काउली, बन्दगोभी बिक्री गर्न उनलाई भ्याइ–नभ्याइ भइरहेका बेला जारी भएको लकडाउनका कारण उनलाई समस्या भएको छ।
२ वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्केका गिरीले अहिले आफ्नै गाउँघरमा व्यावसायिक रूपमा तरकारी खेती थालेका हुन्। विदेशी मुलुकमा आफ्नो श्रम र पसिना बगाएर दुस्ख गर्नुभन्दा स्वदेश फर्किएर आफ्नो गाउँठाँउमै मेहनत गर्नुपर्छ भन्ने लाग्यो गिरीले भने, 'घरमा फर्केपछि मेहनत गरेर तरकारी खेतीबाट मनग्ये आम्दानी गर्छु सोचेर नै कृषि व्यावसाय सुरु गरेको छु।'
आफ्नै १२ कट्ठा जग्गामा लगाइएको मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेतीले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको गिरी बताउँछन्। कमाइका लागि मलेसिया पुगेर घर फर्किएका गिरी घरमै तरकारी खेतीबाट मनग्ये आम्दानी हुन थालेको बताउँछन्। ६ वर्षसम्म मलेसियामा काम गरेर उनी घर फर्केका हुन्।
वैदेशिक रोजगारीमा सम्भावना नदेखेपछि गिरीले १ वर्षदेखि गाउँघरमै व्यवसायिक तरकारी खेती सुरु गरेका छन्। उनले अहिले उत्पादन गरेको बेमौसमी तरकारी काउली, बन्दगोभी, काँक्रा, टमाटर, खुर्सानी बिक्रीबाट मनग्ये आम्दानी गर्न थालेका छन्।
‘अहिले दैनिक १० देखि २० किलो आफ्नै बारीको बन्दगोभी, काँक्रा, खुर्सानी बिक्री गरिरहेको छु, अन्य बालीभन्दा तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने सोचेर व्यावसायिक रूपमा काम थालेको उनले बताए । १ वर्षदेखि तरकारी खेतीमा लागिरहेको छु’, उनले भने, 'एक सिजनमा तरकारी बिक्रीबाटै ४० देखि ५० हजार रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ।'
व्यावसायिक तरकारी उत्पादनबाट चाहे जस्तो आम्दानी हुन थालेपछि अहिले उनको जीवनस्तर नै फेरिएको छ गाउँघरमा स्थानीयले आफूलाई चाहिएको तरकारी बारीमै पुगेर किन्न थालेको गिरी बताउँछन्। अहिले गिरीले तरकारी खेतीमार्फत घरखर्च चलाएर वार्षिक ३ लाख रुपैयाँ बढी आम्दानी गरिरहेको बताए। यसपछिको समयमा भण्टा, बोडी, भिन्टी, काँक्रा, लौका, फर्सी तरकारी बाली लगाउने तयारी गरेको उनले बताए।
कृषि अनुदान नपाएको दुस्खेसो
बर्दगोरिया गाउँपालिका वडा नम्बर–३ का ३६ वर्षीय तेज गिरीले आफ्नै नाममा कृषि फर्म समेत दर्ता गरेका छन्। उनले बर्दगोरिया कृषि फर्म दर्ता गरेर मौसमी तथा बेमौसमी तरकारी खेती थालेपनि संघसंस्था र स्थानीय सरकारबाट अनुदान नपाएको बताए।
स्थानीय तहमा कृषि अनुदान पाइन्छ भन्ने अपेक्षा भएपनि अहिलेसम्म कहिँकतैबाट अनुदान उपलब्ध नभएको उनको दुस्खेसो छ। अनुदानका लागि सहयोग गर्न गाउँपालिकामा अनुरोध गरेपनि गाउँपालिकाको कृषि शाखाले कुनै वास्ता नगरेको उनले बताए । यसअघि बर्दगोरिया गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक रमेश देवकोटाले तरकारी खेतीको निरीक्षण गरेर केही सल्लाह तथा परामर्श दिएको उनले बताए।
देवकोटाले गाउँपालिकामा आवश्यक अनुदानका लागि कुरा राखेर पहल गर्ने बताएपनि हालसम्म अलिकति बिउँबिजन बाहेक अन्य अनुदान सहयोग नपाएको गिरीले गुनासो गरे। अनुदान सहयोग प्राप्त भईदिए थप अरु जग्गामा समेत तरकारी खेती गर्ने योजना रहेको कृषक गिरीले बताउँछन्।
लकडाउनले समस्या
व्यावसायिक तरकारी खेती गर्दै आएका उनी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी लकडाउनका कारण बारीमै तरकारी सड्न थालेपछि अहिले चिन्तित बनेका छन्।
उत्पादन गरि बिक्री गर्ने अवस्थामा रहेको गोभी, खुर्सानी, काँक्रा र टमाटर बिक्री बजार नपाएपछि अहिले समस्या भएको छ। बजार लगेर बेच्ने समय भएन तरकारी बारीबाट निकालेर के गर्नु रु बजार सबै बन्द छन्, जान पनि पाइँदैन, दैनिक १० देखि १५ किलो गोभी सडेर सकिन थालेको छ, गिरीले भने।
अहिलेको सिजनमा राम्रै आम्दानी हुन्छ सोचेको थिए। यसपटक ३०-३५ कुन्टल ‘बन्दागोभी र खुर्सानी, काँक्रा बेच्ने योजनामा बिक्री गर्न सुरु गरेको थिएँ, लकडाउन भयो', गिरीले भने, '२-३ कुन्टल बन्दगोभी त सडेर, कुहिएर जाने अवस्था देखिएको छ। यसपटक नोक्सानी हुने भयो, हेर्नु बाहेक अरु विकल्प रहेन।’
स्थानीय बौनिया बजारमा काँक्रा प्रतिकेजी ५० रुपैयाँ, खुर्सानी प्रतिकेजी १०० रुपैयाँ र बन्दगोभी प्रतिकेजी ३० रुपैयाँमा बिक्री हुने भएपनि किसानको बारीमा भने अहिले तरकारी सडेका छन्।