arrow

लकडाउनमा शंकर पोखरेलको प्रदेशमा बलात्कारका १७ घटना

logo
निरा गौतम,  रासस, 
प्रकाशित २०७७ वैशाख ७ आइतबार

रुपन्देही । बन्दाबन्दीका समयमा शंकर पोखरेल मुख्यमन्त्री रहेको प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् ।

बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा पाँच बलात्कारका घटना भएका छन् । 

त्यसपछि कपिलवस्तुमा चार, गुल्मी र बाँकेमा दुईदुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

बन्दाबन्दीमा बर्दियामा  जर्बजस्ती करणी उद्योग अन्तर्गत मुद्दा  दर्ता भएको छ । घटनामा संलग्नलाई पक्राउ गरी  जर्बजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता पोखरेलले बताए । 

पछिल्लो एक हप्तामा रुपन्देहीमा तीन युवतीमाथि बलात्कार भएको उजूरी आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सैनामैना नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकाका युवतीमाथि बलात्कार भएको हो ।

गत मंगलबार रुपन्देहीको सैनामैना १ मा १५ वर्षीयामाथि बलात्कार भएको हो । प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय मानबहादुर छहारीलाई पक्राउ गरेको छ । 

परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही वडाबाटै छहारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । दिउँसो उनलाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको उनले बताए ।

यस्तै चैत २९ गते सूर्यपुरा ९ मा बाबुले आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । एक वर्षदेखि बलात्कार गर्दै आएको बालिकाको बयानका आधारमा ४० वर्षीय उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

सोही दिन मर्चवारीमा २२ वर्षीय युवतीमाथि बलात्कार भएको छ । बलात्कारका आरोपमा स्थानीयवासी १८ वर्षीय राजेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ । 

सो अवधिमा घरेलु हिंसाका १२ मुद्दा दर्ता भएको प्रदेश प्रहरी प्र्रवक्ता पोखरेलले बताउनुभयो । घरेलु हिंसाका उजुरी धेरै परे पनि मुद्दा कम दर्ता भएका छन् । सबैभन्दा धेरै बाँके र दाङमा चारचार, रोल्पामा दुई र पाल्पामा  घरेलु हिंसाका एक मुद्दा दर्ता भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ