arrow

क्वारेन्टाइनको बासबाट मुक्ति पाउँदा परिवारमा खुशी

logo
रासस
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona-test-mugu.jpg

क्वारेन्टाइनको बासबाट मुक्ति पाउँदा परिवारमा खुशी

धनगढी । कोभिड–१९को परीक्षण गर्ने पद्धति आरडिटी टेष्ट र पिसिआर परीक्षणबाट परिवार सदस्यहरुको सङ्कलित नमूनाको नतिजा ‘नेगेटिभ’ आएपछि बैतडीका नरीदत्त भट्टराईको परिवारमा खुशी छायो । 

नमूना नेगेटिभ आएको खबर पाएलगत्तै बैतडी पाटन नगरपालिकामा रहेकी श्रीमतीलाई उनले कैलालीबाटै फोन गरेर खुशी साटासाट गर्दै भने, “बुवा र आफ्नो रिपोर्ट नेगेटिभ आएको छ, चिन्ता लिनु पर्दैन, ढुक्क होऔँ ।”
 
उन्नाइस दिन क्वारेन्टाइनको बासबाट मुक्त भई कैलालीको गोदावरी नगरपालिकास्थित सहोदर भाइको घरफर्किएका भट्टराईले निसङ्कोच कुराकानीमा भने, ‘‘कैलालीको तेघरीस्थित नेपाली सेनाको परिसरमा बनाइएको क्वारेन्टाइनको वासले आत्मबल बढेर जाँदा कुनै त्यस्तो समस्या देखिएन ।”
 
क्वरेन्टाइनमा बसेको समयमा पनि आफ्ना परिवारसँग फोनमा नियमित कुरा भइरहने गरेकाले कुनै त्यस्तो तनाब र समस्या झेल्न नपरेको उनहरुको अनुभव छ । उनका भाइ कृष्ण भट्टराईले दिल्लीमा रहँदा आफूलाई कोरोनाको डर भए पनि आफ्नै देशको क्वारेन्टाइनको बसाइँले कोरोनाका शङ्काबाट मुक्ति पाउँदा ठूलै राहत मिलेको अनुभव सुनाए । 

कोरोनाबाट सुरक्षित रहन क्वारेन्टाइनमा बसेर स्वास्थ्यको रेखदेख पुर्‍याइएकामा निकै खुशी भएको बताउँदै उनले भने, “विदेशमा नोकरी छाड्नु परे पनि आफ्नो स्वास्थ्य बचाउनेभन्दा अहिले अरु ठूलो चिज केही छैन ।” दिल्लीमा उद्योग, कलकारखाना, होटेल, गेस्ट हाउस, ट्रान्सपोर्ट, कुकको क्षेत्रमा ठूलो सङ्ख्याका नेपाली काम गरिरहेकामा कोरोनाका कारण धेरैको यतिबेला रोजगारी गुमेको अनुमान उनको छ । उनहरुलाई दुई दिनअघि मात्र क्वारेन्टाइनबाट घरफिर्ता पठाइएको थियो । भट्टराई दाजुभाइलाई ७३ वर्षीय बुवा लालमणि भट्टराईको किड्नीसम्बन्धी समस्याको राम्रोसँग उपचार गराउन नपाएकामा भने चिन्ता छ ।  

उनलाई उपचारका लागि भारतको दिल्ली लगिएको थियो । तर त्यहाँका अस्पताल कोरोनाका कारण प्रभावित हुँदा उपचार सहज हुन नपाई त्यसै फर्किनुपर्ने बाध्ता आइलागेको थियो । एम्बुलेन्समार्फत गौरीफन्टा नाका हुँदै कैलाली पुगेपछि उनीहरु तीनैजनाले आफ्नो स्वास्थ्यका बारेमा सजक रहँदै गोदावरी नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर क्वारेन्टाइनमा बसेका थिए ।   

क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा अझै पनि प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा एक हजार ३४६ जना बसेका छन् । होम क्वारेन्टाइनमा बसिरहेको सङ्ख्या भने योभन्दा ठूलो छ । होम क्वारेन्टाइनमा बसेकाको सम्बन्धित स्थानीय तहले निगरानी गरिरहेको छ । क्वारेन्टाइनमा बसेकामध्ये अधिकांश भारतबाट स्वदेश फर्किएका नेपाली हुन् ।

होम क्वारेन्टाइनमा बस्नु पर्ने गरी घर पठाइँदै
क्वारेन्टाइनमा कति दिन बस्नुपर्ने भन्नेमा सम्बन्धित व्यक्तिमा अन्योलता बढिरहेका बेला १४ दिन क्वारेन्टाइनमा बसिसकेका व्यक्तिको हकमा उनीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने सुनिश्चितता गरी घर पठाउने रणनीति सरकारको छ । 

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्क्रमित क्षेत्रबाट आई प्रदेशका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसिसकेका व्यक्तिको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा वा आरडिटी (र्‍यापिड डायग्नोष्टिक टेष्ट) परीक्षण नतिजा नेगेटिभ आएमा त्यस्ता व्यक्तिलाई थप सात दिन निजकै घरमा क्वारेन्टाइन बस्ने सुनिश्चितता गरी घर पठाउने गरिएको बताए । 

आरडिटी परीक्षणमा नतिजा पोजेटिभ आएका व्यक्तिलाई भने थप सात दिन क्वारेन्टाइनमा नै राखी नमूनाको पुनः परीक्षण गर्ने काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ