arrow

गोकर्णेश्वर नगरपालिकामा लकडाउन प्रभावित १० हजार बढीलाई निःशुल्क भोजन 

हिरामान शाही भन्छन् – लकडाउन अन्त्य नभएमा राजधानीको घर बेचेर भएपनि गरिब, दिन दुःखीलाई खाना खुवाउने छु

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
94387674_1675243022614073_5.jpg

काठमाडौं । राजधानीको गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउनका कारण चरम समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले बिहान बेलुका निःशुल्क खाना खुवाउने क्रम जारी छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, ६ र ८ का विभिन्न संघ संस्थाहरुले विपन्न वर्गकालाई यसरी निशुल्क खाना खुवाएर उदाहरणीय कार्य गरेका छन् । 

अन्य वडाहरुमा पनि विपतमा परेकाहरुको सहयोगका लागि विभिन्न सामाजिक काम भइरहेका छन् । गोकर्णेश्वर–५ स्थित सुन्दरटोलका स्थानीयले विगत दुई हप्ताको अवधिमा निरन्तर बिहान बेलुका गरी १० हजार भन्दा बढीलाई निःशुल्क खाना खुवाएका छन् । 

यो अभियानमा उनीहरुलाई स्थानीयहरुले तन, मन, धन सबै दिएर लगातार सहयोग गरिरहेको स्थानीय हिरामान शाहीको भनाइ छ । निकै भावुक अवस्थामा भेटिएका शाहीले लकडाउन अन्त्य नभएमा राजधानीको घर बेचेर भएपनि गरिब, दिन दुःखीलाई खाना खुवाइरहने बताए । 

लामो समयअघि देखि समाजसेवामा क्रियाशील नयाँबस्ती युवा क्लबले पनि स्थानीय जनप्रतिनिधिहरुको सहयोग तथा समन्वयमा लक डाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खानाको व्यवस्था गरिरहेको छ । 

क्लब प्रांगण वरपर खाना खान आउनेहरुको बाक्लो भिड लाग्ने गरेको छ । नारायणटार युवा क्लबले पनि गोकर्णेश्वर–६ स्थित चामुण्डा स्कुल परिसरमा निम्न आय भएका, ज्याला मजदुरी गर्ने वर्गलाई लक्षित गरी बिहान बेलुकी निशुल्क भोजनको व्यवस्था गरेको स्थानीय आकाश अर्यालले जानकारी दिए । 

दैनिक ज्याला मजदुरी गर्ने बाहेक नारायणटार आसपास ठूलो संख्यामा रहेका फरक क्षमता भएकाहरु समेत खाना खान चामुण्डा मावि पुग्ने गरेका छन् । गोकर्णेश्वर नगरपालिका–८ को पहल तथा वेशीगाउँ युवा समुह, छहारी युवा क्लब, अत्तरखेल युवा समाज, डाँडा गाउँ टोल सुधार समिति र मासिक सय अभियान नेपाल संस्थाको सक्रियतामा वडाका विभिन्न स्थान दैनिक सयौंलाई खाना उपलब्ध गराउने व्यवस्था मिलाइएको स्थानीय राजेश दाहाल बताउँछन् । 

यस अभियानमा स्थानीय दाताहरुले पनि लगातार सहयोग गरिरहेको दाहालको भनाइ छ । गोकर्णेश्वर नगरपालिका–६ स्थित गैरी गाउँ युवा समुहले पनि दिनहुँ विहान बेलुकी सयौंलाई निशुल्क भोजन गराइरहेको छ । यहाँ पनि खाना खान आउनेहरुको लामो लाइन देख्न सकिन्छ । 

गोकर्णेश्वर नगरपालिका–५ स्थित लोक कल्याणकारी युवा समुहले विन्दवासिनी मन्दिर पधेरापाखामा गरिब दिनदुःखीका लागि विहान एक छाक खाना खुवाउने कार्य गरिरहेको स्थानीय श्रीराम बरालले जानकारी दिए । 

यसरी निःशुल्क खाना खुवाउने अभियानमा स्थानीय निकायसँगसँगै, दाताहरु, विभिन्न संघ संस्थाहरु, टोल सुधार समिति, गुठी लगायतले सहयोग गरिरहेका छन् । 

एनसेलमा कार्यरत गोकर्णेश्वर–५ का स्थायी बासिन्दा इन्जिनियर विनोद बरालको पहलमा उक्त कम्पनिमा कार्यरतहरुको संस्था “पोजिटिभ ग्रुप” ले लक डाउन प्रभावितहरुको लागि मात्र सहयोग गरिरहेको छैन, सडकमा भोकै हिडिरहेका जनावरहरुलाई पनि खाना खुवाउने भएको छ । 

महाविपतको यस समयमा गरीब, असाहयहरुलाई सहयोग गर्ने क्रममा देशका अन्य नगरपालिका भन्दा गोकर्णेश्वर निकै अग्रणी देखिएको छ । यस नगरपालिकामा श्रमिक तथा फरक क्षमता भएको वर्गको संख्या समेत निकै उच्च रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ