अंकारा। टर्कीका पत्रकारले प्रोफेट मोहम्मदको कार्टुन प्रकाशन गरेकोमा दुई वर्षको जेल सजाय दिइएको समाचार छ ।
इस्तानबुलको अखबारका दुई जना प्रभावशाली पत्रकारलाई सो जेल सजाय दिइएको समाचारमा जनाइएको छ ।
ती दुई पत्रकारले आफैले कार्टुन बनाएको नभई फ्रान्सेली पत्रिका चार्ली एब्दोले बनाएको कार्टुनलाई आफ्नो नियमित स्तम्भमा विस्तार गरी प्रकाशन गरेका थिए ।
इस्तानबुलको एक अदालतले ती दुई पत्रकारलाई दुई वर्षको जेल सजाय बिहीबार सुनाएको समाचारमा जनाइएको छ ।
पत्रकार बुलेन्त उत्कु र सेइदा करनलाई सो जेल सजाय सुनाइएको उनीहरूका वकिल हिक्मद सेतिन्कायाले जानकारी दिनुभयो ।
उहाँले ती पत्रकारहरूले यस निर्णयको अपिल गर्ने योजना पनि बनाएको जानकारी दिनुभयो ।
टर्कीमा वर्तमान राष्ट्रपतिको कार्यकालमा प्रेस स्वतन्त्रताको अवस्थामा ह्रास आइरहेको बताइरहेका बेला फेरि यो घटना भएको छ ।
गतवर्ष नै उक्त कार्टुन बनाएको आरोपमा फ्रान्सको पत्रिका चार्ली एब्दोमाथि नै आईएसले आक्रमण गरी सम्पादकसहित १२ जना पत्रकारको हत्या गरेका थिए ।
उनीहरूले त्यसैबेला नै टर्कीमा पनि सो कार्टुनलाई थप विस्तार गरी प्रकाशन गरेको आरोपमा उजुरी गरिएको थियो ।
सोही मुद्दामा भएको सुनुवाइका क्रममा बिहीबार भने उनीहरूलाई दुई वर्षकै जेल सजाय सुनाइएको हो । रासस-एपी