arrow

हरेक दिन माता तिर्थे औंसी 

logo
सुरेन्द्र सिटौला, 
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
surendra-sitaula.JPG

काठमाडौं शहरको बजारे हल्ला
बिहानै मैले सुनें
बर्षमा आज एक दिन
आमालाई सम्मान गर्ने मिति हो रे !
ज्योतिषीले भनेनुसार
आमाको मुख हेर्ने तिथि हो रे !
बर्षै भरी बिर्सिए पनि
आमालाई सम्झिने
मात्र आज एकछिन हो रे !
किनभने
आमाको मुख हेर्ने
आजै मात्र शुभदिन हो रे !

महिनौं भोकै बसेकी आमालाई
मन हुने छोराछोरीले
मीठो पकवान र फलफूल
पेटभरि खुवाउने
आजै मात्र एक छिन हो रे !
आजको दिन अनौठो दिन
माता तिर्थे औंसी हो रे !

गज्जब छ मानव सभ्यता !
जन्म दिने आमा भेट्न
साइत जुर्नुपर्ने
आमालाई मिठो खुवाउन
तिथि कुर्नुपर्ने
आमाको दुःखसंग
निरपेक्ष सन्तान
आज आमासंग
सापेक्ष हुन खोज्छन्
मातृ ऋण चुकाउन
बर्षमा एक दिन
माता तीर्थे औंसीको
तिथि सोध्छन् 

ज्योतिषीले निकालेको
माता तीर्थे तिथि
विवेकको पात्रोसंग मिल्दैन
माता तीर्थे औंसी कुरेर
आमा भेट्ने सन्तानले
भोकै छाती चुसाउने आमाको मातृत्व
बिचरा उसले चिन्दैन ।

मातृत्वको इतिहासले भन्छ
सन्तानको विवेक सग निरपेक्ष मातृत्व
फलफूल र पकवानको उपहार खोज्दैन
मृत्यु जितेर सन्तान बचाउने मातृत्व
सन्तान बिर्सेर कुबेरी आनन्द रोज्दैन
माता तिर्थे औंसीको आशमा
मातृत्वले तिमी जन्मिदा भोगेको
दुःखको हिसाब किताब कहिल्यै खोज्दैन ।

मानवता सिकाउने पाठशालाका गुरू भन्छन्
सन्तानका संघर्षशील हातहरुले
पबित्र मातृ पाउमा
प्रत्यक दिन नबिर्सी
कर्मको फूल छर्नु पर्छ
सन्तानका आत्मियताको ढालले
मातृत्वको दुःख पीडा
सदा सदाका लागि हर्नुपर्छ ।

प्रत्यक दिन झुल्किने भानुले
सन्तानहरुको मनमा
आमालाई चढाउने श्रद्धाको फूल
सधै संगै लिएर आउनु पर्छ
कृतज्ञताको फुल चढाउँदै
सबै सन्तानले प्रत्येक दिन
माता तिर्थे औंसी मनाउनु पर्छ ।।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ