arrow

आमा मुस्कुराउँदै फोनमा कुरा गर्नुभयो

logo
रश्मी कडरिया, 
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
rashmi-kadariya.jpg

मैले बिहानै भालेको डाँकोसंगै बुढी भएकी मेरो आमालाई फोन गरें। म भेट्न जान नपाए पनि मलाइ आज आमाको मुख हेर्ने दिन हो भन्ने राम्रैसंग याद थियो । आमाले छोरा पाउने आसमा ४ छोरी पाउनु भयो । 

सबैको हेला सहेर पनि आमाले अनेक दुःख सुख गरेर हामी चार छोरीहरुलाई पढाउनु भयो । आमाको पालामा छोरा र छोरीमा निकै विभेद थियो ।

छोरी जन्माएकै कारण आमाले धेरै रुनु पर्यो रे । धेरै दुःख कष्ट सहनु पर्यो रे । तर आज आमाले झेलेको दुःख, बगाएको पसिना, गरेको मेहनेतले पूर्णता पाएको छ । 

आज हामी चार दिदीबहिनी सबै राष्ट्रको सेवक भएका छौं । कोही डाक्टर, कोही नर्स कोही प्रहरी अनि म पत्रकार । ठूली दिदी डाक्टर हुनुहुन्छ । 

अहिले हजारौं विरामीहरु कोरोनाबाट संक्रमित भएका छन् । उहाँ विरामीको आत्मबल बढाएर कोरोना रोग ठिक पार्न अहोरात्र आफ्नो ज्यानको बाजी लागएर खटिरहनु भएको छ । घर परिवार केहि नभनी । 

माइली दिदी पनि नर्स हुनुहुन्छ । उहाँको पनि अवस्था ठूली दिदीको भन्दा कम छैन । संक्रमित व्यक्तिहरुको हेरविचार र सेवामा अनवरत व्यस्त हुनुहुन्छ । भर्खर जन्मेको काखे बालकलाई छोडेर दूध पनि नचुसाइकन आफु क्वारेन्टाइनमा बसेर भए पनि विरामीको स्याहारमा कुनै आँच आउन दिनु भएको छैन । 

उता साहिली दिदी प्रहरी हुनुहुन्छ । न भोक न तिर्खा न रातदिन नभनेर एक पोका चाउचाउको भरमा चर्को घाम र छिन मै पर्ने पानीमा भिजेर जनताको सेवामा खटिरहनु भएको छ । देश र जनताको रक्षाको लागि । 

अनि कान्छी म लकडाउनले सबै घर भित्र बसेका सबै जनतालाई यथार्थ सूचना प्रवाह गर्न आफ्नो कार्य थलोमा गएर सत्यतथ्य समाचार सम्प्रेषणमा निरन्तर जुटेकी छु ।

संसार कोरोनाले आक्रान्त छ । दिनानुदिन कोरोना संक्रमित को संख्या थपिएको छ । एक जनाबाट शुरु भएको संक्रमण यतिबेलासम्म ४५ जनामा पुगिसकेको छ । 

थाहा छैन अझै यो क्रम कहिलेसम्म चल्छ र कसरी अगाडि बढ्छ ? कहाँ कतिबेला को–को सङक्रमित भए र सरकारले के के प्रयास गरेको छ भन्ने जस्ता सूचना निरन्तर र छिन छिनमा प्रवाह गर्नु मेरो प्रमुख कर्तव्य हो । 

आमा ! हिजो हजुरले मेसेन्जरमा हामी सबैलाई फोन गर्नु भएको रहेछ । दिदीहरुले फोन उठाउन नमिलेको कुरा गर्नु भएको थियो र  मातातिर्थे औशीको दिन पनि जान नमिल्ने भनेर दुःख मान्दै हुनुहुन्थ्यो ।

फोन नम्बरसम्म थिच्न नजान्ने मेरी आमालाई पल्लोघरकी भाउजूले फोन लगाईदिनु भएको रहेछ । संयोगबस हामी चारै दिदी बहिनीहरु व्यस्त भएकाले फोन उठाउन समेत सकेनौं । 

जिम्मेवारीका कारण आमाको फोन पनि बेवास्ता गर्दै खटिरह्यौ दिनभर । क्षमाप्रार्थी छौ आमा हामी । आज हजुरले जुन कुरा भन्नु भयो नि आमा हामीमा खुशीको सीमा नै छैन । 

हजुर अनपढ र अशिक्षित भए पनि हजरको जुन महान् विचार र सोच छनि त्यसलाई जो कसैले नकार्न सक्दैन । खुल्ला ह्रृदयले प्रशंसा गर्नैपर्छ ।

आमा ! हामीले मात्रै होइन सम्पूर्ण नेपाली छोरा छोरीहरुले । मेरो फोन तिमीहरुले नउठाएर के भो त बा, म बुझ्छु नि तिमीहरुको बाध्यता । तिमीहरु आ–आफ्नो जिम्मेवारीमा खरो उत्रेका छौ । यतिबेला नेपाल आमाको सेवा नै महत्वपूर्ण र अपरिहार्य छ छोरी । मैले दिएको संस्कार तिमीहरुले भुलेका छैनौ यसमै मलाइ गर्ब छ बा । 

आफ्नो ज्यानको बाजी लगाएर तिमीहरु जिम्मेवारी र कर्तव्य पुरा गर्नमा लागि परेका छौ । आफ्नो कर्तव्य र जिम्मेवारी तिमीहरुले पूरा गर्नु नै मेरो लागि सबै भन्दा ठुलो उपहार र खुशी बनेको छ । 

छोरी कत्ति पीर नगर बा तिमीहरु । आमाको मुख हेर्नको लागि सारी, चोलो, मिठाइ र फलफूल चाहिन्छ भन्ने कदापी होइन नानी । 

मेरो मेहेनत, मेरो परिश्रम र मैले सिकाएको कर्तव्य, जिम्मेवारी र अनुशासनको पाठ कहिल्यै नभुल है छोरी । म एउटी आमालाई खुशी पार्न र मेरो मुहार हँसाउन भन्दा नेपाल आमाको मुहारमा हाँसो ल्याउन सके म यसैमा धेरै खुशी हुन्छु छोरी । 

आज मैले छोरा नपाएकोमा कुनै दुख छैन मलाई, कुनै आपत्ति छैन । मेरा छोरीहरु आज राष्ट्रको धरोहर, सुनौलो गहना भएका छन् देशको सेवक भएका छन् ।

यहि नै मेरो लागि अमुल्य उपहार भएको छ। तिमीहरुसंग जताततै जान पाउने पास छ । तर म तिमीहरु त्यो पासको प्रयोग गरेर मेरो मुख हेर्न आउ म भन्न चाहन्न । किनकी अहिले देशलाई तिमीहरुको खाँचो छ । 

म सरकार जस्तै बहिरो र अन्धो हुन सक्दिन । छोरी फोन उठाउन नसकेकै भरमा सजाँयको भागिदार बनाउने र रिसाउने गर्न सक्दिन म । मेरा छोरी जस्ता डाक्टरहरु जो अहोरात्र खटिएका छन् यस्तो संकटको घडीमा उनीहरुलाई मनोवल बढाउन खाँचो छ यतिबेला । 

तर म सुन्दै छु सरकारबाट मनोबल गिराउने प्रयास भैरहेको छ । अरु त के भनौं र छोरी तिमीहरु देश र जनताको हितकै निम्ति निरन्तर अविचलित लागि रहनु है । मेरो यही शुभकामना र शुभ आर्शिवाद छ तिमीहरुलाई । 

आमा मुस्कुराउँदै फोनमा कुरा गर्नुभयो । मलाई आमाको मुख हेरे भन्दा असिम आनन्द प्राप्त भयो । म खुशीले गदगद भएँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ