कोरोनाको वहानामा सरकार आफै लकडाउनमा, अनिष्टको संकेत

शंकर भण्डारी, प्रकाशित मिति : २०७७ बैशाख ११ बिहिबार

संसारको सोच, रुप र व्यवस्था नै बदल्ने कालो बादलको चपेटामा सिङ्गो मानव जगत नै थिचिएको छ । कोरोना भाइरसबाट प्रत्येक मनुष्य आज अकल्पनिय बज्रपातको शिकार भएको छ । एकपछि अर्को गर्दै विश्वमा अनौठा र दुरगामी प्रभाव पार्ने घटनाहरु सार्वजनिक भएका छन् । मानव विरुद्धको महामारी यो पहिलो त होइन तर आजको यस समृद्ध दुनियाँ, उन्नत चेतना र विज्ञानको चामत्कारिक विकासको युगमा कोरोनाको प्रभाव क्षेत्र, यसले पुर्या‍एको मानविय क्षति र समग्र विश्वले भोगिरहेको अनपेक्षित पीडाले यस्तो दुर्दशा मानव इतिहासमा कहिल्यै आएको थिएन भन्ने अनुमान लगाउन सकिन्छ ।

विद्धानहरुले आँकलन गरेका छन् विश्वमा अब कोरोना अघि र पछिको मानक स्थापित हुनेछ । अझ प्रसिद्ध इतिहासकार उवाल नोह हरारीले यसलाई इतिहास परिवर्तनको दुःखद क्षणको रुपमा अथ्र्याएका छन् र यस अवस्थामा सबैको वुद्धिमत्तापूर्ण सहकार्य मात्र विजयको आधार बन्न सक्ने तर्क गरेका छन् । विपत्ति आउँछन् त्यसको डटेर सामाना गर्नुको विकल्प हुदैन ।

कतिपय पूर्वअनुमानयोग्य विपत्ति हुन्छन् त कतिपय आकस्मिक । अहिलेको संकट आकस्मिक हो यसको व्यवस्थापन स्वभावत जटिल हुन्छ । कोरोनाले आक्रान्त पार्दै गरेको अवस्थामा सरकारले तगारोमा आइपुगेको पूर्वअनुमानयोग्य विपत्तिबाट बच्ने पर्याप्त तयारी नगर्दा नेपाल र नेपालीले असह्य क्षति व्यहोर्नु परेमा त्यो अक्षम्य हुनेछ ।

भनिन्छ संकटको क्षणमा क्षमताको परीक्षण हुने गर्दछ । उत्तर छिमेकमा करिब ५ महिना अघि सुरु भएको अहिलेको संकट नेपालमा प्रत्यक्ष देखिएको करिब ४ महिना भयो । यस अवधिमा आफैमा नेतृत्व बिहीन जस्तो बनेको सरकारले मुलुकलाई कसरी सही दिशा दिन सकोस् । यति लामो अवधिमा सरकारले लकडाउनभन्दा अगाडी बढेर खासै निरोधात्मक काम गर्न सकेन भने प्रतिरोधात्मक पक्ष त झन निराशाजनक हुनुले सबैलाई मर्माहत बनाएको छ ।

सरकारका निकायहरु संवेदनहिन, गैरजिम्मेवार र असक्षम हुँदा भित्रभित्रै संक्रमण फैलिएको आशंका गरिदैंछ । राष्ट्रवाद्को फुस्रो नारा अलापेर भोट बटुलेको वर्तमान सरकार कोरोना विरुद्धको लडाई पनि स्वतस्वफूर्त अन्त्य हुन्छ भन्ने दिवा स्वप्नमा रमाएको देखिन्छ । त्यसैले आफुले मात्र काम गरेको देखाई राजनीतिक अभिष्ट पुरा गर्ने कुत्सित मनसायमा यो सरकार चुर्लुम्म डुबेको छ । हेक्का रहोस, भगवानले साथ दिएर संक्रमण आफै नियन्त्रण भए त राम्रै हुने थियो तर यदि त्यस्तो भएन भने सरकारको अकर्मण्यताले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

औषधी तथा स्वास्थ्य सामग्रीको आपुर्ति गर्न नसक्नु, चिकित्सकलाई पर्याप्त सुरक्षा प्रवन्ध गरी आवश्यक ठाउँमा खटाउन नसक्नु, परीक्षणको दायरा बढाउन नसक्नु, कर्म क्षेत्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, संचारजगत लगायत व्यक्तिको स्वास्थ्य सुरक्षामा हेलचेक्र्याई गर्नु, सिमा नाकामा आएका नागरिकप्रति अपमानजनक व्यवहार गर्नु र तिनलाई देशमा ल्याई सुरक्षित स्थानमा राख्ने व्यवस्था नमिलाउनु, आधारभूत स्वास्थ्य सेवाबाट जनता पूर्णत वञ्चित हुनु,अत्यावश्यक वस्तुको भण्डारण तथा आपुर्तिमा सजगता नअपनाउँदा कालोबजारी मौलाउनु, गरिब तथा असहायको लागि आवश्यक पर्ने राहतको व्यवस्थित प्रबन्ध गर्न नसक्नु, खाली पेट÷खुट्टा कैयन दिनको यात्रा पार गरेर आफ्नो थातथलो फर्किन पर्ने अवस्था हुँदा समेत तिनको उद्धार तथा खाने बस्ने प्रबन्ध मिलाउन अनुदार हुनु, सबै तहका सरकार फरकफरक दिशामा फर्कनु आदि परिदृष्यले राज्य विहीनता र व्यवस्थापकिय कन्तबिजोक प्रष्ट देखिन्छ ।

नेपालमा देखिदै गएका संक्रमण, दक्षिण छिमेकको फैलदो डढेलो, उत्तरतर्फ फर्किफर्की आएको संकट तथा विश्वका उत्कृष्ट प्रबन्ध गर्न सक्ने मुलुकले भोग्नुपरेको यस क्षतिले खतराको घन्टी कानै फुट्ने गरी बजाई सकेको छ । यो अनिष्ठ लामो समय रहने र परिणाम पिडादायी हुने आकलन गर्न सकिन्छ । सत्ताको वागडोर संहालेको दुईतिहाईको सरकारसँग आजको अहं सवाल यो होकि के सरकारले यो संकटलाई  गम्भिरताका साथ लिएको छ ? के सरकारका प्रयत्न जनताको जीवन रक्षाका लागि पर्याप्त छन् ? के संकटले उब्जाउने तमाम क्षतिहरुको आंकलन भएको छ ? के जनजीवन सामान्य बनाउन वुद्धिमत्तापूर्ण प्रयत्न भएको छ ? के उत्पन्न हुनसक्ने आर्थिक विश्रृङ्खलता रोक्न सरकार तयारी अवस्थामा छ ? के सरकारका सबै संरचना चलायमान छन् ? यावत प्रश्नको जवाफ नकारात्मक मात्रै आउनु दुर्भाग्यपूर्ण हो ।

चेतना होस यो राष्ट्रिय संकट हो, कुनै पाटी वा सरकारको मात्र सवाल होइन । तर सरकारको अहिलेको रवैया देख्दा जो कोही सचेत व्यक्ति स्तब्ध हुन पुग्दछ । कतै सरकारमा बस्नेहरुको सत्ता उन्मादले यो संकटको घनत्व नवुझी यसलाई राजनैतिक दाउपेच र आर्थिक दोहन गर्ने उपकरण त बनाएका छैनन भन्ने शंका उब्जाएको छ ।

कोरोनाको अतिरिक्त सदा झै नेपाल अब विस्तारै प्राकृतिक प्रकोपमा फस्दै जानेछ । आगलागीले घर बस्ती खान थालेका, हावाहुरी चट्याङ्गले जनजीवन त्रसित बन्न थालेका छन्, वनमा डढेलो बिस्तारै बढदै गएको छ । केहि दिनमा मुलुकमा वर्षा आरम्भ हुदैछ यसले बाढी, डुबान र पहिरोको पिडा देशका सबै भागमा र विशेषत तराईमा गम्भिर हुने अनुमान लगाउन कठिन छैन । गर्मी तथा वर्षा बढदै जाँदा लामखुट्टेको प्रकोप, सर्पदंशका घटना र विभिन्न रोग तथा संकटको सामना गर्नुपर्ने दिनहरु नजिकिदै छन् ।

रोजगारी पूर्णत गुमेको छ, संचित सामग्री सकिंदैछ, विश्व आपूर्ति संजाल भत्किएको छ, कृषि कर्म रोकिन पुग्यो, केही मात्रामा रहेका उद्योगधन्दा बन्द छन्, कच्चा पदार्थ अभाव छ, यस्तो अवस्थामा सरकारले आगामी दिनको लागि के योजना बनाएको छ । प्रत्येक वर्ष आउने आगलागी, डढेलो, बाढी, पहिरो, रोगव्याधिसंग जुध्नको लागि सरकारले कुनै तयारी गरेकै छैन ।

निष्प्रभावी विपद् प्रतिकार्य राष्ट्रिय प्रणाली तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष आदि सालबसाली आउने संकटमा नागरिकको जीउधनको रक्षाका लागि उपयोगी हुन सकेका छैनन् । सरकारसंग यस्ता नियमित र अनुमान गर्न सकिने प्राकृतिक प्रकोप तथा व्यवधानलाई परास्त गर्न, क्षति न्यून गर्न तथा त्यसको सम्बोधन गर्न कुनै तयारी नहुनुले सरकारको कमजोरी एवम् हेलचेक्रयाईको पराकाष्टको अनुमान गर्न सकिन्छ । युद्धस्तरमा काम गर्नुपर्ने यस घडिमा कोरानाको वहनामा सरकार आफै लकडाउनमा बस्नु र मन्द गतिमा चल्नुले मुलुकमा अनिष्टको संकेत गरेको छ ।

अर्थतन्त्र प्रतिकूल हुँदा के हुन्छ भन्ने उदाहरण खोज्न बाहिर जानु पर्दैन, यसको पूर्व आभाष भै सकेको छ । बेरोजगारी, गरिबी, जोखिमपूर्ण बसाई, न्यूनतम स्वास्थ्य तथा सरसफाईको सुविधा अभाव आदिले अधिकांश जनता त्यसै पनि पीडामा थिए त्यसमा अहिलेको अवस्थाले नुनचुक छर्केको छ । यसरी एकातिर फैलदो कोरोना र त्यसले निम्त्याएको संकट तथा अर्कोतर्फ गर्मी र वर्षाका साथमा आउने दुखका दिनलाई नेपालीले सामना गर्न निकै कठिन हुनेछ ।

संकट थपिदै जाँदा कमजोर पूर्वाधारयुक्त क्यारेन्टाइन र आइसोलेसन सेन्टर नै नागरिकको बधशाला बन्ने जोखिम पनि रहन्छ । त्यसतर्फ सरकारको समयमै चेत पुगोस् भन्न चाहन्छु । द्रुततर रुपमा काम गर्नुपर्ने यस संगिन परिस्थितिमा सरकार आफै लर्वराएको छ, सरकारको राजनीतिक दाउपेच, भ्रष्ट आचरण, गैरजिम्मेवारीपन देख्दा मुलुक अभिभावक विहीन जस्तो भएको छ ।

यस चूनौतीको सामना गर्न सरकारले संवेदनशिल भइ तत्काल विशेष कदम चाल्नु आवश्यक छ । एक निमेष पनि खेर नफाली सबैलाई विश्वासमा लिएर एकिकृत रणनीति तयार पारि विपत्तिको शिघ्र अन्त्यका लागि नेतृत्व लिन कुनै कसर बाँकी राख्नु हुदैन । सरकार मातहतका कुटनैतिक निकाय र ट्रयाक टु कुटनीति समेतलाई सक्रिय पारी विदेशमा रहेका लाखौं नेपालीको जीवन रक्षामा पनि पर्याप्त ध्यान दिनु उत्तिकै आवश्यक छ । तिनको संरक्षणका सवालमा सरकारले देश विप्रेषणबाट चलेको तितो यथार्थता विर्सनु हुदैन ।

दीर्घकालमा भोकमरी, अराजकता, विकृति लगायत अन्य गम्भिर समस्या सिर्जना नहोस भन्नका लागि अत्यावश्यक वस्तुको आपूर्ति, विपन्नलाई सहयोग तथा स्वास्थ्य सुविधा र अन्य आधारभूत सेवाहरु पूर्णत संचालनको सुनिश्चितता गर्नु पर्दछ । विस्तारै आर्थिक गतिविधि सुचारु हुन सकेन भने कोरोनाबाट हुने क्षतिभन्दा अर्को ठूलो क्षति राज्यले व्यहोर्नुपर्ने हुन सक्छ ।

अर्थतन्त्र त्यसै पनि कमजोर थियो अबत सरकारले ढाकछोप नै गर्न नसक्ने गरि मुलुक चरम आर्थिक संकटतर्फ धकेलिएको छ । विश्वका विभिन्न मुलुकले नागरिकको स्वास्थ्य रक्षा र अर्थतन्त्र जोगाउनका लागि भगिरथ प्रयत्न गरेका छन् । अर्थतन्त्रलाई पुर्नजीवन दिन नोवल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिजले सान्दर्भिक सुझाव अघि सारेका छन् । उनले सन् १९३० को महामन्दीपछिको समयमा जस्तै सरकारको तर्फबाट व्यापक लगानी तथा पूँजि परिचालन गर्नु आवश्यक छ, साना उद्यम र स्वरोजगारहरुको व्यवसायलाई बचाई राख्न विशेष सहुलियत दिनुपर्दछ, नयाँ स्रोत परिचालनका लागि फरक तर दह्रो कदम चाल्न सरकार डराउनु हुदैन तर हरेक निर्णयमा सकेसम्म निजी क्षेत्रलाई विश्वासमा लिनु पर्दछ भनेका छन् । यसलाई नेपाल सरकारले पनि आत्मसात गर्नु सान्दर्भिक हुनेछ ।

विप्रेषणले गरिबी निकै तल झरेकोमा त्यो अवस्था अब छिट्टै भत्कने छ र पुन गरिबीको दुश्चक्रमा हामी फस्नेछौ । यस संकटले कुन क्षेत्रमा के कस्तो क्षति गर्छ त्यसको वैज्ञानिक आंकलन गरी पुर्नउत्थानका लागि महत्वकांक्षी र प्रभावकारी प्याकेज सार्वजनिक गर्न ढिला गर्नु हुदैन । जायज मुद्धामा समेत सडक र सदनको दबाव पनि मुश्किलले सुन्ने यो सरकार अहिले त्यो दबावबाट उन्मुक्त भै स्वच्छन्द एवं दिशाहिन हुनु दुर्भाग्यपूर्ण हो । सरकारको चरम गैरजिम्मेवारीले जतिसुकै अनिष्ट आएपनि मतादेश प्राप्त यस सरकारलाई निन्द्राबाट जतिसक्दो छिटो व्यूताउन खबरदारी गर्नुको विकल्प तत्काल हामीसंग छैन ।

नागरिकको जीवन रक्षा राज्यको सर्वोपरि धर्म हो । अहिलेको महामारीका विरुद्ध सरकारले चालेका कदमहरु अत्यन्त अपर्याप्त छन् । साथै गर्मी र वर्षासंगै भित्रिने विविध प्राकृतिक संकट, जीविकाको समस्या र अन्य व्यावधानले नेपाली समाज घरघोर संकटको भूमरीमा पर्न सक्छ । यस अभिशापबाट पार पाउन निरोधात्मक, प्रतिरोधात्मक तथा पुर्नरुत्थानका योजनालाई तीव्र रुपमा कार्यान्वयन गर्नुपर्दछ ।

सरकारले उच्च ईच्छाशक्तिका साथ उपलब्ध सबै संयन्त्रलाई परिचालन गरि न्यूनतम क्षतिमा विजय प्राप्त गर्नु अपेक्षित छ । मृग मार्न बाघको खजाना भन्ने उक्तिलाई मनन गर्दै सम्भावित राष्ट्रिय संकटसंग जुध्न आपसी मतभेद त्यागेर मैदानमा ओर्लन किंचित विलम्ब गर्नु हुदैन। सरकारलाई चेतना होस् इतिहास निर्मम हुन्छ । नागरिकको जीवन रक्षाका लागि न्यूनतम प्रयत्न नगर्ने गैरजिम्मेवार प्रवृत्ति कायमै रहेमा जनताका दुखले निम्त्याउने आँधीबेहरीले अहिलेका नायकहरुलाई इतिहासले खलनायक बनाउने छ ।(लेखक भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्।)

नयाँ