arrow

कोरोनाको महामारीमा ईन्जिनियरिङ्ग समुदायको चुनौति र दायित्व

logo
कुमार आचार्य,
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
kumar-acharya.gif

ईन्जिनियरहरु कुनै पनि मुलुकको बिकास निमार्णका अभियन्ता मात्र होईनन्, समृद्धिका संवाहक पनि हुन । बिज्ञान र प्रबिधिको यस युगमा विश्व समुदायका सपनाहरुलाई वास्तविकतामा ढाल्ने सामर्थ्य राख्ने ईन्जिनियरहरु र सम्पूर्ण ईन्जिनियरीङ समुदायप्रति विश्व नै आशातित त छ नै, संगै विद्यमान चुनौतीहरुले थप जिम्मेवारी थपेको छ। दिगो बिकास संगसंगै जलवायू परिवर्तनको चुनौती चिर्ने बिकासका नविनतम मोडलहरुमा तल्लिन रहदै आएको विश्व ईन्जिनियरीङ समुदाय अहिले कोरोनाले आक्रान्त विश्व समुदाय माझ नविनतम प्रविधिका मेडिकल उपकरणहरु र दैनिक जीवनदेखि अर्थतन्त्र चलायमान राख्ने बिभिन्न डिजिटल सोलुशन्सहरुका साथ आफ्नो जिम्मेवारी निभाइरहेको छ । बिकास बिज्ञान र प्रबिधिको क्षेत्रमा पछाडी रहेको हाम्रो जस्तो बिकासन्मुख मुलुकमा ईन्जिनियरहरु र ईन्जिनियरिङ्ग समुदायप्रति जन अपेक्षा अन्य मुलुकको तुलनामा उच्च रहनु स्वाभाविक हो । 

ईन्जिनियरहरुका हक हितको संरक्षण र बिकास, समय सापेक्ष ईन्जिनियरिङ्ग शिक्षा, नव प्रविधिको बिकास तथा प्रवर्धन गर्दै सम्पुर्ण ईन्जिनियरहरुको अभिभावकत्व रहने गरी, सामाजिक सेवा ऐनको व्यवस्था अनुरुप स्वतन्त्र गैर नाफामुलक संस्थाको रुपमा बि.सं. २०१९ सालमा स्थापना भएको नेपाल ईन्जिनियर्स एसोसिएसनले, ३२ औ कार्यकारिणि समितिसम्म आउदै गर्दा निकै आरोह र अवरोहहरु पार गरीसकेको छ । ईन्जिनियरिङ्ग क्षेत्रको बिकृति, बिसंगतिहरुको निर्मुलिकरण, मुलुकमा आवश्यक प्राविधिक कार्यमा सहयोग पुर्याउने तथा विपद र आपतकालिन समयमा समाजलाई सहयोग गर्नु एसोसिएसनको प्रमुख दायित्व हुन् । करीब २९ हजार नेपाली ईन्जिनियरहरुको प्रतिनिधित्व गर्ने यस संस्थाले २०७२ सालको विनाश्कारी महाभुकम्पमा गरेका असंख्य कार्यहरुले जनमानसमा यस संस्था प्रतिको विश्वासलाई मजबुत गर्दै आफ्नो गरिमालाई थप उचाइमा लान सफल भयो । सबै ७५३ वटा स्थानिय निकायमा आइटी अफिसरहरु राख्ने व्यवस्था र उक्त पदमा इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरहरुले समेत कार्य गर्न मिल्ने व्यवस्थाको लागी समन्वयकारी भूमिका, पुनर्निर्माण प्राधिकरणमा कार्यरत ईन्जिनियरहरु आन्दोलित अवस्थामा सरकारसंग समन्वय गरी कार्य सम्पादन र भौगोलिक विकटताका आधारमा ७५ प्रतिशत सम्म भत्ताको व्यवस्था गर्नु र सम्पूर्ण सदस्यहरुको १० लाख बराबरको दुर्घटना बिमा गर्नु पछिल्लो समयमा एसोसिएसनले गरेका उत्कृष्ट कार्यहरु मध्यका केही दृष्टान्त हुन् । यसरी ५७ वर्ष देखि स्थापित गरिमालाई संरक्षण गरी एसोसिएसनलाई अझ सशक्त रुपमा अगाडी बढाउनु ने.इ.ए को प्रमुख दायित्व हो । 

नेपाल ईन्जिनियर्स एसोसिएसन एउटा स्वतन्त्र पेशागत र बौद्विक छाता संगठन भएता पनि राजनैतिक ध्रुविकरणले व्याप्त नेपाली समाजको वर्तमान परिस्थितिमा एसोसिएसन समेत अछुतो छैन । बेला बखतमा देशको राजनीति र नेतृत्वप्रति व्यक्तिगत र समूहगत लगावका कारण सांगठनिक र वौदिक उपस्थिति फितलो हुंदा एसोसिएसनप्रति आम ईन्जिनियरहरुको विश्वास घट्दै जानु अहिलेको प्रमुख चुनौति मध्यको एक हो । पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राबिधिक ईन्जिनियरहरुद्वारा गठित पुनर्निर्माण प्राधिकरण राष्ट्रिय हकहित संरक्षण समितिले अघिल्लो वर्षको चैत्रमा घोषणा गरेको आन्दोलनका क्रममा मध्यस्तकर्ताको भूमिकामा रहेको ने.इ.एद्वारा एक हप्ता भित्र मागहरु पुरा गर्ने आफ्नै सहमति, एक महिनासम्म उपलब्धि विहिन भएर नेइएको कार्यालयमा तालाबन्दीको अबस्थासम्म पुग्नु स्थापनाकाल यताकै ठुलो कमजोरी बन्न पुग्यो । 

कोरोनाका कारणले उत्पन्न बिषम परीस्थितिमा ने.इ.ए को सकृयता र सजगपूर्ण पहलकदमीका लागी ईन्जिनियरीङ समुदाय र जनमानसको अपेक्षा रहेको संवेदनशील समयमा एसोसिएसन प्रभावहीन बन्नु दुःखद छ । साथै यस विपदको समयमा सिरान टेक्नोलोजीज प्रा. लि. ले काठमाण्डौ प्रेसको साईटमा अनाधिकृत पहुचँ मार्फत समाचार हटाईएको र केहि समयका लागि काठमाण्डौ प्रेसले कुनै समाचार सम्प्रेषण गर्न नमिल्ने गरी एडमिन एकाउण्टको सर्वाधिकार अपहरण गरेको घटना तथा पछिल्ला समयमा भइरहेको साइबर अटैकका घटनामा मौन रहदा एसोसिएसनको स्वतन्त्र संस्थाको छविमाथि गम्भीर प्रश्न खडा भएको छ । कोरोना रोकथामका निमित्त गरिएको लकडाउनका बिच नेपाल प्रहरी अन्तर्गत प्राबिधिक तर्फको डिआईजि दरबन्धि खारेजीको गृह मन्त्रालयको निर्णय, सेनाद्वारा कानुनि रित नपुर्‍याई द्रूत मार्गको परामर्शदाता छनोट, तथा अर्थ मन्त्रालयले परामर्श सेवा शिर्षकको बजेट रोक्का गर्न गरेको परिपत्र जस्ता ईन्जिनियरीगं पेशासंग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा ने.इ.ए नेतृत्वको मौनता, वर्षौदेखि स्थापित एसोसिएसनको विधि, मूल्य र मान्यता माथिको लकडाउन हो। त्यस्तै यस बिषम परिस्थितिमा प्रकाशित बिभिन्न बोलपत्र सुचना बारे ने.ई.ए. नेतृत्वको धारणा आउन नसक्नु र कुनै एक जनबर्गीय संगठनले स्वास्थ्य मन्त्रालयलाई एप बनाउन सहयोग गरिसक्दा समेत कुनै पनि प्राविधिक नेतृत्व लिन नसक्ने संस्थाका नेतृत्वको असक्षमता कारणले प्रतिष्ठित यस संस्था नै क्वारिन्टिनमा पुगेको महशुस भएको छ । 

एकातर्फ कोरोनाको विपदमा एक जिम्मेवार संस्था शुन्य उपस्थिति त अर्कोतर्फ आम ईन्जिनियरहरु माझ गुम्दै गएको ने.ई.ए. प्रतिको विश्वासलाई पुनःस्थापित गर्न विलम्ब गरे नेपाल ईन्जिनियर्स एसोसिएसनको औचित्य माथि नै प्रश्न नउठ्ला भन्न सकिदैन । कोरानाको विश्वव्यापी महामारीमा विभिन्न देशका ईन्जिनियरीङ समुदायहरु आ–आफ्नो तर्फबाट योगदान गर्न अहोरात्र समर्पित रहिरहदा वर्तमान कार्यसमितिले ढिलै भए पनि निम्न लिखित सुझावहरुको कार्यन्वयन गर्ने उत्तरदायित्व निर्वाह गरि नेपाल ईन्जिनियर्स एसोसिएसनले आम ईन्जिनियरको विश्वासलाई जिवित राख्न सक्नु पर्दछ । 

१ कोरोनाको रोकथाममा आवश्यक र अन्य मुलुकमा अपनाईएका प्राविधिक बिषयबस्तु जस्तै स्वाब संकलन बुथ, सेनिटाईजर गेटलगायत सरकारसंग समन्वय गरी वा आफ्नै लगानिमा नमुना बनाउने र सो को प्राबिधिक गाईडलाइन प्रकाशन गर्न तथा अन्य आबश्यक ठाँउमा प्राविधिक परीचालन गर्ने ।

२ आपतकालमा स्थानिय सामाग्रीबाट कसरि छोटो समयमा कोरोना अस्थायी अस्पताल, आइसोलेसन कक्ष तथा क्वारिन्टिन स्थल बनाउने भन्ने बारे निर्माण विधी सहितको श्रव्य दृष्य सामाग्री, प्रकृयागत जानकारी तथा प्राविधिक स्ट्यान्डर्ड गाइडलाइन निर्माण गर्ने ।

३ ने.ई.ए. मा सम्बद्ध तथा आम ईन्जिनियरहरु कोहि बिदेशबाट पछिल्लो समय आउनु भएको भए सो को विवरण संकलन गरी सरकारलाई सहयोग पु¥याउने ।

४ सरोकारवाला निकाय संगको समन्वयमा एउटा सरल मोबाईल एपको निर्माण गरी सो एपबाट संक्रमित देशबाट आएकाहरु, संक्रमितको सम्पर्कमा आएकाहरुका कन्टयाक्ट चेनका आधारमा ट्रेसिङ्ग, ट्रयाकिङ्ग र मनिटरिगं गर्ने व्यवस्था बनाउने ।

५ लकडाउनकै समयावधीमा वा लगतै सामाजिक दुरी कायम गरी बिकास निमार्णका काम कसरी गर्न सकिन्छ भनेर बिज्ञहरु संग छलफल र अध्ययन चलाउने ।

६ ने.ई.ए.ले शुक्रबार अतिथि बोलाएर गर्ने अन्र्तकृया कार्यक्रमलाई डिजिटल भर्जनस्वरुप हरेक हप्ता नविन बिषयहरुमा वेविनारहरु संचालन गर्ने ।

७ घरमा बस्ने प्राविधिकहरुको लागी डिजिटल प्लाटफर्म मार्फत तालिमहरु (सफ्टवयर लगायतको) संचालन गर्ने ।

८ विभिन्न मेडिकल उपकरणहरुको स्वदेशमा उत्पादन गर्न आवश्यक रिसर्चहरु गर्ने÷गराउने ।

९ लकडाउनले इन्जिनियरीङ्ग पेशा र समस्त ईन्जिनियरहरुमा आउन सक्ने आर्थिक संकट जस्तै रोजगारी गुम्न सक्ने समस्या, प्राविधिक काममा ह्रास आई व्यवसायमा पर्न सक्ने घाटा लगायतका विषयलाई सरकार समक्ष गम्भिर रुपमा प्रस्तुत गर्ने तथा भविष्यमा बन्ने आर्थिक निति र आर्थिक राहत प्याकेजहरु मार्फत प्राविधिक हरुको माग सम्बोधन हुने गरी समावेश गराउने । 

१० लकडाउनमा आम ईन्जिनियरहरुमा आउन सक्ने समस्याहरुको सहजिकरण र समाधानका निमित्त ने.ई.ए को सम्पर्क नम्वरलाई सामान्य अवस्था नहुदा सम्मका लागी हटलाइन सेवाका रुपमा सञ्चालनमा ल्याउने । 

कोरानाको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्र र बिकास निर्माणका कार्यहरुमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषणहरु भइरहदा तत्कालिन योजनाहरुसंगै दिर्घकालिन योजनाहरु अघि बढाउन ने.ई.ए. नेतृत्व तदारुकताका साथ लाग्नुपर्ने देखिन्छ । ईन्जिनियरिङ्ग पेशालाई मर्यादित गर्न दक्ष र सक्षम जनशक्ति उत्पादनको लागी ईन्जिनियरिङ्ग शिक्षाको गुणस्तरीयता अभिवृद्घि, आधारभुत मापदण्डहरुको सुनिश्चता, सर्व सुलभ र व्यवहारिक ईन्जिनियरिङ्ग शिक्षाको व्यवस्थाका लागी सरोकारवालाहरुसंग निरन्तर समन्वय गर्नु ने.ई.ए. को महत्वपुर्ण जिम्मेवारी हु। हाल ईन्जिनियरिङ्ग संस्थान अन्र्तगतका नीजि कलेज र अन्य बिश्वबिद्यालय मातहतका कलेजहरुमा बिद्यार्थीलाई प्रदान गरिने छात्राबृतीको हकमा पहिलो सेमेस्टर सकिदासम्म पनि कस्ले पाउने भन्ने अनिश्चित्ताका कारणले भर्ना शुल्क बुझाउन नसक्ने जेहेन्दार बिद्यार्थीले पढाईबाट बञ्चीत हुनुपरेको अबस्थामा, सम्पुर्ण बिश्वबिद्यालयसँग समन्वय गरी भर्ना अगाबै छात्रबृतिको जानकारी बिद्यार्थीले पाउनुपर्ने ब्यबस्था मिलाउन ने.ई.ए.ले पहलकदमी लिनु आवश्यक छ। यस्तै बिकासका आयोजना छनोटदेखि कार्यन्वयनका बिभिन्न चरणहरुमा प्राबिधिक पक्षहरुलाई निराधार बनाई,  क्षणिक राजनैतिक लाभ र सस्तो लोकप्रियताका लागी गरिने कामहरुको गुणस्तरीयताले बढ्दै गएको जनगुनासोका कारण सम्पूर्ण ईन्जिनियरीङ समुदायप्रति नकारात्मकता ल्याएको वर्तमान परिस्थितिमा केन्ददेखि स्थानीय सरकारसंग व्यापक छलफल गरी प्राविधिक पक्षमा शुन्य शहनशिलताको अवधारणा अविलम्ब अख्तियार गर्नु पर्दछ। 

ईन्जिनियरिङ्ग शिक्षामा रहेको व्यापारिकरण, बेला बखतमा ईन्जिनियरहरुलाई हुने भौतिक हमला र अनैतिक आक्रमण, स्वार्थमा लिप्त भई गरिने प्राविधिक कार्य सम्पादन लगायतले संक्रमित यस ईन्जिनियरिङ क्षेत्रलाई बेलैमा उपचार गर्न अग्रसरता लिन जरुरी देखिन् । ईन्जिनियरिङ्ग स्टाफ कलेजको बिषयलाई टुङ्गयाई थप अबसरको सृजना, सुबिधा अभिबृद्धी, हक र अधिकारको संरक्षण, कार्यसम्पादनमा नकारात्मक असर नपर्ने गरी न्युनतम पारिश्रमिकको ब्यबस्था, दक्ष जनशक्तिको बैदेशिक बर्हिगमनमा नियन्त्रण तथा यथेस्ठ रोजगारीको सृजनाले मात्र नेपालको ईन्जिनियरिङ्ग समुदायलाई सबल बनाउन सक्दछ । कोरोनाको विश्वव्यापी महामारी पश्चातको व युगमा एकिकृत ढंगले ईन्जिनियरिङ्ग क्षेत्रलाई सबल, सक्षम र स्वाभिमानि रुपमा स्थापित गर्दै बिकासका नविनतम आयामहरुमा सरकारको मेरुदण्ड बनि अर्थतन्त्रलाई गतिशिल बनाउन मद्दत गर्न दृढ कार्यशक्ति भएको कार्यकारणी समिति नै यस संस्थाको आजको आवश्यकता हो ।
 (आचार्य सिभिल ईन्जिनियर हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ